‘मिस एटोमिक बम’मर्लिन

एजेन्सी     २६ जेठ २०७८, बुधबार
‘मिस एटोमिक बम’मर्लिन

अमेरिकी राज्य नेभाडा सन् १९५० को दशकमा परमाणु बम परीक्षणको  केन्द्र बनेको थियो। यो राज्यमा त्यतिखेर हरेक कुरा एटम अर्थात् परमाणुको नामसँग जोडिएका थिए। परमाणु बमको ज्वरोले सिंगो राज्य प्रभावित थियो। सन् १९५२ मा परमाणु बम विष्फोट टेलिभिजनमा पहिलो चोटि प्रसारण भएपछि त झन् नेभाडा पूरै ‘परमाणुमय’ बन्यो। घरायसी सामग्रीदेखि फुटबल टिमसम्मका नाम ‘एटम’बाट राख्न थालियो।

नेभाडाको लास भेगास शहर जुवा र सुन्दर महिलाका लागि प्रसिद्ध थियो। यस शहरले सौन्दर्य प्रतियोगितालाई परमाणुसँग जोड्न सुरु गर्यो। सन् १९५२ मा लास भेगासले पहिलो ‘अटोमिक पिन–अप गर्ल’ घोषणा गर्‍यो, क्यान्डिस किङ नामकी सुन्दरीलाई। उनलाई ‘मिस अटोमिक ब्लास्ट’ भनियो। त्यसै गरी, सन् १९५३ मा नर्थ लास भेगासमा आयोजित सौन्दर्य प्रतियोगिताकी विजेता पाउला ह्यारिसलाई ‘मिस ए–बम’ उपनाम दिइयो।

सबैभन्दा चर्चित ‘मिस एटोमिक बम’ थिइन्, नृत्यांगना ली ए. मर्लिन। सन् १९५७ को मे २८ देखि अक्टोबर ७ सम्म अमेरिकाले ‘अपरेसन प्लमबब’ नामक शृंखलाबद्ध आणविक परीक्षण गरेको थियो। ठीक यही समयमा आयोजित ‘मिस एटोमिक बम’ प्रतियोगितामा मर्लिन विजेता बनेकी थिइन्। उनको एउटा तस्बिर विश्वप्रसिद्ध छ, जसमा उनी पौडी पहिरनमा छिन्। पौडी पहिरनमा विष्फोटको झल्को दिने गरी कपासको बादल जडिएको छ। उनी अन्तिम र विख्यात ‘मिस एटोमिक बम’ हुन पुगिन्।

प्रतिक्रिया