भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र

राम्रो अनलाइन     ३० असार २०८३, मङ्गलबार
भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र

लमजुङ–गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको गुरुङ चलचित्र यात्रा अहिले नयाँ मोडमा आइपुगेको छ । 

कुनै समय भाषा र पहिचान जोगाउने अभियानका रूपमा विकास भएको यो क्षेत्र अहिले गुणस्तरीय निर्माण, आधुनिक प्रविधि र व्यावसायिकतामा केन्द्रित हुन थालेको छ । चलचित्र निर्माणको सङ्ख्या विगतको तुलनामा घटे पनि निर्माण भएका चलचित्रको स्तर उकास्ने प्रयास जारी छ । 

सो समुदायको बाक्लो बस्ती रहेको लमजुङसहित, कास्की, मनाङ, स्याङ्जा, तनहुँ, गोरखा र आसपासका जिल्लामा गुरुङ भाषाका चलचित्र निर्माण हुँदै आएका छन् । 

गाउँगाउँमा प्रदर्शन गरिने यस्ता चलचित्रले गुरुङ समुदायको भाषा, भेषभुषा, संस्कार, संस्कृति र जीवनशैलीलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ ।  

पछिल्लो समय दर्शकको रुचि, प्रविधिको विकास र चलचित्र बजारमा आएको परिवर्तनसँगै गुरुङ चलचित्र क्षेत्र विस्तारै व्यावसायिक यात्रातर्फ अघि बढेको छ । यस्तै, कथा, प्रविधि, छायाङ्कन, सम्पादन र कलाकारको पारिश्रमिकमा परिवर्तन देखिन थालेको छ । 

विगतमा समुदायको सेवाभावले चलचित्र निर्माण हुनेगरे पनि राम्रो कथा, दक्ष कलाकार, आधुनिक प्रविधि र गुणस्तरीय निर्माणमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

सो परिवर्तनका साक्षीमध्ये एक हुन् दक्षिण एसियाकै नमुना गाउँका रूपमा परिचित लमजुङको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँका गमन घले ।  विसं २०५७ मा मान्छेको मन चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएका उनले हालसम्म ३५ भन्दाबढी गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन्।

उनका अनुसार सुरुका दिनमा गुरुङ चलचित्रमा आर्थिक लाभभन्दा भाषा, कला र संस्कृतिप्रतिको लगाव नै ठूलो थियो । पहिलो चलचित्रमा अभिनय गर्दा उनले रु एक हजार ६०० पारिश्रमिक पाएका थिए भने एउटै चलचित्रमा अभिनय गरेबापत रु तीन लाखसम्म पारिश्रमिक पाउने अवस्था बनेको उनले जानकारी दिए। 

गुरुङ चलचित्र क्षेत्रमा विस्तारै व्यावसायिक सोचको विकास भइरहेको उनको बुझाइ छ । केही वर्षयता विदेशमा बस्दै आउनुभएका घलेले विदेशमै रहेर पनि गत वर्ष एउटा म्युजिक भिडियोमा अभिनय गरेका थिए। समय र अवसर मिले पुनःअभियनयमा सक्रिय हुने योजना उनले सुनाए।  उनका अनुसार गुरुङ चलचित्र केबल मनोरञ्जनको माध्यम मात्र नभई भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने सशक्त माध्यम पनि बनेको छ । 

चलचित्र क्षेत्रमा आएको परिवर्तन कलाकारको पारिश्रमिक, काम गर्ने शैली र चलचित्रप्रतिको दृष्टिकोणमा पनि देखिन थालेको छ । विगतमा भाषा, कला र संस्कृतिप्रतिको लगावका कारण कम वा बिनापारिश्रमिक काम गर्ने अवस्था थियो । 

अहिले कलाकारहरूले आफ्नो श्रमको उचित मूल्य खोज्न थालेका छन् ।  म्रस्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडाका विष्णु गुरुङ पनि गुरुङ चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। विसं २०६५ मा ‘मिग्ली’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका उनले ‘कर्मको बाटो’, ‘नबिर्सने माया कर्म’, ‘मनको मान्छे’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन्। हाल प्रदर्शन भइरहेको गुरुङ चलचित्र ‘मुख्या’मा अभिनय गरेका उनले अहिले सामान्यतया रु एक लाख ५० हजारभन्दा बढी पारिश्रमिक लिने गरेको सुनाए। 

आगामी असोजदेखि ‘मुख्या–२’ को छायाङ्कन सुरु हुने तयारीमा रहेको र त्यसमा थप पारिश्रमिक पाउने अपेक्षा रहेको उनको भनाइ छ ।

