आजको होली : रौनक कम, सुरक्षा व्यवस्था कडा 

राम्रो अनलाइन     १५ चैत २०७७, आइतबार
आजको होली : रौनक कम, सुरक्षा व्यवस्था कडा 

काठमाडौँ । विगतका वर्षहहरूमा जस्तो यो वर्ष होलीमा रौनक कम देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिमले रौनक कम देखिएको हो । यसपाली कतै पनि ठूला कार्यक्रम गरेर होली मनाएको देखिएको छैन । विभिन्न सङ्घ संस्थाका कर्मचारी एकापसमा रङ दलेर होली मनाइरहेका छन् भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलिरहेका छन् । 

काठमाडौँका उपत्यकामा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएका भए पनि ठुलो जमघट हुने गरी होली नखोल्न आग्रह गरेको छ ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले  यसपाली कोभिड–१९ जोखिमका कारण मुलुकभर नै रौनक कम देखिएको र शान्ति सुरक्षामा खलल हुने कुनै गतिविधि नभएको जानकारी प्राप्त भएको बताए । “केही साना समूह देखिएका छन्, ठूलो भिडभाड हुन नदिन प्रहरीले निरुत्साहित गरिरहेको छ”, कुँवरले भने, “विगतका वर्षमा भन्दा निक्कै कम देखिएको छ ।”

विभिन्न क्षेत्रका नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर होली मनाइरहेका छन् । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृष्य र तस्वीरमार्फत सार्वजनिक गरिरहेका छन् ।

यद्यपि काठमाडौँको सुन्धारा, रत्नपार्क, न्युरोड, वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ ।  

सरकारले घर–घरमै बसेर स्वास्थ्यमापदण्ड अपनाइ होली खेल्न यसअघि नै अनुरोध गरिसकेको छ । लापरबाही गरे वा स्वास्थ्य मापदण्डको पालना नगरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनीबीच युवाले सडकमा निस्किएर होली मनाएका छन् । 

मुलुकको पहाडी जिल्लामा होली मनाइँदै छ । सोमबार तराईका जिल्लामा होली मनाइन्छ । चितवनलगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आउने होली आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदानप्रदान गर्दै मनाइन्छ ।

यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई आजको दिन विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिन्छ । त्यसैले खुशीमा आपसी रङ दलेर होली मनाइने गरिन्छ । 

अर्को परम्पराअनुसार द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ ।

होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरबाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी काठमाडौँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ । 

ठाउँठाउँमा प्रहरी परिचालन गरेरर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।  “आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ, यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ”, भट्टराईले भने, “सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ, कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।” 

महाशाखाको ट्राफिक परिचालन कक्षबाट अपरान्ह १ः०० बजेसम्मको विवरण अनुसार ३१२ दुई पाङ्ग्रे र १७ चारपाङग्रे सवारी साधनलाई सडकमै होल्ड गरेर राखिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने कूल १५२ सवारीका चालकलाई कारवाही गरिएको छ ।

मुख्यगरी मापसे गरेर सवारी चलाउने, कागजात नबोकी, सवारी चलाउने, दुर्घटना गराउनेसक्ने गरी सवारी चलाएका युवा, होलीको बहानामा लापरवाही गर्ने जस्ता सवारीसाधन कारवाहीमा परेका छन् । महाशाखाका प्रमुख भट्टराईका अनुसार आज उपत्यकाका ७६ ठाउँमा ९०० ट्राफिक प्रहरी परिचालन गरी सवारी जाँच भइरहेको छ । 
 

प्रतिक्रिया