काठमाडौं–नेपाली अभिनेत्री तथा मोडल उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा जुटेकी छन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिकामा अध्ययनसँगै अभिनय, निर्देशन र सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै विश्व कीर्तिमानतर्फ अग्रसर भएकी हुन् ।
हाल अमेरिकाको गोशेन कलेजमा फिल्म र थियटर विषयमा अध्ययनरत उरुषाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै ‘डिन्स लिस्ट’मा स्थान बनाएकी छन् । उनले ४.० जीपीए कायम राख्दै अध्ययन र कला दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताइएको छ ।
नेपालबाट म्युजिक भिडियोमार्फत आफ्नो करियर सुरु गरेकी उरुषाले पछि मुम्बई पुगेर बलिउड मोडलिङ र विज्ञापन क्षेत्रमा काम गरेकी थिइन् । उनी नेपाल र भारतका विभिन्न चर्चित म्यागजिनहरूको आवरणमा समेत प्रकाशित भइसकेकी छन् । नेपालमा कान्तिपुरको ‘साप्ताहिक’ र नागरिकको ‘शुक्रवार’ मा स्थान बनाएकी उरुषा भारतका वुमन्स इरा, द निच, स्पटलस फेसन, डिजायर न्युज र दृष्टि प्रभा म्यागजिन जस्ता प्रकाशनहरूमा पनि प्रस्तुत भइसकेकी छन् ।
अमेरिकामा पनि उरुषाले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइरहेकी छन् । अर्कान्सास स्टेट युनिभर्सिटीमा अध्ययनका क्रममा उनले ‘ग्राउन्डेड’ नामक ९० मिनेट लामो एकल नाटकमा अभिनय गरेर प्रशंसा बटुलेकी थिइन् । ‘एस्टेट’ नाटकमा उनले ‘जुलिया’ पात्र निर्वाह गरेकी थिइन् ।
त्यसैगरी, विलियम सेक्सपियरको चर्चित नाटक ‘रोमियो एन्ड जुलियट’ मा ‘जुलियट’ को भूमिकाका लागि ५० प्रतिस्पर्धी अभिनेत्रीमध्येबाट छनोट हुन सफल भएकी थिइन् । हाल उनी गोशेन कलेजमै ‘पुअर क्लेयर’ नाटकमा ‘ओर्टोलाना’ पात्रको तयारीमा रहेको जनाइएको छ ।
उरुषा अभिनयमा मात्र सीमित छैनन् । उनले लेखन, निर्देशन र निर्माण क्षेत्रमा पनि सक्रियता बढाइरहेकी छन् । उनका ‘टु फेस्ड’, ‘प्राइस अफ सोलिच्युड’, ‘हू इज सी रु’ र ‘वेलकम होम’ जस्ता परियोजनाहरू चर्चामा छन् । ‘इरेज्ड स् द फाइनल ड्राफ्ट’ नामक नयाँ प्रोजेक्ट सन् २०२६ मा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
उरुषा पात्रमा जिवन्त देखिने कलाकार हुन् । उनका हरेक तस्बिरले छुट्टै पात्र र कथा प्रस्तुत गरिरहेको हुन्छ । एउटा कलाकारमा हुनुपर्ने दक्षताले भरिपूर्ण उरुषा निकै बोल्ड र ब्युटीफूल देखिन्छिन् ।
