१ जापानमा भ्यालेन्टाइन्स डेका अवसरमा महिलाले पुरुषलाई चकलेट दिन्छन्। विभिन्न खालका चकलेटले विभिन्न सम्बन्ध बुझाउँछन्। गिरी–चोको अर्थात् बाध्यात्मक चकलेट कार्यालयका हाकिम, साथी र आफन्तहरूलाई दिइन्छ।
यस चकलेटले महिला प्रेमपूर्ण सम्बन्ध चाहन्नन् भन्ने जनाउँछ। ‘चो गिरी चोको’ चाहिँ सस्तो चकलेट हो। यो चकलेट युवतीले त्यस्तो मान्छेलाई दिन्छिन्, जसलाई उनी मन पराउँदिनन् तर उनीप्रति सहानुभूति राख्छिन्। त्यसै गरी, होन्मेई चोको चाहिँ प्रेमी वा श्रीमान्लाई दिइन्छ। यसले महिलाको प्रेम व्यक्त गर्छ।
२ वेल्समा जनवरी २५ मा प्रेम दिवस मनाइन्छ। यस दिन वेल्सका पुरुषले आफूले चाहने महिलालाई ‘प्रेम चम्चा’ उपहार दिन्छन्। यो युगौँ पुरानो परम्परा हो। काठबाट बनेको कलात्मक चम्चामा विभिन्न प्रतीक र संकेत खोपिएका हुन्छन्। कसै–कसैले चम्चामा मालाका दाना पनि जडेका हुन्छन्। जति वटा दाना हुन्छ, पुरुषले महिलाबाट त्यति जना सन्तान जन्माउन चाहेको संकेत दानाको संख्याले गर्छ।
३ दक्षिण अफ्रिकामा ‘लुपरकालिया’ नामक प्रेम व्यक्त गर्ने शैली प्रचलित छ। यसअनुसार युवा–युवतीले आफ्नो कमिज वा लुगाको बाहुलामा आफूले चाहेको व्यक्तिको नाम लेख्ने गर्छन्। संयोग सुखद भयो भने प्रेम सम्बन्ध सुरु हुन्छ। कतिपय त त्यही मौकामा बिहे पनि गर्छन्।
४ चीनको मियाओ जनजातिमा अप्रिलतिर तीन दिने पर्व मनाइन्छ। जसलाई ‘दिदीबहिनीको भोज’ भनिन्छ। महिलाहरू यस पर्वमा विभिन्न रङका भात तयार पार्छन्। पुरुषलाई रेसमको कपडाले छोपेर भात उपहार दिइन्छ। भातमा चपस्टिक भेटियो भने त्यसको अर्थ हुन्छ– महिला ती पुरुषसँग प्रेम सम्बन्ध गाँस्न चाहन्छिन्। भातमा ल्वाङ वा लसुन भेटिएमा महिलालाई ती पुरुषसँग कुनै अभिरुचि नभएको बुझिन्छ।