अनुहारमा कुन प्रसाधन ? 

हेमन्त निरौला, निर्देशक, डेल्टा मार्केटिङ     १३ जेठ २०७८, बिहिबार
अनुहारमा कुन प्रसाधन ? 

डेल्टा मार्केटिङका निर्देशक हेमन्त निरौलाले कस्मेटिक प्रोडक्ट नेपाली बजारमा बिक्री–वितरण गर्न थालेको १६ वर्ष भयो । सौन्दर्य प्रसाधनको मार्केटिङ गर्दै आएका निरौलाले सौन्दर्यसम्बन्धी केही जानकारी  राम्रो अनलाइनसँग सेयर गरेका छन्ः 

फेसवास
सौन्दर्यको कुरा आउनेबित्तिकै सबैको ध्यान अनुहारमा नै जान्छ । सफा र सुन्दर अनुहारको चाहना सबैलाई हुन्छ । कतिपयले गोरो छालालाई मात्र सुन्दर हुनु भन्ने ठान्छन् । तर, छालाको रङले मात्र मानिस सुन्दर हुने होइन । अनुहारको छालालाई लिएर धेरैले चिन्ता गरेको पाइन्छ । बजारमा उपलब्ध हुने कस्मेटिक प्रडक्टमध्ये छालासँग सम्बन्धित सामग्री बढी हुन्छन् । तर, छालाको उचित स्याहार गर्न नसक्दा धेरैको अनुहारको छालामा विभिन्न समस्या देखापर्छ । अनुहारको छाला सुन्दर र सफा राख्ने विभिन्न उपायमध्ये पहिलो हो, नियमित सफाइ । नियमित फेसवास गरेर पनि छालालाई स्वस्थ र सुन्दर राख्न सकिन्छ । 


गर्मी याममा धेरै पसिना आउने गर्छ । अनुहारको छालामा धुलो टाँसिएर चिपचिप हुन्छ, छाला चिल्लो हुन्छ । त्यसैले दिनमा कम्तीमा तीन पटक छालालाई सुट हुने फेसवासले अनुहार धुनुपर्छ । यसरी फेसवासले अनुहार सफा गर्दा अनुहारको छालामा भएको चिल्लोपन कम हुन्छ । र, छालालाई सुक्खा बनाउन मद्दत गर्छ । फेसवास छनोट गर्दा आँखा नपोल्ने, छालाको प्रकारअनुसार मिल्ने, एन्टी–ब्याक्टेरियल खालको गर्नुपर्छ । सुक्खा छाला भएकाहरूले मुख धोएपछि म्वइस्चराइजर लगाउनुपर्छ । 

सनब्लक वा सनस्क्रिन
अनुहारको छालामा घामको किरणले सबैभन्दा बढी असर गर्छ । जाडो वा गर्मी जुन मौसमको भए पनि अनुहारको छालाका लागि घाम हानिकारक नै हुन्छ । सूर्यबाट निस्किने किरणमा अल्ट्राभ्वाइलेट ए, बी र सी हुन्छ । सी ओजन तहमै नष्ट हुन्छ भने ए र बी हामीसम्म आइपुग्छ । यी अल्ट्राभ्वाइलेट किरणले स्किनमा हुने मेलानिन बनाउने कोशिकालाई हानि पु¥याउँछ । स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो । सूर्यबाट निस्किने अल्ट्राभ्वाइलेट किरणलाई सन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) ले रोक्न सक्छ । एपीएफले अल्ट्राभ्वाइलेट बीलाई मात्रै रोक्न सक्छ । अल्ट्राभ्वाइलेट ए छालाको भित्री सतहसम्म छिर्छ । यसले जिनको बनोटमा परिवर्तन ल्याउनुका साथै कम उमेरको मानिसलाई पनि बुढो देखाउने कामग गर्छ । छाला चाँडै चाउरिन्छ ।

सनब्लक वा सनस्क्रिनको कुरा गर्दा धेरैले एसपीएफको मात्रै चर्चा गरेको पाइन्छ । छालारोग विशेषज्ञहरूले पनि एसपीएफको मात्रै कुरा गर्छन् । तर, सनस्क्रिनमा अल्ट्राभ्वाइलेट किरण ए लाई रोक्ने पीए प्लस, डबल प्लस र त्रिपल प्लस छ कि छैन भनेर पनि हेर्ने गर्नुपर्छ । 

घामबाट छाला जोगाउन धेरैलाई गाह्रो पर्छ । घरबाहिर निस्कँदा धेरै युवती र महिलाले घामबाट जोगिन आँखा मात्रै देखिने गरी अनुहारमा मास्क तथा पातलो सलले अनुहार ढाक्छन् । घामको डरले कतिपय दिनमा सकेसम्म घरबाहिर ननिस्कन पाए पनि हुन्थ्यो भनी सोच्छन् । घरभित्र बस्दैमा छालामा घामको असर पर्दैन भन्ने होइन । सूर्यको प्रकाश कोठामा सीधा नछिरे पनि छालालाई असर गर्ने सूर्यका किरण कोठाभित्र प्रवेश गरिरहेका हुन्छन् । त्यसैले घरभित्र वा अँध्यारो कोठामा बस्दा पनि छालाको सुरक्षाका लागि सनब्लक लगाउनुपर्छ । 

