काठमाडौँ–नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ ।
काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहकाबीच उनलाई रू एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको थियो ।
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित पुरस्कार प्रदान गरे।
विसं २००० मा वीरगञ्जमा जन्मनुभएका डा गौतमले भारतको पूणे विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरेका छन् । विसं २०२४ बाट उपन्यास लेख्न थालेका उनका २९ वटा उपन्यास प्रकाशित छन् । आधा दर्जन कथा सङ्ग्रह र एक दर्जन नाटक लेखेका डा गौतमका ४५ कृति प्रकाशित भएका कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा मन्त्री पाण्डेले मुलुकमा पछिल्लो समय आशाभन्दा निराशा बढिरहेको उल्लेख गर्दै आशाको सञ्चार गर्न सबै लाग्नुपर्ने धारणा राखे । उनले विगतमा भन्दा धेरै कुराहरू परिवर्तन हुँदै आए पनि सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्नुपर्नेमा जोड दिए।
पुरस्कृत व्यक्तित्व डा गौतमले साहित्यले सम्मानका लागि आभार व्यक्त गरे । उनले लोकतन्त्रलाई बलियो बनाउने साहित्यको महत्वपूर्ण भूमिका रहेको र यसलाई थप सशक्त बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा विभिन्न व्यक्तिलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो । यसरी सम्मान पाउनेमा डा गौतमसहित बैरागी काइँला, राजनीतिज्ञ नरहरि आचार्य, डा बेञ्जु शर्मा, डा तुलसी भट्टराई, प्राडा हेमाङ्गराज अधिकारी, साहित्यकार हरि अधिकारी, सनद रेग्मी, पूर्वमन्त्री भक्तबहादुर बलायर रहेका छन् ।
यस्तै, डा गोविन्दराज भट्टराई, डा व्रतराज आचार्य, रामानन्द आचार्य, गायत्री श्रेष्ठ, ज्ञानुवाकर पौडेललगायत ३२ जनालाई उक्त सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली लेखक सङ्घकी उपाध्यक्ष बिमला तुम्खेवा, साहित्यकार डा रत्नमणि नेपाल, अनुपमा रेग्मीलगायतले सम्बोधन गरेका थिए।