अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अमेरिकाबाट नेपाल आएसँगै दुइटा फिल्ममा अभिनय गरिसकेकी छिन्। अमेरिकामा पढेर उतै जागिर गरिरहेकी उनी अभिनेत्री बन्नकै लागि जागिर छाडेर गत वर्ष चैतमा मात्रै नेपाल आएकी थिइन्। उनको पहिलो फिल्म ‘एक्टर’ माघ १६ गते रिलिज भएको थियो भने दोस्रो फिल्म ‘पिताम्बर’ नयाँ वर्षको अवसर पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आएको थियो। अहिलेसम्म उनको चर्चा खासगरी दीलिप रायमाझीकी छोरी भनेर भइरहेको छ। अब दिव्याका लागि मुख्य चुनौती आफ्नै पहिचान बनाउनु हो। ‘स्टार किडस् भएपछि छिर्न पक्कै पनि सजिलो हुन्छ। तर आएपछि आफूलाई प्रमाणित गर्न त्योभन्दा डबल गाह्रो हुँदोरहेछ। धेरै कम्पेरिजन्स हुँदोरहेछ। सोहीकारण सय प्रतिशत मात्र होइन्। दुई सय प्रतिशत मेहनत दिनुपर्ने हुन्छ।’ दिव्या भन्छिन् ।
















