काठमाडौं । गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली 'ए.....मान्छे' सार्वजनिक गरेका छन् । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन् ।
चर्चित लेखक आहुतिको शब्द रहेको 'ए...मान्छे' २१ ओँ शताब्दीमा मान्छेले ब्यहोर्नु परिरहेको विभेदविरुद्धको रचनात्मक आवाज रहेको गायक सागरले बताए । मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो राज सागरकै संगीतमा तयार कोशेली हो ।
अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन् ।
संजीब बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।