रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

राम्रो अनलाइन     २५ जेठ २०८३, सोमबार
रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

कैलाली–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनबाट ठकुल्ला तीन सय ३५ मतसहित निर्वाचित भएका हुन् । सभापतिका उम्मेदवार महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरे। 

उपसभापतिमा रामलखन चौधरी विजयी हुनुभएको छ । पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै चौधरी एक सय ५२ मतसहित विजयी भएका हुन्। 

सचिवमा मदनराज जोशी,  र सहसचिवमा गणेशबहादुर शाही विजयी भएको निर्वाचन समितिले जनाएको छ । 

समितिको सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जङ्गबहादुर आलेमगर, दीपक विक, नरदीपबहादुर धामी विजयी भएका छन्। यस्तै, निर्वाचन क्षेत्र नं १ बाट टङ्कप्रसाद जैशी ढुङ्गाना, क्षेत्र नं २ कृष्णबहादुर विष्ट, क्षेत्र नं ३ वासुदेव घरेडी र क्षेत्र नं ४ बाट दुर्गा अधिकारी निर्वाचित भएका छन्। पाँच सय आठ मतदाता रहेकामा तीन सय ३५ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । 
   
बझाङमा उपाध्याय

रास्वपा बझाङको प्रथम अधिवेशनले सत्यराज उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले उपाध्यायको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापति र सचिवबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । समितिको उपसभापतिमा अरूण कुमार रोकाया र राम बहादुर देवारबीच प्रतिष्पर्धा भएको थियो । रोकायाले ८४ र देवारले ९९ मत प्राप्त गरे। 

यस्तै, सचिवमा अशोक मल्ल एक सय १६ मतसहित विजयी हुँदा  प्रतिस्पर्धी रामचन्द्र जोशीले ६६ मत प्राप्त गरे।

सहसचिवमा मुकेशकुमार ऐडी र कोषाध्यक्षमा अनिता भाट जप्रेल चयन भएका छन्। सदस्यमा पुष्पराज रोकाया (अक्षर खेती), गङ्गादत्त जोशी, रूद्रासिंह मल्ल, ज्ञानबहादुर सिंह, कमल साउद, मनिराम उपाध्याय र रामबहादुर थापा चयन भएका छन्।

प्रतिक्रिया