काठमाडौं – सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बैठकले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको पनि खरेलले बताए । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरिएको उनको भनाइ छ ।
नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहको राजीनामा स्वीकृत गरिएको पनि खरेलले बताए ।
यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू स्
१.युरोपियन युनियनबाट ‘ग्रीन एन्ड रिलाएबल इनर्जी फर इकोनोमिक प्रोस्पेरिटी इन नेपाल’ परियोजनाका लागि प्राप्त हुने २३.५८ मिलियन युरो अनुदान सहयाता स्वीकार गर्ने ।
२. विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर रु। २० बाट घटाई प्रतिवर्गमिटर रु। ५ कायम राख्ने ।
३. विद्युत् नियमन आयोगलाई साउथ एसिया इन्फ्रस्टक्चर रेगुलेसनको सदस्यता लिन स्वीकृति दिने ।
४. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव श्री प्रेमकुमार सिंहले पेस गर्नुभएको राजीनामा स्वीकृत गर्ने ।
५. नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
६.मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने ।
७. २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समिति तथा गृह मन्त्रालयको हेल्प डेस्कमा काम गर्ने बढीमा १० जना सदस्यहरूलाई मासिक १५ हजार रुपियाँका दरले बढीमा चार महिनाका लागि खाजा तथा यातायात खर्च उपलब्ध गराउने ।
८. नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक श्री ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने ।
९. आर्थिक वर्ष २०८२र८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरूका लागि अधिकृतस्तरको ३७ अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१०. संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा मिति २०८१/३/२४ भन्दा अगावै तत्काल प्रचलित कानुनी व्यवस्थाबमोजिम जलविद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेका वा ऊर्जा खरिद सम्झौता सम्पन्न भएका आयोजनाहरूको वातावरणीय अध्ययन सहमति, स्वीकृति तथा राष्ट्रिय वनको जग्गा प्रयोग गर्ने प्रक्रियाहरू प्रचलित कानुनबमोजिम वन तथा वातावरण मन्त्रालयले अगाडि बढाउने । साथै, संरक्षित क्षेत्रभित्र पेट्रोलियम पाइपलाइन, पर्यापर्यटन र स्थानीय जनताको जीवनयापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानी, बाटोघाटो, पुलपुलेसा, सिँचाइ, सञ्चार, सार्वजनिक यातायात, विद्युत् प्रशारण लाइन, स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा र सुविधासँग सम्बन्धित कार्यहरूको लागि मात्र वातावरणीय अध्ययन सहमति, स्वीकृति तथा राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने वा सट्टाभर्ना जग्गा लिने प्रक्रिया प्रचलित कानूनबमोजिम वन तथा वातावरण मन्त्रालयले अगाडि बढाउने ।
११. अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको आयोजनामा आगामी २०८२ मङ्सिर १५ देखि १९ गतेसम्म चीनको बेइजिङमा हुने एशिया तथा प्रशान्त क्षेत्रमा राष्ट्रिय समन्वय अधिकारीहरूको बैठकमा सचिव ९विज्ञान प्रविधि० श्री विश्ववावु पुडासैनीलाई सहभागिताको लागि स्वीकृति दिने ।
१२. नेपाल सरकारका मुख्यसचिव श्री एकनारायण अर्यालले मिति २०८२/८र१० देखि अनिवार्य अवकाश प्राप्त गर्नुहुने हुँदा उहाँको अवकाश स्वीकृत गर्ने र उहाँले हालसम्म पुर्याउनुभएको योगदानको लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिने ।
१३. राष्ट्रिय योजना आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले मिति २०८२/८र१० देखि अनिवार्य अवकाश प्राप्त गर्नुहुने हुँदा उहाँको अवकाश स्वीकृत गर्ने र उहाँले हालसम्म पुर्याउनुभएको योगदानको लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिने ।
१४. नेपाल सरकारको मुख्यसचिव पदमा मिति २०८२/८र१० देखि लागु हुनेगरी रक्षा मन्त्रालयका सचिव श्री सुमनराज अर्याललाई बढुवा गर्ने ।