हलिउड स्टार डेमी लोभाटो प्रबल गुरुङको डिजाइनमा   

राम्रो अनलाइन     २६ वैशाख २०८१, बुधबार
हलिउड स्टार डेमी लोभाटो प्रबल गुरुङको डिजाइनमा   


काठमाडौं– विश्वचर्चित गायिका तथा अभिनेत्री डेमी लोभाटोले नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको पहिरनमा मेटगाला २०२४ मा प्रस्तुति दिएकी छन् ।

‘एनिवन’ गायिकाले गुरुङले डिजाइन गरेको सेतो स्ट्रापलेस गाउन लगाएकी थिइन् । यो गाउनमा हातले काटेर टाँसिएका ५०० वटा माइलर फूल पनि समावेश थिए । उक्त डिजाइनलाई ओपेरा ग्लोभसँग मिल्दोजुल्दो रुप दिइएको थियो ।

यस वर्ष मेटगालाको ‘गार्डेन अफ टाइम’को ड्रेस कोड गुरुङको भिजन रहेको बताइन् । ‘जब म बगैंचाको बारेमा सोच्छु, मलाई विकास, पुनर्जन्म र कसरी फुल्नेबारे याद आउँछ । जुन कुरा हामी मानिसको रूपमा समयसँगै गर्छौं,’ लोभाटोले भोग म्यागजिनसँग भनिन् ।

‘मैले मेरो करियरमा धेरै युग बिताएकी छु । पहिलो मेटगालादेखि ममा यतिबेला धेरै परिवर्तन आएको महसुस भएको छ । त्यसैले यस वर्ष मेटगालामा उपस्थित हुन उत्सकु थिएँ,’ उनले भनिन् ।

फेसनमार्फत कथा भन्ने प्रबल गुरुङको शैलीसँग गायिका लोभाटो आकर्षित भएको भोगले उल्लेख गरेको छ । लोभाटोले म्यागजिनसँग भनिन्, ‘प्रबलको डिजाइनमा सधैं एउटा कथा र कारण हुन्छ । मेरो लुकमा उनले त्यो सिर्जना गरेका छन् । जबकि मैले उनलाई यस वर्षको सुरुमा मात्र भेटेको थिएँ । हामी पुराना साथीजस्तै टेक्स्ट गर्छौं । उनको रचनात्मक प्रक्रियाको हिस्सा हुन पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु ।’

सन् २०१६ को मेटगालामा लोभाटोले जेरेमी स्कटको पहिरन लगाएकी थिइन् । दशकपछि लोभाटो मेटगालामा फर्किएकी हुन् । यस वर्षको मेटगालामा भ्यानिटी फेयर म्यागजिनकी प्रधान सम्पादक राधिका जोन्स लगायत सुपरमोडलले पनि प्रबलको डिजाइनमा प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया