सुशीला भन्छिन् : म रहर पूरा गर्न मात्र गीत–संगीतमा लागेकी होइन

जयन सुब्बा मानन्धर     ०४ असार २०७८, शुक्रबार
सुशीला भन्छिन् : म रहर पूरा गर्न मात्र गीत–संगीतमा लागेकी होइन

झापा, शरणामतीकी सुशीला पाठकले गीत गाउन हतार गरेको भए यतिबेला उनका दर्जनौँ गीत रेकर्ड भइसक्थे । सानैदेखि गीत–संगीतमा रुचि भएकी उनको स्वर पनि राम्रै थियो । स्कुलदेखि नै गीत गाउँदै आएकी उनलाई साथीसंगी तथा आफन्तले गीत गाउन तथा रेकर्ड गर्न हौसला पनि दिन्थे । तर, उनी हतारिएर गीत रेकर्ड गराउनेतिर लागिनन् । संगीतको औपचारिक अध्ययन र स्वर तिखार्न उनले पाँच वर्ष खर्च गरिसकेकी छिन् । ‘म रहर पूरा गर्न मात्र गीत–संगीतमा लागेकी होइन,’ सुशीला भन्छिन्, ‘स्रोताको मनमा लामो समय बस्ने गायिका बन्ने उद्देश्यले संगीत साधनामा लागेकी हुँ ।’ 

विद्यालय पढ्दाताकादेखि नै उनी गीत–संगीतमा सक्रिय थिइन् । विद्यालय, कलेज, जिल्लास्तरीय विभिन्न कार्यक्रममा उनी पुरस्कृत भएकी छिन् । अहिलेसम्म उनले ४० वटा गीतमा स्वर दिएकी छिन् । शिलाबहादुर मोक्तान, मनोजराज शिवाकोटी र करणराज कार्कीसँग भोकल प्रशिक्षण लिएकी उनी लोक, पप, आधुनिक र डान्सिङ बिटका गीत गाउन रुचाउँछिन् । उनको पहिलो एल्बम ‘सप्तरंगी’ हो । सबै खाले गीत गाउन सक्ने भएकाले उनी ‘भर्सटाइल सिंगर’ का रूपमा परिचित हुँदै छिन् । आफूले गाएका केही गीतको म्युजिक भिडियोमा आफैँ मोडलिङ पनि गरेकी छिन् । गीत–संगीतमै समर्पित भएर लाग्ने उनी बताउँछिन् । ‘मलाई कतिपयले मोडलिङ तथा फिल्ममा अभिनय गर्न सुझाव दिन्छन्,’ उनी भन्छिन्, ‘तर, म गायिका भएकाले गाउनमै फोकस हुन्छु ।’ गायन, मोडलिङसँगै नृत्यमा पनि पोख्त छिन्, सुशीला । 

अध्ययन र गीत–संगीतलाई एकसाथ अघि बढाइरहेकी उनलाई परिवारबाट पूर्ण सहयोग छ । पाँच वर्षसम्म बुबासँग पैसा लिएर म्युजिक प्रशिक्षण लिएकी उनी गीत गाएर अहिले नै पैसा कमाइहाल्ने अवस्था नभएको बताउँछिन् । ‘म नयाँ सिंगर हुँ,’ उनी भन्छिने, ‘भर्खरै ४० वटा गीत रेकर्ड भएका छन् । केही गीत स्रोताले रुचाउन थालेका छन् । गीत हिट हुन थालेपछि स्टेज सोमार्फत आयआर्जन हुने आशमा छु ।’ गीत गाएर टन्न पैसा कमाउने भन्दा पनि स्रोताको मन जित्न कडा मेहनत गरिरहेको उनी बताउँछिन् । ‘गीत–संगीतप्रतिको प्यासनका कारण नै पाँच वर्ष संगीत अध्ययन गरेपछि मात्रै गीत रेकर्ड गर्न थालेकी हुँ,’ उनी भन्छिन्, ‘गीत–संगीत मेरो प्राण हो । संगीत मेरो रगतमा छ, मेरो धड्कनमा छ ।’

भविष्यमा ‘वरिष्ठ गायिका’ का रूपमा चिनिन चाहन्छिन्, सुशीला । ‘मलाई सबैले चिनून्, वरिष्ठ गायिकाको उपनाम पाउन सकूँ,’ उनी भन्छिन्, ‘मीठा–मीठा गीत स्रोता÷दर्शकमाझ ल्याउन सकूँ । सबैले मलाई चर्चित गायिकाका रूपमा चिनून भन्ने लाग्छ ।’

शिलाबहादुर मोक्तानको संगीतमा उनले गाएको ‘हलक्क ज्यान बढ्यो रे’ ‘सानीलाई’ बोलको गीत स्रोताले निकै रुचाएका छन् । ‘सानीलाई’ डान्सिङ बिटको गीत हो । क्लब तथा पार्टीहरूमा यो गीत बज्ने गरेको सुशीला बताउँछिन् । अंग्रेजी तथा हिन्दी गीतमा नाच्नेहरू नेपाली गीत बजाएर नाचेको देख्दा निकै खुशी लाग्ने उनी बताउँछिन् । सुशीलालाई मेला–महोत्सव तथा विभिन्न कार्यक्रममा गीत गाउने अफर आउन थालेका छन् । ‘म सकेसम्म आफ्नो स्वरलाई फिट हुने खालका गीत छनोट गर्ने कोसिस गरिरहेकी छु,’ उनी भन्छिन्, ‘गीतको संख्या बढाउनेभन्दा पनि स्तरीय गीत गाउन चाहन्छु ।’ सुशीला पियानो र हार्मोनियम बजाउँछिन् । हरेक दिन कम्तीमा दुई घण्टा रियाज गर्ने सुशीला संगीतलाई हल्का रूपमा लिन नहुने बताउँछिन् । ‘पाँच दशक गीत–संगीतमा बिताएका संगीत साधकहरू त आफूले अझै सिक्न बाँकी रहेको बताइरहेका हुन्छन्,’ उनी भन्छिन्, ‘हामी भर्खरै करिअर बनाउँदै गरेकाहरूले त संगीतमा निरन्तर साधना गर्नुपर्छ ।’ सानो हुँदा कुन्ती मोक्तानका गीत मन पराउने उनी अहिले सिक्ने क्रममा अरुणा लामा, तारादेवी, गोपाल योञ्जन, नारायणगोपालका गीतमा अभ्यास गरिरहेको बताउँछिन् । 

नेपाली गीत–संगीतलाई सुशीला सम्पत्ति ठान्छिन् । ‘गीत–संगीत हाम्रा सम्पत्ति हो,’ उनी भन्छिन्, ‘यसलाई बचाइराख्नुपर्छ, यसको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो । संगीत कर्मसँगै सामाजिक कार्यमा पनि सक्रिय छिन्, उनी । ‘राम्रो समाजसेवी भएर देश र जनताको सेवा गर्न चाहन्छु ।’
 

प्रतिक्रिया