रास्वपा नेतृ पोखरेलको आक्रामक टिप्पणी – ‘कानुन सबैका लागि समान हुनुपर्दैन?’

राम्रो अनलाइन     ०३ साउन २०८३, आइतबार
रास्वपा नेतृ पोखरेलको आक्रामक टिप्पणी – ‘कानुन सबैका लागि समान हुनुपर्दैन?’

​काठमाडौँ–सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका  कार्यकर्ता तेजेन्द्र प्रसाद पाैडेल चितवनबाट पक्राउ परेपछि राजनीतिक र सामाजिक वृत्तमा बहस तातिएको छ। राप्रपा नेतृ खुश्वु ओलीले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा ती कार्यकर्ता पक्राउ परेपछि रास्वपा केन्द्रीय सदस्य आकांक्षा पोखरेलले फेसबुकमार्फत आक्रामक टिप्पणी गरेकी छन।

​पोखरेलले विधिको शासन र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाउँदै कानुनको कार्यान्वयन सबैका लागि समान हुनुपर्ने जोडदार माग गरेकी छन्।
​केन्द्रीय सदस्य पोखरेलले सामाजिक सञ्जालमा लेखेको आधारमा मात्रै नागरिकलाई पक्राउ गरिनु विभेदकारी भएको तर्क गरेकी छन्। उनले उजुरीकर्ता ओलीलाई संकेत गर्दै संसद्को रोस्ट्रमबाटै रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहप्रति अपमानजनक अभिव्यक्ति दिने सांसदहरूमाथि पनि निष्पक्ष कानुनी परीक्षण हुनुपर्ने माग गरिन।

​स्टाटसमा पाेखरेलले संसदको गरिमामय रोस्ट्रमबाट च्याट जिपिटिको सहायतामा तीन कान्ला उफ्रँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहप्रति अपमानजनक तथा विवादास्पद अभिव्यक्ति दिने सांसदको पनि निष्पक्ष कानुनी परीक्षण हुनुपर्ने उल्लेख गरेकी छन्।

​राप्रपा नेतृ खुश्वु ओलीतर्फ लक्षित गर्दै पोखरेलले विगतमा आफैँले दिएका अन्तर्वार्ताका क्लिपहरू सेयर गर्दा नागरिकलाई तर्साउन खोजिएको आरोप लगाएकी छन। विगतमा 'गुन्डा नाइके' भनिएका दिनेश अधिकारी (चरी) सँगको सम्बन्धबारे आफैँले हाँसी-हाँसी अन्तर्वार्ता दिने तर अहिले सोही क्लिप नागरिकले सेयर गर्दा डर र त्रासको वातावरण सिर्जना गर्नु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको पाेखरेलको ठहर छ।

​आफ्नो धारणाको अन्त्यमा पोखरेलले निष्पक्ष न्याय र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रास्वपा दृढतापूर्वक उभिने स्पष्ट पारेकी छन्। उनले प्रतीकात्मक रूपमा 'महारानी' शब्द प्रयोग गर्दै कानुनको दायराबाट कोही पनि उम्किन नपाउने चेतावनी दिएकी छन्।

पाेखरेलकाे स्टाटस जस्ताकाे तस्तै;

यदि सामाजिक सञ्जालमा लेखिएको अभिव्यक्तिका आधारमा कुनैपनी नगरिकलाई साइबर अपराधको मुद्दा चलाइन्छ भने, कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ। यसर्थ लेखेको आधारमा कारबाही गरिन्छ भने, सर्वप्रथम संसदको गरिमामय रोस्ट्रमबाट च्याट जिपिटिको सहायतामा तिन कान्ला उफ्रदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहप्रति अपमानजनक तथा विवादास्पद अभिव्यक्ति दिने सांसदको पनि निष्पक्ष कानुनी परीक्षण हुनुपर्छ।

फरक विचार राखेकै कारण , गुण्डा नाइके चरीलाई जोडेकै कारण आफू बदनाम भएको महसुस गर्नेले आफै हासी हासी मेरो प्रेम चरीसङ्ग थियो भनेर अन्तर्वार्ता दिदै हिडेको होइन? अनि त्यही अन्तर्वार्ताको सानो क्लिप नागरिकले सेयर गर्दा उनीहरुलाई डर, त्रास वा दमनमा राख्ने प्रयास लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत छ।

हामी निष्पक्ष न्याय, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र कानुनको समान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिन्छौँ। न्यायको कठघरामा तेजेन्न्द्र मात्र होइन, अब “महारानी” पनि उभिनु पर्छ।

प्रतिक्रिया