नेपालमा करिब २५ लाख मानिस मधुमेहबाट प्रभावित भएको अनुमान छ। यस हिसाबले नेपालमा प्रत्येक घरमा मधुमेहप्रभावित व्यक्ति रहेका छन्। यसमध्ये करिब ९७ प्रतिशत वयस्क उमेर समूहका छन्।
मोटोपन, उच्च रक्तचापको रोगी, शारीरिक परिश्रमको कमी वा व्यायाम नगर्ने बानीले गर्दा तुलनात्मक रूपमा शहरी क्षेत्रका बासिन्दालाई मधुमेह हुने सम्भावना बढी हुन्छ। यदि परिवारमा कोही मधुमेह प्रभावित व्यक्ति छ भने आफ्नो दैनिक खानपान तथा जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै युवावस्थादेखि नै बर्सेनि रगत परीक्षण गर्नुपर्ने हुन्छ।
मानसिक तनाव, तीव्र शहरीकरणका कारण खानपान एवं रहनसहनमा आएको परिवर्तन, फास्टफुड, कोल्डड्रिंक्स, इनर्जी ड्रिंक्स, अधिक मात्रामा चिल्लो र गुलियो भोजन बढी खाने र शारीरिक परिश्रमको कमीले गर्दा विश्वमै सबैभन्दा बढी मधुमेहपीडित भएको भारतको छिमेकी नेपालमा पनि विगत केही वर्षदेखि मधुमेह प्रभावित व्यक्तिको संख्या बढ्दै गएको छ।
मधुमेह र यसको असर
तुलनात्मक रूपमा इन्सुलिनको कमी हुँदा वा ठ्याप्पै उत्पादन नहुँदा वा कोष तहमा इन्सुलिनको काममा अवरोध हुँदा यसको परिणामस्वरूप रगतमा चिनीको मात्रा बढ्ने समस्यालाई नै मधुमेह भनिन्छ। त्यसैले यो एक प्रकारको जीर्ण खालको मेटाबोलिक समस्या हो। मधुमेह प्रभावित व्यक्तिको शरीरमा बोसो र प्रोटिन टुक्रिने क्रियासमेत प्रभावित हुन्छ।
मधुमेहले शरीरको हरेक अंगलाई असर पु¥याउँछ। लामो समयदेखिको मधुमेहले आँखालाई बढ्ता असर गर्छ। मोतिबिन्दु चाँडै हुनु, आँखाको पर्दा (रेटिना) मा समस्या आउनु र अन्धोपन हुनुलगायत केही उदाहरण हुन्।
यसले मुटु र रक्तनलीमा असर गरी हृदयाघात, रक्तचाप र मुटु दुख्ने समस्या निम्त्याउन सक्छ। मधुमेहले गर्दा मिर्गाैलाको कार्य क्षमतालाई असर गरी बढी मात्रामा प्रोटिनको खेर गराउँछ। यसै कारण जीउ सुन्निने हुन सक्छ। बिस्तारै, मिर्गाैलालाई काम नलाग्ने गराउँछ। मधुमेहले मस्तिष्क र स्नायु प्रणालीमा असर गरी स्मरणशक्ति कमजोर हुँदै जाने, रिंगटा लाग्ने, पक्षघात हुने हुन सक्छ।
किन हुन्छ ?
