हिमाल सागर र अन्नु चौधरीको स्वर रहेको ‘ए हो र माया’ गीतबाट मोडलिङमा उदाएकी सनिशा भट्टराईले छोटो समयमै अलग्गै पहिचान बनाइन्। उनले मोडलिङ गरेका ‘तिमीलाई हेर्ने बानी पर्यो’ ‘साइँली’, ‘ए आमा जाम भन्यो मलाई’, लगायत थुप्रै म्युजिक भिडिओ रूचाइए। म्युजिक भिडिओ खेल्न थालेको एक वर्ष पनि पूरा भएको थिएन, उनलाई फिल्म खेल्ने प्रस्ताव आयो। त्यो पनि एक्सन अभिनेता विराज भट्टबाट। फिल्म थियो ‘१२ गाउँ’। ‘१२ गाउँ’ आक्रामक कमाइ गर्दै सुपरहिट भयो।

१२ गाउँको केही समयमै उनले अर्को फिल्म ‘नरसिंहा अवतार’ मा काम गर्ने अवसर पाइन्। यो फिल्ममा सनिशाले राजेश हमाल, सरोज खनाल लगायत अग्रज कलाकारहरूसँग अभिनय गरेकी छन्। यो राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्मसमेत हो। कलाकारितामा आउनुमा परिवारको ठूलो साथ र भूमिका रहेको सनिशा बताउँछिन्।

आमाबुबाले उनलाई सानैदेखि फिल्म हेराउन लिएर जान्थे। छोरी कलाकारिता क्षेत्रमा लागोस् भन्ने उनीहरूको चाहना थियो। ‘त्यसैले मलाई तिमी अभिनय गर भन्दै एकदमै प्रेरित गर्नुहुन्छ। उहाँहरूको हौसलाले नै म यहाँसम्म आएँ जस्तो लाग्छ,’ उनले भनिन्।

अहिले सनिशालाई विभिन्न फिल्मबाट प्रस्ताव आइरहेका छन्। थुप्रै फिल्मको स्क्रिप्ट पढेकी पनि छिन्। अब, अभिनय प्रशिक्षण लिएर अगाडि बढ्ने उनको योजना छ। कला क्षेत्रमा करिअर अगाडि बढाइरहँदा उनले दुइटा परिचय बोकेकी छन्, मोडल र अभिनेत्री। जे भए पनि उनलाई राम्रो कलाकार भनेर चिनिन मन छ।

‘आगामी कामहरू अझै राम्रो गर्न पाउँ भन्ने छ,’ सनिशा भन्छिन्, ‘अभिनयमा योजनाबिनै आएँ। अब यही क्षेत्रमा केही गरौं भन्ने छ। अहिलेका लागि सबभन्दा ठूलो लक्ष्य भनेकै राम्रो कलाकार बनौं भन्ने हो। त्यसका लागि मेहनत गर्दैछु।’












