काठमाडाैं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको ‘अर्जुनदृष्टी’ आगामी फागुन २१ को निर्वाचनमै केन्द्रित रहेको भन्दै चुनावविरोधी अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। भैरहवामा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले चुनावबारे बोल्दा गम्भिर हुन दलहरूलाई आग्रह गरेका हुन्।
‘वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन। हामी कुनै अपेक्षाले आएका होइनौं। र हाम्रो व्यक्तिगत ईच्छाले आएका होइनौं। देशको विशिष्ट अवस्थामा, शून्यतालाई पुरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं’ उनले भने ‘हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छै । प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ। त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’ उनले भने।
जेनाजी आन्दोलनपछिको भयावह अवस्था विस्तारै शान्त भएको र देश चुनावी लयमा जान थालेको भन्दै उनले निर्वाचन सुरक्षाको निम्ति सरकार संवेदनशील भएको पनि बताए।
‘हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं। विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहिं कतै सुनिएका छन । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिईरहेको छ’ उनले भने।