हामीले खाएको खाना पेट (आमाशय) मा पुगेपछि बिस्तारै पाचन हुन थाल्छ र ग्लुकोजमा परिणत हुन्छ। यही ग्लुकोज आन्द्राबाट सोसिएर रगतमार्पmत शरीरको विभिन्न कोषमा पुग्छ। ग्लुकोजलाई कोषमा पुर्याउन प्यान्क्रियाजबाट उत्पादित हुने इन्सुलिनले सहयोग गर्छ। कोषले ग्लुकोजलाई शक्तिमा परिणत गर्छ। मधुमेह समस्याले प्रभावित हुँदा कोषले रगतमा रहेको ग्लुकोज लिन सक्दैन।
यसले गर्दा कोषले पर्याप्त शक्ति प्राप्त गर्दैन भने रगतमा चिनीको मात्रा बढ्न जान्छ। रगतमा निश्चित मात्रामा चिनी हुन्छ। यदि यो मात्रा नाघ्यो भने पिसाबमा पनि ग्लुकोज देखिन थाल्छ। यसैले पनि पहिले–पहिले मानिसले खुल्ला ठाउँमा पिसाब गर्दा कमिला भन्केको आधारमा गुलियो रोग (मधुमेह) लागेको शंका गरिन्थ्यो।
मधुमेह र सेक्स
नेपालमा नजानिँदो तवरमा नसर्ने रोग बढ्ने क्रममा छ। मधुमेह यस्तै नसर्ने रोगमध्ये एक हो। मधुमेहबाट ग्रसित पुरुषमा लिंग उत्तेजनाको समस्या आउन सक्छ।
सफल र सुखदायी यौन सम्बन्धका लागि पुरुष लिंग राम्ररी उत्तेजित हुनु जरुरी छ भने यौन उत्तेजनासँगै महिलामा पर्याप्त मात्रामा योनिरस उत्पादन पनि आवश्यक छ। यौन चाहना वा सोच सँगै पुरुषमा लिंग उत्तेजना हुन तथा महिलामा योनिरस उत्पादन हुन स्नायुको माध्यमबाट मस्तिष्क र यौनांगबीच राम्ररी सामञ्जस्य हुनु जरुरी छ।
लामो समयसम्मको अनियन्त्रित मधुमेहले मिर्गौला, आँखा, मुटुमा जस्तै स्नायुलाई पनि बिस्तारै असर पुर्याउन थाल्छ। फलस्वरूप पुरुषमा लिंग उत्तेजना हुन तथा महिलामा भए योनिरस उत्पादनमा नकारात्मक असर पुग्न गई यौन क्रिया सफल हुन पाउँदैन।
मधुमेह भएकामा उच्च रक्तचाप तथा अधिक कोलेस्टेरोलको समस्या पनि हुन सक्छ। यसले गर्दा थप यौन उत्तेजनाको समस्या निम्तिन सक्छ। मधुमेहबाट ग्रसित व्यक्तिमा मोटोपन हुने तथा तिनीहरूलाई चाँडै थकाइ लाग्ने, शरीरमा तागत नहुने कारणले गर्दा यौन सम्बन्ध राख्न गाह्रो हुन्छ।
पटक–पटकको लिंग उत्तेजना नहुने समस्याले पुरुषमा हीनताबोध हुन गई यौन स्वास्थ्यमा झन् नकारात्मक असर पुग्न थाल्छ। महिलामा पर्याप्त योनिरसको अभावमा योनिमार्ग सुक्खा हुन गई यौन सम्पर्कका क्रममा निकै पीडा महसुस गर्छन्।
बिस्तारै, यौन सम्पर्क राख्न नै तर्किने वा डराउने हुन्छ। नियन्त्रित मधुमेह भएकी महिलामा सेतो पानी बग्ने अर्थात् योनि मार्गमा संक्रमण हुने सम्भावना बढी हुन्छ।
तुलनात्मक रूपमा मधुमेहले ग्रसित पुरुषमा लिंग उत्तेजनाको समस्या छिटो देखापर्छ। मधुमेह भएकाले पनि सफल यौन जीवन बिताउन सक्छन्। मधुमेह लाग्नै नदिन प्रयत्न गर्नुपर्छ। लागि सकेको भए मधुमेह विरुद्धका औषधि सेवन गर्नेबाहेक आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ। गुलियो नखाने, हरियो सागपात खाने, व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने गर्नुपर्छ।
रगतमा चिनीको मात्रा नियन्त्रणमा नआएमा लिंग उत्तेजित बनाउने औषधि तथा महिलामा योनि मार्ग चिप्लो पार्ने औषधिको प्रयोग गर्नुपर्छ। महिलामा सेतो पानी बग्ने समस्या छ भने त्यसको पनि यथोचित् उपचार गर्नुपर्छ। सफल यौन क्रियाको लागि शारीरिक तथा मानसिक तयारी पनि चाहिन्छ।
आफू मधुमेही भएको कारणले लिंग उत्तेजनामा कमी आइहाल्छ कि यौन उत्तेजना नहोला कि भन्ने चिन्ता मनमा लिनु हुँदैन। यौनको कल्पनासँगै यौन सामग्रीको उपयोग गरी लिंगमा उत्तेजना एवं परिवर्तन आउँछ भने यौनिक रूपमा आफू स्वस्थ छु भन्ने आत्मविश्वास हुनुपर्छ। श्रीमान्–श्रीमतीले जीवनसाथीको मधुमेह नियन्त्रणमा राख्न तथा उसको यौन दुर्बलता घटाउन सघाउनुपर्छ।
मधुमेहसँगै उच्च रक्तचाप, एलर्जी, मानसिक रोगका औषधि सेवन गरिरहेको र यस कारण यौन उत्तेजनामा असर पुगिरहेको भए सम्बन्धित चिकित्सकसँग परामर्श एवं वैकल्पिक औषधि सेवन गर्नुपर्छ।