काठमाडाैं – बाढीले क्षति गरेको १० दिनपछि सिन्धुलीमा संघीय सरकार ३ मन्त्री जानकारी लिन पुगेका छन्। मंगलबार गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई सिन्धुलीको खुर्कोट पुगेका हुन्।
उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे। रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ। उनीहरूले सो कामको निरीक्षण पनि गरे।
बाढी प्रभावित क्षेत्रमा पुगेका मन्त्रीसहितको टोलीलाई स्थानीयले स्वागतसमेत गरेका छन्। यस क्षेत्रमा असोज ११ गते र १२ गते आएको भारी वर्षाले ठुलो क्षति गरेको छ।