भ्रष्टाचारीहरूलाई जेल हाल्न एकजुट होऔँ, अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ: धवलशम्शेर राणा

राम्रो अनलाइन     ०८ असोज २०८१, मङ्गलबार
भ्रष्टाचारीहरूलाई जेल हाल्न एकजुट होऔँ, अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ: धवलशम्शेर राणा

 

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका छन्।

आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका हुन्।

‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ’, उनले भने।

साथै राणाले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको बताए। एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गरे।

उनले समान विचारधारा भएकाहरूलाई समेट्ने प्रयास गर्दा पनि असफल भएको बताए। उनले मंसिरबाट आफूहरू आन्दोलनको सुरुआत गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे।

उनले भने, ‘यो आन्दोलन एक दिनको हुँदैन। सबै व्यवस्था गर्छौँ, सातदेखि दश दिनसम्म काठमाडौँ उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छ।’

प्रतिक्रिया