पत्रकार रिमालको कविता सङ्ग्रह ‘हिमाल त कालै भएछ’ विमोचन

राम्रो अनलाइन     ३० जेठ २०८२, शुक्रबार
पत्रकार रिमालको कविता सङ्ग्रह ‘हिमाल त कालै भएछ’ विमोचन

काठमाडौँ–साहित्यकार तथा पत्रकार श्याम रिमालको कविता सङ्ग्रह ‘हिमाल त कालै भएछ’ विमोचन गरिएको छ ।

नेपाली नाटकका प्रणेता गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीको अवसरमा कवि रिमालसहित साहित्यकार तथा पत्रकार गान्धीराज काफ्ले, नियात्राकार विष्णुप्रसाद शर्मा पराजुली, पूर्वप्रशासक तथा साहित्यकार हरिप्रसाद रिमाल, मदनप्रसाद रिमाल र स्कन्दा रिमालले पुस्तक लोकार्पण गरेका हुन्।

साहित्यकार तथा पत्रकार गान्धीराज काफ्लेले कविता सङ्ग्रह पठनीय र माननीय भएको बताउँदै विविध विषयमा छोटा तर चोटिला कविताहरु लेखिएको बताए। नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले कविता सङ्ग्रहमा जलवायु परिवर्तनले मानव, जीवजन्तुमा पारेको असरलगायत राजनीतिक आक्रोश, व्यङ्ग्यलगायतका विषय समेटिएको बताए।

प्रकाशक शुभम अधिकारीले कविता सङ्ग्रहले राजनीति, युद्धदेखि जलवायु परिर्वतन, प्रदूषणसम्मका विषयवस्तु बोकेको बताउँदै विविध विषयमा लेखिएका कवितालाई सङ्ग्रहित गर्ने उद्देश्यले प्रकाशन गरिएको बताए। सङ्ग्रहमा ‘बिहे’, ‘म पनि पत्रकार हुँ’, ‘जाडोको वर्ग’, ‘हिमाल त कालै भएछ’ लगायत २९ वटा कविता छन् ।

रिमालका यसअघि एउटा काँढा बिझ्दा (गीत सङ्ग्रह), त्रिशूलीको किनाराबाट (कविता सङ्ग्रह), बारपाक (कविता सङ्ग्रह), नदी बग्दैन (कविता सङ्ग्रह), चमेरो : कोरोना कविता गरी पाँच वटा पुस्तक प्रकाशित भइसकेका छन् । 

प्रतिक्रिया