सांस्कृतिक विविधता र आधुनिकताको समिश्रणमा फेसनमय अनुकल्पित प्रभानम् सम्पन्न

जयन सुब्बा मानन्धर     २१ चैत २०८१, बिहिबार

ललितपुर–अनुकल्पित प्रभानम् शीर्षकमा नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएसन फेसन शो, एउटा अत्यन्तै सृजनात्मक र सम्झिन लायकको कार्यक्रमको रूपमा सम्पन्न भयो । ललितपुरको झम्सीखेल स्थित द प्लाजा नेपालमा आयोजित यो कार्यक्रम केवल एउटा फेसन शोकोरुपमा मात्र देखिएन, यो कार्यक्रम मौलिक परम्परा र आधुनिकताको समागम, सांस्कृतिक धरोहर र नवाचारको संगमका रुपमा अनुभव गर्न पाइयो । यस कार्यक्रममा ८८ जना स्नातक विद्यार्थीहरूको विभिन्न डिजाइन संग्रहहरूको प्रस्तुतिको माध्यमबाट, नेपाली फसनको उज्ज्वल भविष्य र संभावनाको एक झलक देख्न पाइयो ।

शोमा नौ वटा प्रमुख संग्रहहरू प्रस्तुत गरिए, जसले प्रत्येक डिजाइनरको व्यक्तिगत दृष्टिकोण, सृजनात्मकता र सांस्कृतिक जडत्वलाई प्रतिनिधित्व गरेको थियो । यी संग्रहहरू न केवल डिजाइन र फेसनको दृष्टिकोणबाट, तर तिनका विषयवस्तु र समकालीनता दुबैका हिसाबले अतुलनीय थिए। यी संग्रहहरूले नेपाली परम्परागत कला र सांस्कृतिक मूल्यहरूलाई आधुनिक फेसनको चश्माबाट पुनः व्याख्या गर्‍यो, जसले दर्शकमा गहिरो प्रभाव पार्यो। कार्यक्रमको प्रत्येक चरणले डिजाइनरहरूको कला र विचारहरूको गहिराईलाई दर्शायो। यी युवा डिजाइनरहरूले केवल परिधान तयार गरेनन्, बरु तिनीहरूले आफ्नो सांस्कृतिक जडताल र जीवनदृष्टिको परिकल्पनालाई आफ्नो कपडाहरूमा उकेरेका थिए । पुराना र आधुनिक सिल्हुटहरूको मिश्रण, लोक कला र आधुनिक डिजाइनका अचम्मका तालमेलहरूले कार्यक्रमलाई सृजनात्मकताको शिखरमा पुर्‍याएको पाइयो । संग्रहहरूले दर्शकलाई केवल फेसनका नयाँ ट्रेण्डहरूको बारेमा जानकारी मात्रै दिएनन्, तिनीहरूले सांस्कृतिक धरोहर र त्यसको महत्वको प्रति पनि गहिरो सोच उत्पन्न गराए।

अनुकल्पित प्रभानम् को मुख्य आकर्षण भनेको प्रत्येक संग्रहको क्रिएटिभ पहिरन अर्थात् ‘मास्टरपिस’ थियो। यी मास्टरपिसहरू प्रत्येक विद्यार्थी डिजाइनरको कडा परिश्रम र सिर्जनात्मक विचारको परिपूर्णता थिए, जसले डिजाइनरको विचार र सांस्कृतिक संवेदनशीलतालाई एक अद्वितीय र अनुपम रुपमा प्रस्तुत गरेको देख्न पाइयो । यी मास्टरपिसहरू कुनै साधारण कपडा थिएनन्, बरु तिनीहरू एक कथा र भावनाको प्रतीक थिए। ती कपडाहरूले नेपाली संस्कृति, परम्परा, र जीवनका महत्वपूर्ण आयामलाई आफ्नो रूप र रंगद्वारा प्रस्तुत गरेका थिए।

नमूना कलेजका संस्थापक प्रिन्सिपल श्रीमती ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगै प्रारम्भ भएको अनुकल्पित प्रभानम् शीर्षको उक्त फेसन कार्यक्रम ३६ जना मोडलहरुको मनमोहक प्रस्तुतिमा सम्पन्न भएको थियो । उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १९औं ब्याचका ८८ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अभिभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् । कार्यक्रम संयोजन १९औं ब्याचका प्रिशा जोशी, अनिमा श्रेष्ठ, सनिशा बलामी, प्रियांशी खेतान, भरोसा गौतम तथा निशान्त चापागाईंले गरेका थिए ।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित फेसन क्याटलग चौथौं संस्करणलाई विमोचन गरिएको थियो । जसलाई पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेल, व्यवस्थापन संकायका डीन डा सन्देश दास श्रेष्ठ, परिक्षा नियन्त्रक बलेन्डु हमाल तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो । 

कार्यक्रममा सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा अनुकल्पित प्रभानम् शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । उक्त परिक्षा रुपी फेसन शोमा फेसनमा सिटिइभिटिका पूर्व उपाध्यक्ष डा कुल बहादुर बस्नेत, पद्म कन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रोफेसर डा जया प्रधान अध्यापकद्वय राजेन्द« सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय राजेश धाख्वा र अनु श्रेष्ठ, एनसिएफटी आल्मुनाईका कार्यवाहक अध्यक्ष लिना महर्जन, मिस विभा २०२४ प्रेमा लाम्गाडे तथा मिस नेवाः नेपाल ११४५ प्रलिशा शाक्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमका प्रत्येक पक्षले डिजाइनरहरूको सृजनात्मकताको स्तर र संस्कृतिको सम्मानलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको थियो। यी युवा डिजाइनरहरूले परम्परागत सांस्कृतिक धरोहरलाई आधुनिक दृष्टिकोणमा पुनः व्याख्या गरेका थिए, जसले दर्शकलाई मन्त्रमुग्ध बनाएको अनुभव हुन्थ्यो र फेसनलाई एक सशक्त सांस्कृतिक अभिव्यक्ति र कथा सुनाउने माध्यमको रूपमा स्थापित गर्यो।

प्रतिक्रिया