सफल सम्भोग हेतु उत्तेजनाका कारण लिंगको नसाहरूमा तन्काइ भई लिंग निश्चित सीमासम्म कडा हुनु जरुरी हुन्छ । नत्र लिंगलाई योनिमा प्रवेश गराउन समस्या हुन्छ । पुरुषको यस्तो यौन समस्यालाई लिंग उत्तेजनाको समस्या (इरेक्टाइल डिस्फंक्सन) भनिन्छ । यस्तो समस्यामा अनेक पटक सम्भोगका लागि व्यक्तिको लिंग तयार हुन्छ, तर सम्भोगपूर्व वा सम्भोग प्रारम्भ गर्नासाथ लिंगको कडापन समाप्त हुन पुग्छ । परिणामस्वरूप सम्भोग क्रियामा कठिनाइ पैदा हुन्छ । यस्तो यौन विकारबाट ग्रस्त व्यक्ति उदास र निराश हुन्छ । उसले पत्नी वा गर्लफ्रेन्डका सामुन्ने हीनताबोध गर्छ ।
यो यौन समस्याबाट निकैै पुरुष पीडित छन् । १५ देखि २० प्रतिशत पुरुष यो समस्याबाट पीडित भएको एक अध्ययनले देखाएको छ । उमेर ढल्कँदै गएको खण्डमा यो समस्या अझ बढ्ने सम्भावना हुन्छ । यो समस्याको समयमै उचित समाधान खोजिएन भने यसले थुप्रै किसिमका मनोविकार पैदा गर्न सक्छ । प्रायः यस समस्याबाट पीडित व्यक्ति डिप्रेसनबाट ग्रस्त भएको देखिन्छ ।
यो समस्यालाई पहिला नपुंसकता भनिन्थ्यो । पतिमा यो समस्या भएको खण्डमा पत्नी पनि ज्यादै चिन्तित, असन्तुष्ट र दुःखी हुन्छन् । यो विकार विभिन्न रूपमा देखापर्न सक्छ । जस्तैः लिंग कहिल्यै पनि नउठ्नु, व्यक्तिले लिंग उठेको कहिल्यै महसुस नगर्नु । पहिला–पहिला लिंगको कडापन ठीकठाक रहनु, तर बिस्तारै–बिस्तारै वा अचानक लिंगको उत्तेजनामा समस्या देखापर्नु । लिंग उत्तेजित हुनु तर लिंगलाई योनिमा प्रवेश गराउनुपूर्व वा गराउनेबित्तिकै लिंग नरम हुनु । एक अध्ययनअनुसार ४० देखि ७० वर्ष उमेरका ५० प्रतिशत पुरुष लिंग उत्तेजनासम्बन्धी समस्याले ग्रस्त छन् । तीमध्ये १० प्रतिशत पुरुषको लिंग बिलकुल उत्तेजित हुँदैन ।
समस्याको कारण
उत्तेजना समस्याका प्रमुख दुई कारण छन्, शारीरिक र मनोवैज्ञानिक ।
शारीरिक रोग लिंग उत्तेजना कम हुने समस्या र नपुंसकताको कारण बन्न सक्छ । मधुमेह, ढाड र मेरुदण्डका रोगले पनि यो समस्या उत्पन्न गर्न सक्छ । यसै गरी औषधिहरूको सेवनका कारण पनि यो समस्या देखापर्छ । एन्टिडिप्रेसेन्ट प्रयोग गर्ने ९० प्रतिशत मानिसमा लिंग उत्तेजनाको समस्या देखापर्छ ।
यो समस्याको प्रमुख कारण मनोवैज्ञानिक नै हो । त्यसबाहेक पत्नी आकर्षक नलाग्नु, पत्नीको व्यवहार ठीक नहुनु, पत्नी यौन क्रियाप्रति व्यावहारिक नहुनु, अस्वस्थ भइरहनु, यौन सम्बन्ध स्थापित गर्दा अरूले देख्ने, समातिने र दण्डित हुने डर र चिन्ता, विफलताको भावना, दोषपूर्ण यौन व्यवहार, अन्तद्र्वन्द्व, कुण्ठा र अपमानको भावना, पति–पत्नीबीच झैझगडा आदिले गर्दा पनि लिंग उत्तेजनामा समस्या देखापर्न सक्छ ।
समाधान
सबैभन्दा पहिले लिंग उत्तेजनाको समस्याको कारण मनोवैज्ञानिक हो कि शारीरिक, त्यो पहिचान गर्नुपर्छ । यस्तो पहिचानका लागि चिकित्सकको सहयोग आवश्यक हुन्छ । यस्तो स्थितिमा समस्याको सही डायग्नोसिसका लागि विशेष जाँच गर्न आवश्यक हुन्छ । तर, नपुंसकताको शिकार भएका व्यक्तिको लिंग यदि सुतेको बेलामा, सपनामा वा अन्य कुनै बेला पूरा तनावमा आउँछ भने समस्या मनोवैज्ञानिक मान्नुपर्छ । यदि उत्तेजना बिस्तारै–बिस्तारै कम हुँदै गएको छ भने यो समस्याको कारण शारीरिक हुन सक्छ ।
मनोवैज्ञानिक कारणबाट पैदा भएको यस्तो यौन समस्याको उपचारका लागि मनोवैज्ञानिक विधि उचित हुन्छन् । जस्तैः यौन शिक्षा, मानसिक उपचार, दाम्पत्य चिकित्सा, व्यवहार चिकित्सा आदि । त्यसो त मनोवैज्ञानिक कारणबाट पैदा भएको नपुंसकताका लागि पनि औषधि र भ्याक्युम पम्प आदि प्रयोग गर्न सकिन्छ ।
शारीरिक कारणबाट पैदा भएको नपुंसकताको उपचारका लागि पहिले शारीरिक रोगको पहिचान गर्नुपर्छ । रोगको निदान भएपछि नपुंसकता आफैँ ठीक हुन सक्छ । तर, कतिपय अवस्थामा रोग ठीक भएपछि पनि नपुंसकताको समस्या रहिरहने हुँदा यस्तो अवस्थामा मनोवैज्ञानिक विधि अपनाउन सकिन्छ ।यस समस्यामा प्रयोग गरिने औषधिको साइड इफेक्ट हुने गर्छ र सबैका लागि उपयुक्त नहुन सक्छ । यस्ता औषधि चिकित्सकको परामर्शबिना आफैँ सेवन गर्नु हुँदैन ।