कसरी छनोट गर्ने सनब्लक ?  
१. सनब्लक क्रिम, लोसन, जेल र स्प्रेमा पाइन्छ । यसको मुख्य काम सूर्यको अल्ट्राभ्वाइलेट किरणलाई केही मात्रामा भए पनि सोस्नु र परावर्तन गर्नु हो । यसले छालालाई घाममा डढ्नबाट जोगाउँछ ।
२. छालाको किसिमअनुसार एसपीएफ नम्बर छनोट गर्नुपर्ने हुन्छ । गोरो छालाका लागि बढी एसपीएफ चाहिन्छ । जति बढी एसपीएफ छ, त्यति नै धेरै समयसम्म सनब्लकले काम गर्छ । सुक्खा छालामा क्रिम र लोसन प्रयोग गर्नुपर्छ । डन्डीफोर भएको र चिल्लो छालाका लागि जेल तथा स्प्रे प्रयोग गर्नुपर्छ ।
३. सनब्लक छनोट गर्दा एसपीएफसँगै सनस्क्रिनमा यूभीएको कम्बिनेसन हेर्न आवश्यक छ । त्यसै गरी जिंक अक्साइड, टाइटेनियम डाइअक्साइड, एक्मसुले र अक्सिबेजान पनि हुन जरुरी छ । सनब्लकमा पीए प्लस छ कि छैन त्यो अनिवार्य रूपमा हेर्नुपर्छ ।  
४. नियमित प्रयोगका लागि एसपीएफ १५ देखि ७० सम्मको सनब्लक क्रिम लगाउनु राम्रो हुन्छ । एसपीएफ धेरै हुँदा मात्र सनब्लकले धेरै समय सनप्रोटेक्सन गर्ने होइन । एसपीएफ १५ भएको सनस्क्रिनले ९७ प्रतिशत अल्ट्राभ्वाइलेट किरणलाई रोक्छ भने एसपीएफ ५० हुँदा ९९ प्रतिशत रोक्न सक्छ । 

कसरी लगाउने सनस्क्रिन ?
अन्य औषधि जस्तै सनब्लकको पनि डोज हुन्छ । डोज नपु¥याइ दिनमा एक पटक मात्र लगाएर छालालाई घामको नकारात्मक असरबाट जोगाउन सकिँदैन । अनुहारमा कम्तीमा एक चम्चा सनस्क्रिन लगाउँदा राम्रो हुन्छ । अनिवार्य रूपमा दिनको तीन पटक सनब्लक लगाउँदा मात्र यसले छालाको सुरक्षा गर्नसक्छ । 
छालाको सुरक्षाका लागि हरेक दुई घण्टामा सनक्रिमको प्रयोग गर्नुपर्ने हुन्छ । घाममा देखिने शरीरका सबै भागमा लगाउनुपर्ने हुन्छ । कतिपयले सनस्क्रिन घाममा निस्कँदा मात्र लगाउनुपर्छ भन्ने ठान्छन् । तर, राति सुतेर उठेपछि उज्यालोमा जानुअघि पनि सनस्क्रिन लगाउनुपर्छ । अँध्यारोबाट उज्यालोतिर जाँदा छालामा हुने असर कम गर्न पनि यो क्रिम उपयुक्त हुन्छ ।

घरबाहिर निस्किनुअघि १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । दुई तीन घण्टा बाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । घाममा बढी काम गर्नुपर्ने मान्छेले सनस्क्रिन लगाउनुर्छ र कम्प्युटरका अघि धेरै समय रहनेका लागि पनि सनस्क्रिन लगाउनु जरुरी छ । स्विमिङ गर्नेले वाटरप्रुफ सनस्क्रिन प्रयोग गर्दा राम्रो हुन्छ ।

क्लिन्जर 
नियमित फेसवास पनि गरेको छ । डोजअनुसार सनस्क्रिन पनि लगाएको छ । तर, बेलुका अनुहारको छालालाई राम्रोसँग क्लिजिङ गरिएन भने छालाको सुन्दरता जोगाउन सकिँदैन । त्यसैले अनिवार्य रूपमा हरेक दिन बेलुका क्लिजिङ गर्नुपर्छ । चिल्लो छाला हुनेहरूले फेसवासले क्लिजिङ गर्नुपर्छ भने ड्राइ फेस हुनेहरूले क्लिजिङ मिल्क प्रयोग गरेर अनुहार सफा गर्नुपर्छ । क्लिजिङ गरिसकेपछि टोनर लगाउनुपर्छ । टोनरले छाला हल्का टाइट बनाउने भएकाले सुत्ने बेलामा नाइटक्रिम वा म्वइस्चराइजर लगाउने गर्नुपर्छ । बिहान उठेपछि बेलुका सुत्ने बेलासम्म अनुहारको छालालाई यसरी केयर गरियो भने यसको सुन्दरता जोगाउन सकिन्छ । उमेर अगावै छाला चाउरिने तथा घामका कारण छालामा देखिने नकारात्मक असरबाट जोगाउन सकिन्छ । यसका साथसाथै सौन्दर्य विशेषज्ञको परामर्शमा फेसियल गरेर पनि छालाको सुन्दरता कायम गर्न सकिन्छ । छालाको अवस्था र प्रकृति हेरेर कस्तो खालको फेसियल गर्ने त्यसको निर्णय गर्न सक्ने अनुभवी सौन्दर्य विशेषज्ञकोमा मात्र फेसियल गराउँदा राम्रो हुन्छ ।  

प्रतिक्रिया