दोर्दी गाउँपालिका–५ पाचोकस्थित छैलुङकी खुसी गुरुङ पनि गुरुङ चलचित्र क्षेत्रकी परिचित कलाकार हुन्। पहिलो चलचित्र ‘मैँ’बाट अभिनय यात्रा सुरु गरेकी उनले हालसम्म नौ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनको पछिल्लो चलचित्र ‘ढोगभेट’ अहिले विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

गायन, अभिनय र लेखन क्षेत्रमा सक्रिय खुसी चलचित्र भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्ने प्रभावकारी माध्यम भएको बताउँछिन्। “हामीले चलचित्र नबनाउने हो भने नयाँ पुस्ताले आफ्नै भाषा, संस्कार र संस्कृतिलाई नचिन्ने अवस्था आउन सक्छ”, उनले भनिन्, “त्यसैले संस्कृति जोगाउने उद्देश्यका साथ चलचित्रमा काम गरिरहेको छु ।” 

बेँसीसहर नगरपालिका–४ का मनोज गुरुङ नयाँ पुस्ताका गुरुङ चलचित्रका अर्का लोकप्रिय कलाकार हुन् । विसं २०७६ मा ‘आमाको मन’ चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएका उनले अहिले कथावस्तु, निर्माण पक्ष र भूमिकाका आधारमा पारिश्रमिक लिने गरेको सुनाए। 

मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुकी धनकुमारी गुरुङ यस क्षेत्रको नवोदित कलाकार हुन्।  तीन वर्षअघि ब्लगिङमा सक्रिय रहँदा बेलायतमा रहेका एक नेपालीको प्रस्तावपछि उनले चलचित्र क्षेत्रमा पाइला चालेकी हुन्।  

“हेर्दा सजिलो लाग्थ्यो, आफैँले गर्दा निकै मेहनत गर्नुपर्ने रहेछ”, उनले भनिन्। उनका अनुसार संस्कृति जोगाउने नाममा कलाकारले सधैँ निःशुल्क काम गर्नुपर्ने सोच परिवर्तन हुन आवश्यक छ । 

“राम्रो कथा, पर्याप्त लगानी, दक्ष कलाकार र आधुनिक प्रविधिमा आधारित चलचित्र निर्माण गर्नसके गुरुङ चलचित्रले अझ फराकिलो दर्शक पाउन सक्छ”, उनले अगाडि थपिन्। 

दोर्दी गाउँपालिका–८ का निर्देशक तथा निर्माता खुशबहादुर गुरुङले चलचित्र क्षेत्र विस्तारै व्यावसायिक यात्रातर्फ अघि बढिरहेको बताउँछन् । उनका अनुसार विगतमा गुरुङ चलचित्र मुख्यतःभाषा, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले निर्माण हुने गरेका थिए । अहिले पनि त्यो उद्देश्य कायमै रहे पनि चलचित्रलाई गुणस्तरीय, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकता बढेको छ ।

कोरोना महामारी अघि गण्डकी प्रदेशमा बर्सेनि करिब १० देखि १२ वटा गुरुङ चलचित्र निर्माण हुने गरेका थिए । त्यसपछि निर्माण प्रभावित भएको र विस्तारै सुधार हुँदै गए पनि अहिले वर्षमा करिब पाँचदेखि सात वटा चलचित्र मात्र निर्माण हुने गरेको छ ।

पछिल्लो पुस्तामा गुरुङ भाषाको प्रयोग घट्दै जानु पनि चलचित्र क्षेत्रको चुनौती हो । भाषा र संस्कृतिको पुस्तान्तरणमा असर परेको उनको बुझाइ छ । 

उनका अनुसार गुरुङ चलचित्र क्षेत्रको अर्को ठूलो चुनौती बजारको सीमितता हो । विभिन्न जिल्लामा पनि भाषा र लवज फरक छ । आफ्नै समुदायको चलचित्र भए पनि भाषा नबुझ्दा कतिपय दर्शक टाढिने अवस्था रहेको उनले बताए। गुरुङ चलचित्र प्रवर्द्धनका लागि गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले गुरुङ भाषा वा करिब ९० प्रतिशत गुरुङ भाषामा निर्माण भएका चलचित्रलाई प्रोत्साहनको व्यवस्था गरेको छ । 

डिजिटल प्रविधिको विकासले चलचित्र निर्माणमा केही सहजता ल्याएको छ । यद्यपि राम्रो चलचित्रका लागि पर्याप्त लगानी आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्ला दिनमा निर्माण सङ्ख्या घटे पनि गुणस्तरीयता, व्यावसायिकता र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने उद्देश्यले गुरुङ चलचित्रले छुट्टै स्थान बनाइरहेको छ । चुनौतीका बीच पनि नयाँ सम्भावना खोज्दै अघि बढिरहेको यस क्षेत्रले उचित लगानी र समुदायको साथ पाए आगामी दिनमा अझै सशक्त रूपमा स्थापित हुने आधार बनेको छ ।

प्रतिक्रिया