बागमती–नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मकवानपुरको तत्कालीन हर्नामाडी गाविस–४ दियावतीमा २०२७ साल भदौमा जन्मिएका बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन् । यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तामाङ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति हुन्। विसं २०४४ मा राजनीतिमा प्रवेश गरेका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका थिए।
विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति भएका थिए । विसं २०५८ मा कांग्रेस मकवानपुरका जिल्ला कार्यसमिति सदस्य भएका बानियाँ २०७३ साल चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए।
विसं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका थिए । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भई काम गरिसकेका छन्।
विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिएका थिए। विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उनी संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए।
यही साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो । रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित भए। लामाले १४ मत मात्र प्राप्त गरेका थिए भने एक मत बदर भएको थियो ।
बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन्। राजनीतिसँगै सफल निर्माण व्यवसायीका रूपमा परिचित बानियाँ राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा एक विश्वासिलो व्यक्तिका रूपमा चिनिन्छन्।