अनीताको अनन्त अनुराग 

राम्रो अनलाइन     २५ जेठ २०७८, मङ्गलबार
अनीताको अनन्त अनुराग 

गायिका अनीता चलाउनेको घरको वातावरण गीत–संगीतमा लाग्ने खालको छैन । बुबा शिक्षक हुनुहुन्थ्यो । तीन दिदीबहिनी र एक भाइ सबै पढ्नमा एकसे एक थिए । ‘आ–आफ्ना कक्षामा टप गर्ने हामी दिदीबहिनीको ध्यान पढाइमै बढी जान्थ्यो,’ उनी भन्छिन्, ‘मेरो दिदीले फिजिक्समा एमएससी गरेकी छिन्, भाइ मेकानिकल इन्जिनियरिङ गर्दैछ । मैले पत्रकारिता तथा आमसञ्चार विषयमा मास्टर्स गरेकी छु  ।’ पढाइसँगै गीत\ संगीतमा पनि रुचि भएकी अनीतालाई पढाइबाहेक अन्यत्र लाग्ने छुट घरबाट थिएन ।

स्कुलमा हुने कार्यक्रममा आक्कल–झुक्कल गीत गाउँदा पाउने प्रशंसाले उनलाई गायिका बन्ने रहर जाग्यो । सांगीतिक कार्यक्रम सकेर घर पुग्दा दिदीबहिनी किताब लिएर घोत्लिएको देखेपछि र बुबाको कडा अनुशासनमा बाँधिनु परेपछि केही समय गायिका बन्ने आफ्नो इच्छालाई मनमै दबाएर राखेको उनी बताउँछिन् । ‘पढाइ सकेपछि जागिर खाने, शिक्षक बन्नेबाहेक घरमा अरू कुनै कुरा हुँदैनथ्यो,’ उनी भन्छिन् । आफूले पढेको विषयमै केही गर्नुपर्छ भन्ने बुबाको चाहनालाई पन्छाएर आफ्नो रुचिको क्षेत्र गीत–संगीतमा लागिहाल्ने अवस्थामा अनीता थिइनन् । तर, उनले पढाइ र गायनलाई एकसाथ अघि बढाएर गायिका बन्ने आफ्नो धोको पूरा गरेकी छिन् । भन्छिन्, ‘संगीतमा मेरो अनुराग अनन्त छ ।’  

गीत–संगीतपछि उनलाई मन पर्ने क्षेत्र हो, मिडिया । रेडियो तथा टीभीमा काम गर्ने तीव्र इच्छा भएकाले उनले एसएलसीपछि पत्रकारिता लिएर पढ्न थालिन् । काठमाडौँ, डिल्लीबजारस्थित पदमकन्यामा पत्रकारितामा प्लस टू पढ्दाताका उनले भानु जयन्तीको अवसरमा आयोजित गायन प्रतियोगितामा भाग लिने अवसर पाइन् । प्रतियोगितामा उनी पहिलो भइन् । गायनसम्बन्धी कुनै औपचारिक अध्ययनबिना नै अनीता सबै खालका गीत लय समातेर गाउन सक्थिन् । ‘म्युजिक पढ्ने र सिक्न पाउने कुरै थिएन,’ उनी भन्छिन्, ‘रेडियोमा गीत बजेको सुनेकै भरमा लय र भाका टिपेर गीत गाउथेँ ।’ 

उनको सुरिलो स्वर सुनेकाजति उनलाई रेडियो नेपालमा स्वर परीक्षा दिन सुझाव दिन्थे । २०६७ सालमा आधुनिक गीततर्फ अनीताले पनि रेडियो नेपालमा स्वर परीक्षा दिइन् । स्वर परीक्षामा उत्तीर्ण पनि भइन् । त्यसपछि मात्रै उनले गन्र्धव म्युजिक विद्यालयमा चन्दन श्रेष्ठसँग गायन प्रशिक्षण लिन थालेकी हुन् । पढाइ, जागिर र म्युजिक क्लास एकसाथ गर्दै अघि बढेकी अनीतालाई आमाले सहयोग गरिन् । ‘आमाले मलाई बुझ्नुहुन्छ,’ उनी भन्छिन्, ‘मेरो चाहनालाई सुरुदेखि नै उहाँले सपोर्ट गर्नुभएको छ ।’ 

अनीताले विष्णुबाबु देवकोटाको शब्द र सुशील विककोे संगीतमा ‘जतिअघि बढे पनि’ बोलको गीत ०७१ सालमा पहिलो पटक रेकर्ड गराइन् । यो गीतको लिरिकल भिडियो पनि बनाएकी थिइन्, उनले । ‘घरमा ‘भविष्य नभएको क्षेत्रमा हात हाली’ भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘तर, म यसै क्षेत्रमा अघि बढ्न चाहन्छु ।’ आधुनिक गीतमा विशेष रुचि भएकी उनले लोकगीत पनि गाएकी छिन् ।

अछाममा जन्मिएकी र बर्दिया हुर्किएकी उनी पश्चिमतिर रुचाइने लोकगीत गाएर स्रोताको मन जित्न चाहन्थिन् । ‘दोहोरी गीतका लागि चर्चित गायक पशुपति शर्मालाई अनुरोध गरेँ,’ अनीता भन्छिन्, ‘मैले गाएको गीत सुनेर र मलाई लाइभ गाउन लगाएर मसँग गीत गाउन उहाँ राजी हुनुभयो ।’ उनले ०७२ सालमा पशुपति शर्मासँग ‘नाची देऊ झिल्के’ बोलको गीत रिलिज गरिन् । जुन गीतले उनलाई स्रोतामाझ परिचित गराउन मद्दत गर्‍योे । ‘चर्चित गायकसँग दोहोरी गाउन पाउँदा मलाई छोटो समयमा नै स्रोताले नोटिस गर्नुभयो,’ उनी भन्छिन्, ‘यो गीतपछि विभिन्न ठाउँमा हुने मेला–महोत्सवमा पनि गाउने अवसर पाएँ ।’ 

उनले लोकगायक रामजी खाँडसँग ‘अहा मेरो मायालाई’, ‘बिनापरमिसन दिलमा इन्ट्री मार्‍योे माया’ बोलका गीत गाएकी छिन् । यसै गरी गीतकार डिबी खड्काको रचना ‘देउडा खेल्छु चट्टै’ बोलको गीतमा गायक प्रमोद खरेलसँग अनीताले पनि स्वर दिएकी छिन् । उनी तीजका गीत पनि गाउँछिन् ।

लजालु स्वभावकी अनीता स्टेजमा तडक–भडक गरेर चर्चित हुने धुनमा आफू नरहेको बताउँछिन् । गायक÷गायिकाले स्वरबाट स्रोता तथा दर्शकको मनमा बस्नुपर्ने उनी बताउँछिन् । ‘स्वरमा निखार ल्याउने र सकेसम्म राम्रा गीत गाउनु नै मेरो उद्देश्य हो,’ उनी भन्छिन् । अनीताले नेपाल टेलिभिजनमा विभिन्न स्रष्टासँग कुराकानी गरिने कार्यक्रम ‘सिर्जना सारथि’ पनि सञ्चालन गर्छिन् । ‘मिडियामा काम गर्ने इच्छा भएकाले टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेको हुँ,’ उनी भन्छिन्, ‘हरेक हप्ता फरक–फरक स्रष्टासँग कुराकानी गर्न पाउँदा र उहाँहरूको अनुभव सुन्न पाउँदा धेरै कुरा सिक्न पाएकी छु ।’ 

प्रतिक्रिया