सौन्दर्यमा लेजर उपयोग 

डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ     ३० साउन २०८०, मङ्गलबार
सौन्दर्यमा लेजर उपयोग 

लेजर गरेपछि एकदमै सुन्दर भइन्छ भन्ने धारणा गलत हो । मानिसले जन्मिँदै ल्याएको अनुहारको स्वरूप बदलिने होइन । दाग, कोठी पनि पूर्ण रूपमा हटाउन असम्भव हुन्छ । 


लेजर भनेको किरणको माध्यमले उपचार गरिने पद्धति हो । विशेष खालको मेसिनबाट इलेक्ट्रोम्याग्नेटिक रेडिएसनद्वारा यो पद्धतिमा उपचार गरिन्छ । विशेष खालको कृत्रिम प्रकाश, जसलाई मेसिनको सहायताबाट एकत्रित गर्दा खास प्रकारको शक्ति निस्कन्छ, त्यही शक्तिको माध्यमबाट यो विधिमा उपचार हुन्छ । लेजरको प्रयोग कुनै अंगलाई काट्न, प्वाल पार्न, फोर्न, क्षति गर्न र उत्तेजित गर्न प्रयोग गरिन्छ । सबैभन्दा पहिला आँखाको अपरेसनमा प्रयोग भएको यो विधि अहिले मानव शरीरका विभिन्न भागका उपचारमा प्रयोग गरिन्छ । सन् १९६० पछि छालाका विभिन्न समस्यामा लेजर प्रयोग हुन थालेको हो । छालाको उपचारमा प्रयोग हुन थालेपछि लेजरलाई कस्मेटिक प्रयोजनसँग पनि जोड्न थालियो । 

लेजर दुई प्रकारका हुन्छन्, एब्लेटिभ र ननएब्लेटिभ । एब्लेटिभ लेजरले छालाको माथिल्लो तहमा घाउ बनाउँछ । ननएब्लेटिभले छालाको माथिल्लो भागमा घाउ नबनाई छालामा असर देखाउँछ । लेजरले अनुहारमा भएका कोठी, ट्याटू, मुसा, जन्मजात रहेका नीलो रङका कोठी निकाल्न र अनावश्यक रौँ हटाउन सकिन्छ । एब्लेटिभ लेजर गर्नुपर्दा लेजर गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएपछि कोठी तथा दागको प्रकार हेरेर कुन खालको लेजर प्रयोग गर्नुपर्ने हो, त्यो निक्र्यौल गरिन्छ । लेजरमा किरणको माध्यमबाट ‘अनवान्टेड टिस्यू’ लाई हटाउने गरिन्छ । यो पद्धतिमा ब्लेडले चिरेजस्तो नभए पनि दाग तथा धब्बा भएको ठाउँमा एक किसिमको सर्जरी नै भएको हुन्छ ।

सीओटू, एर्बियम याग, एनडी याग आदिमध्ये कस्तो समस्यामा कस्तो खालको लेजर प्रयोग गर्ने भन्ने कुरा विशेषज्ञ चिकित्सकले मात्र निक्र्यौल गर्न सक्छन् । अहिले आईपीएल (इन्टेन्स पल्स्ड लाइट), जुन एक प्रकारको उपकरण हो, यसलाई लेजर हो भन्दै प्रचार गर्ने गरिएको छ । छालासम्बन्धी विभिन्न रोगमा लेजरले जादु गरेजस्तै क्षणभरमा चट पारिदिने जस्ता भ्रामक प्रचारका कारण धेरैले आफ्नो छालाको भइरहेको सौन्दर्य पनि गुमाइरहेका छन् । आईपीएल एउटै मेसिनमा रौँ हटाउने, डण्डीफोर हटाउने, चायापोतो हटाउने, चाउरीपन हटाउने भन्दै विभिन्न वेभलेन्थ फिक्स्ड गरिएका हुन्छन् । यसलाई सामान्य तालिम लिएकाले जथाभावी ढंगले चलाइरहेका छन् । ब्युटिपार्लरले समेत यस्ता आईपीएल मेसिन राखेर रौँ हटाउने, चाउरी हटाउने भन्दै सेवा दिन थालेपछि थप भ्रम र अन्योल सिर्जना भएको छ । वास्तवमा यो लेजर होइन । लेजरको प्रकारअनुसार त्यसमा छुट्टाछुट्टै वेभलेन्थ सेट गरिएको हुन्छ । कस्तो समस्यामा कुन वेभलेन्थको लेजर प्रयोग गर्नुपर्छ भन्ने जानकारी नभईकन लेजर प्रयोग गर्दा त्यसले नकारात्मक असर देखाउँछ । छालाको समस्यामा कसैले लेजर प्रयोग गर्दै छ भने उसले लेजरको बारेमा राम्रोसँग जानकारी हासिल गर्नुका साथै ऊ छालारोग विशेषज्ञ हुनु पनि जरुरी छ । ‘मेसिन हो, सिकेपछि जसले चलाए पनि हुन्छ’ भन्ने ढंगले जथाभावी लेजर प्रयोग गर्नु हुँदैन । 

अत्याधुनिक एउटै लेजर मेसिनको एक करोड रुपैयाँसम्म पर्छ । त्यसैले लेजर जहाँसुकै सर्वसुलभ ढंगले उपलब्ध छैन भन्ने बुझ्नु जरुरी छ । धेरैले आईपीएल मेसिनलाई नै लेजरका रूपमा प्रचार गरेकाले धेरैलाई लेजरसम्बन्धी भ्रम रहेको छ । 

लेजर गरेपछि एकदमै सुन्दर भइन्छ भन्ने धारणा गलत हो । मानिसले जन्मिँदै ल्याएको अनुहारको स्वरूप बदलिने होइन । दाग, कोठी पनि पूर्ण रूपमा हटाउन असम्भव हुन्छ । त्यसलाई केही मात्रामा कम गरेर नदेखिने बनाउन सकिन्छ । कोठीको साइज ठूलो छ भने प्लास्टिक सर्जरी गरेर हटाउनुपर्छ । कोठी हटाएको ठाउँ र अन्य ठाउँको छालाको रङमा केही अन्तर देखिन्छ । लेजर तथा कस्मेटिक सर्जरी गरेपछि छालालाई घामबाट जोगाउन सकिएन भने विभिन्न खालका समस्या देखिन सक्छन् । 

सौन्दर्य जोडिएका जुनसुकै समस्यामा पनि लेजरले जादुमय प्रभाव देखाउने प्रचारको पछि लाग्दा भइरहेको सुन्दरता पनि गुम्ने खतरा बढी छ । लेजरले अनावश्यक रौँ, कोठी, ट्याटू हटाउन सकिए पनि चाउरीपन पनि लेजर गरेरै जान्छ भनेर कसैले भन्छ भने त्यो गलत हुनेछ । विभिन्न मिडियामा विज्ञापन देखेकै भरमा लेजरका लागि मरिहत्ते गर्नेहरूले सर्वप्रथम लेजरबारे सामान्य रूपमा भए पनि जान्ने कोसिस गर्नुपर्छ । लेजर सेवा उपलब्ध भएका अस्पताल तथा छालारोग विशेषज्ञसँग परामर्श गरेर मात्र लेजर प्रयोग गर्ने कि नगर्ने भन्ने निक्र्यौल गर्न सकियो भने भविष्यमा आउने सक्ने समस्याबाट जोगिन सकिन्छ । 
 

प्रतिक्रिया