खाँ पिहाँवइगु जात्रा सम्पन्न

राम्रो अनलाइन     १७ असोज २०८२, शुक्रबार
खाँ पिहाँवइगु जात्रा सम्पन्न

भक्तपुर–दसैँको एघारौँ दिन आज पापाङकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । 

तत्कालीन राजदरबारका रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको हो । 

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा युद्ध गरे जस्तै गरी तत्कालीन युद्धकला प्रदर्शन गरेका छन् । लायकु दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल) का रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल) का रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।

जात्रामा दसैँको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता तथा दरबारको राजदण्डसमेत लिएर नगर परिक्रमा गराइएको छ । विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहने गर्दछन् । 

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोलाई समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारीमा भूइँफर्सी (कुभिन्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेकाले कुभिन्डो लिनेको भीड लाग्ने गर्दछ ।

जात्राको अन्तिममा भूइँफर्सी मार हान्ने भएकाले यसलाई भूइँफर्सी पालेगु जात्रा पनि भन्ने गरिएको स्थानीय अर्जुन श्रेष्ठले जानकारी दिए। जात्रा अवलोकनका लागि स्थानीयदेखि विभिन्न ठाउँबाट आएकाहरुको ठूलो भीड लागेको थियो ।

प्रतिक्रिया