हिम्मतले भरपूर एन्जिला 

राम्रो अनलाइन     १६ साउन २०७८, शनिबार
हिम्मतले भरपूर एन्जिला 

एन्जिला रेग्मी, पप र पाश्र्वगायनमा प्रगति गरिहेकी गायिकाको नाम हो । ‘गोपी’, ‘सुश्री’लगायत फिल्मका गीतमा स्वर भरेकी उनका पछिल्लो समय ‘दिलको भित्तैमा’ ‘बस बस र’, ‘ओई’, ‘कपुरी क’लगायत गीत चर्चित छन् । 

स्टेज कार्यक्रमका लागि उत्तिकै निम्त्याइने एन्जिला रातारात चर्चामा आएकी गायिका होइनन् । लामो संघर्ष र साधनाले उनलाई यहाँसम्म पु¥याएको हो । संगीतमा उनी लामो समयदेखि छिन् । सानैमा उनको गायन क्षमता पहिचान गरेको परिवारले यसैमा उनलाई अघि बढायो । त्यसकारण उनको पहिलो एल्बम कक्षा चारमा हुँदै रेकर्ड भएको थियो । ‘सम्मिश्रण’ नामक एल्बमबाट उनको प्रतिभा जन्मथलो बुटवलवरिपरि फैलियो । कक्षा सातमा आएको ‘लुकीछिपी’ले उनको प्रतिभाको दायरा फराकिलो बनाउँदै लग्यो भने कक्षा नौमा निकालेको ‘एन्जिला’ले उनलाई गायनमै लाग्न हौस्यायो । 

मञ्चमा उक्लिन उनले यूकेजी पढ्दा नै सुरु गरेकी थिइन् । स्कुल शिक्षकसँग गीत गाउन पुगेकी थिइन् । गीत सुन्न शिक्षकले उनका बुबालाई पनि बोलाएका थिए । छोरीको प्रतिभाबाट प्रभावित उनको बुबाले त्यही दिनदेखि छोरीलाई स्टार गायिका बनाउने सपना सजाएका थिए । एन्जिला भन्छिन्, ‘बुबाकै कारण म यहाँ आइपुगेकी हुँ । उहाँकै कारण यस क्षेत्रमा छु ।’

पढाइका साथसाथै सानैदेखि संगीत शिक्षा लिइरहेकी उनी एक समय संगीत कक्षा छाडेर आईईएलटीएसका लागि अंग्रेजी भाषा पढ्न थालेकी थिइन् । ‘प्रतिभाले मात्रै यो क्षेत्रमा प्रगति गर्न नसकिने रैछ भन्ने महसुस भयो,’ उनी भन्छिन् । कक्षा ११ पढ्दाताका गीत गाउन दिने बहानामा एक चर्चित संगीतकारले गर्न खोजेको दुव्र्यवहारबाट उनको हिम्मत टुटेको थियो । आफूमाथि घटेको कुरा परिवारका सदस्यसँग बाँड्ने उनको बानीले टुटेको हिम्मत जोडेर आजको अवस्थामा ल्याइपु¥याएको उनी बताउँछिन् । सम्झिन्छिन्, ‘सामाजिक सञ्जालबाट लामो समयदेखि पछ्याइरहेका चर्चित संगीतकारले गीत गाउन दिन्छु भन्दा म उत्साहित भएकी थिएँ । त्यसैले उनलाई भेट्न उनको अफिसमा पुगेकी थिएँ । जब उनको नियत बुझेँ, मलाई भाउन्न भयो ।’

त्यसपछि उनले गायिका बन्ने बाटो मोडेर अस्ट्रेलिया जान अंग्रेजी कक्षा पढ्न थालिन् । बुबाले ढाडस दिए । जीवनमा आइलाग्ने समस्यासँग आफैँ जुध्न हिम्मत दिए । आफू सहयोगका लागि सदा तयार रहेको विश्वासका साथ आत्मबल जुटाउन सघाए । 

त्यसपछि उनी फेरि गायन क्षेत्रमा सक्रिय भइन् । फिल्म ‘सुश्री’मा पाश्र्वगायनका लागि अवसर पाइन् । उनको स्वरको जादु संगीत क्षेत्रमा फैलिँदै गयो । दुई वर्षअघि सार्वजनिक भएको ‘कपुरी क’बाट उनले आफूलाई प्रमाणित गर्न मौका पाइन् । त्यसपछि ‘दिलको भित्तामा’ले उनलाई धेरै स्रोताको दिलसम्म उनको स्वर पु¥यायो । युट्युबमा झण्डै दुई करोड पल्ट हेरिएको छ, उक्त गीत । फिल्म ‘गोपी’मा बुद्धिसागरले लेखेको गीत ‘लक्ष्मी कहिले काली’मा महिला स्वर उनकै छ । ‘मैले अपेक्षा गरेभन्दा धेरै माया दर्शक–स्रोताबाट पाइरहेकी छु,’ उनी भन्छिन् ।

युवा पुस्तामाझ उनी चर्चित छिन् । यही पुस्ताले रुचाउने खालको गीतमा उनलाई बढी खोजिने गरिएको छ । सबै खालको गीतमा स्वर भर्न सक्ने आत्मविश्वास भए पनि यही जान्र आफ्ना लागि फलिफाप भएको बताउँछिन् । भन्छिन्, ‘मलाई यस्तै गीतका लागि बढी खोजिन्छ । स्टेजमा पनि यस्तै गीत गाउँदा दर्शक रमाउँछन् । त्यसैले पाश्र्व र पपगायनमा आफूलाई केन्द्रित गरिरहेकी छु ।’

औपचारिक पढाइमा स्नातक तह अन्तिम वर्षमा रहेकी उनी प्रतिभाका साथै परिवारको सहयोग कलाकार बन्न असाध्यै महत्वपूर्ण रहेको उनी बताउँछिन् । भन्छिन्, ‘परिवारको सहयोगले आफ्नो प्रतिभा निर्धक्क प्रस्तुत गर्न मात्रै सघाउँदैन,  यो क्षेत्रमा रहेको विकृतिविरुद्ध लड्ने हिम्मत पनि दिन्छ ।’
उनी संगीत क्षेत्रमा महिला कलाकारमाथि हुने दुव्र्यवहारविरुद्ध खुलेरै बोल्ने गायिकामा पर्छिन् । आफ्नो यस्तो स्वभावले व्यक्तिगत करिअरमा हुने नाफा–घाटाको हिसाब गर्दिनन् । भन्छिन्, ‘कोही पनि महिला कसैको गलत नियतको शिकार नहोस् भनेर बोलिरहेकी छु ।’  

देश÷विदेशका विभिन्न ठाउँमा पुगेर आफ्नो प्रस्तुति पस्किसकेकी उनी गायन क्षेत्रमा सक्रिय भएको दशक नाघिसकेको छ । सानै उमेरदेखि यही क्षेत्रमा सक्रिय रहेकाले उनलाई चाँडै कहीँ पुग्न हतार छैन । तर, गायन क्षेत्रमा आफ्नो पहिचान बनाएरै छाड्ने दृढ विश्वास छ । उनको विश्वासमाथि परिवारको भरोसा छ । उनलाई लाग्छ, ‘यति भएपछि सफल भइन्छ ।’
 

प्रतिक्रिया