संसारमा भएका विचित्र सत्य

राम्रो अनलाइन     २० फागुन २०७७, बिहिबार
संसारमा भएका विचित्र सत्य

–सन् २००७ को जुलाई २६ मा अमेरिकी राज्य न्युजर्सीको बेर्गेन जिल्लामा अनौठो चोरी भएको थियो। डेजी भाल्दिभियाको घरको पौडी पोखरी चोरी भएको थियो। करेसामा रहेको एक मिटर गहिरो र १० मिटर फराकिलो पौडी पोखरीमा भएको करिब चार हजार लिटर पानी चोरी भएको थियो। 

–फ्रान्सको राजधानी पेरिसमा छ, आइफेल टावर। फलामको यो विशाल संरचना हेर्न बर्सेनि लाखौँ पर्यटक पेरिस पुग्ने गरेका छन्। सन् १८८७ मा यो टावर बनाउन सुरु गरिएको थियो। दुई वर्ष लागेर निर्माण सम्पन्न भएको टावरको नमुना इन्जिनियर गुस्ताभ आइफेलले तयार गरेका थिए।

खासमा उनी यो टावर स्पेनको शहर बार्सिलोनामा बनाउन चाहन्थे। तर, बार्सिलोना नगरका अधिकारीहरूले यसको डिजाइन मन पराएनन्। टावरले शहरको सौन्दर्य नष्ट गर्ने उनीहरूको मत थियो। त्यसपछि पेरिसमा टावर बनाइएको थियो। सुरुमा पेरिसवासीले यसलाई मन पराएका थिएनन्। उनीहरू यसलाई भद्दा फलामको ढिस्को भन्थे। आइफल स्वयंले यसलाई बेच्न चाहेका थिए।

तर, फ्रेन्च सेनाले यसलाई उपयोगी ठान्यो। सञ्चार टावरका रूपमा ९ सय ८४ फिट अग्लो यो संरचनालाई प्रयोग गर्न सकिन्थ्यो। सबैले नराम्रो भनेको आइफेल टावर अहिले संसारका उत्कृष्ट मानवनिर्मित संरचनामध्ये एक भएको छ। 

–अमेरिकाका अठारौँ राष्ट्रपति युलिसिस एस ग्रान्ट पदमा रहँदा गिरफ्तार पर्ने एक मात्र अमेरिकी राष्ट्रपति हुन्। उनलाई विलियम हेनरी वेस्ट नामक प्रहरी अधिकृतले गिरफ्तार गरेका थिए। यस घटनाका अनेक कथा बनेका छन्। प्रचलित वृत्तान्तअनुसार अधिकृत वेस्ट सन् १८७२ को कुनै दिन वासिङ्टन डीसीको एम स्ट्रिट्समा गस्ती गरिरहेका थिए। ग्रान्ट गतिसीमा उल्लंघन गरेर आफ्नो बग्गीमा हुइँकिएको उनले देखे।

उनले राष्ट्रपतिलाई आइन्दा बग्गीको गति सुस्त पार्न चेतावनी दिए। भोलिपल्ट पनि राष्ट्रपतिको बग्गी बेतोडमा कुदेको देखेपछि वेस्टले उनलाई गिरफ्तार गरे। कहावतअनुसार उनले त्यतिबेला भनेका थिए, ‘माफ गर्नुहोला, राष्ट्रपति महोदय, म बाध्य छु। तपाईं राष्ट्रप्रमुख हुनुहुन्छ।

म अदना प्रहरी हुँ। तर, कर्तव्य भनेको कर्तव्य हो। मैले तपाईंलाई गिरफ्तार गर्नैपर्छ।’ ग्रान्टलाई नजिकको प्रहरी चौकीमा लगियो। उनलाई २० डलर जरिवाना तिराइयो र छोडियो। 

प्रतिक्रिया