–डेनमार्कका प्रसिद्ध खगोलविद्, रसायनशास्त्री तथा लेखक टाइको ब्राही (सन् १५४६–१६०१) अलिक सन्काहा स्वभावका थिए। उनले २० वर्षको उमेरमा आफ्नो नाक गुमाएका थिए। कुलीन नेता मान्डेरप पार्सबर्गसँग झगडा हुँदा उनले नाक गुमाएका थिए।
झगडाको कारण थियो– गणितीय सूत्र। आफ्नो सूत्र गतिलो र राम्रो भएको दाबी ब्राहीको थियो। यसै क्रममा उनीहरूको हात हालाहाल भएको थियो। ब्राहीले त्यसपछि जिन्दगीभर कृत्रिम नाक लगाएका थिए।
–हवाईजहाजका आविष्कारक विल्बर र ओर्भिल राइट दाजुभाइ हुन्। सन् १८७१ मा जन्मेका ओर्भिलको देहान्त सन् १९४८ मा भएको थियो। दोस्रो विश्वयुद्धमा जापानी शहर हिरोशिमा र नागासाकी ध्वस्त भएपछि ओर्भिल साह्रै दुःखी भएका थिए। आफूहरूले आविष्कार गरेको चिज बम खसालेर विध्वंस मच्चाउन प्रयोग भएकोमा उनी बेचैन थिए।
बमवर्षक विमानहरूले मच्चाएको मृत्युको ताण्डवबारे उनले एक पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘हामी दाजुभाइले हवाईजहाज आविष्कार गरेपछि धर्तीमा शान्ति छाउने आशा गरेका थियौँ। तर, हामी गलत थियौँ। मलाई हवाईजहाज आविष्कार गरेकोमा कुनै पछुतो छैन। तर, यसले मच्चाएको विध्वंसको मैले जति भत्र्सना अरू कसैले गर्न सक्दैन।’
–दुई कोरियाबीच सन् १९५० मा युद्ध सुरु भएको थियो। अमेरिकाले दक्षिण कोरिया र सोभियत संघले उत्तर कोरियालाई समर्थन गरेका युद्ध तीन वर्षसम्म चलेको थियो। यसै क्रममा एउटा रोचक घटना भएको थियो। अमेरिकी नौसेना दुई कोरियाको बीचमा पर्ने तेइबेइक हिमाली क्षेत्रमा युद्ध गरिरहेको थियो। उनीहरूलाई विष्फोटक पदार्थको अभाव भइरहेको थियो।
वायरलेसबाट उनीहरूले हिमाल पारि रहेको अमेरिकी सेनाको टुकडीसँग मोर्टार राउन्डका लागि सहायता मागे। त्यसको सांकेतिक नाम थियो, ‘टुट्सी रोल्स’। टुट्सी रोल्स भनेको एक प्रकारको चकलेट हो। पछि हवाईजहाजबाट उनीहरूले माग गरेको चिज आइपुग्यो। विष्फोटक पदार्थसँगै टन्नै चकलेट पनि उनीहरूलाई प्राप्त भएको थियो।