सत्तारुढ एमालेको स्थायी समिति बैठक बालुवाटारमा जारी

राम्रो अनलाइन     ३० वैशाख २०७८, बिहिबार
सत्तारुढ एमालेको स्थायी समिति बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ एमालेको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा सत्तारुढ एमालेले स्थायी समिति बैठक बोलाएको हो । 

एमाले अध्यक्ष एंव काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनको बहुमत पुर्याउन नदिन स्थायी समिति बैठकमा छलफल गरिरहेको नेताहरूले बताएका छन् ।

विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने भनिरहेका बेला ओलीले स्थायी समिति बैठक डाकेका हुन्।

यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएका पछि उनी स्वतः पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन आज साँझ ९ बजेसम्मको समय दिएकी थिइन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज साँझ ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपति समक्ष पेस गर्न नसके संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।  

प्रतिक्रिया