जनवरीलाई पाठेघरको मुखको क्यान्सरको सचेतना महिनाको रूपमा लिने गरिएको छ। महिलामा हुने क्यान्सरमा स्तनपछि दोस्रो प्रमुख क्यान्सर पाठेघरको मुखको क्यान्सर हो। विश्वमा प्रतिवर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गर्छ। लगभग दुई लाख महिलाको यो रोगबाट मृत्यु हुने गरेको मानिन्छ। नेपालमा प्रतिवर्ष कति महिलालाई यो रोग लाग्छ र कतिको मृत्यु हुन्छ भन्ने सही तथ्यांक छैन। साधारणतया यो रोग ४० वर्ष पछि देखापर्ने भए तापनि नेपालजस्तो अविकसित देशमा ३० वर्ष अथवा सोभन्दा कम उमेरका महिलामा समेत पाठेघरको मुखमा क्यान्सर हुने गरेको छ।
यौन र पाठेघरको क्यान्सरको सम्बन्ध
ह्युमेन पापिलोमा भाइरस (एचपीभी) ले गर्भाशयको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनको रासायानिक प्रक्रिया हुँदा ती कोषिकामा परिवर्तन ल्याउँछ र जुन वर्षौंपछि क्यान्सरमा परिणत हुन्छ। कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, एकभन्दा बढी मानिससँग यौन सम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अंगको उचित सरसफाइ नगर्नु, यौन रोग एवं गुप्तांगसम्बन्धी दीर्घ रोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाका प्रमुख कारण हुन्। तर, ह्युमेन पापिलोमा भाइरसलाई प्रमुख कारक तत्व मानिएको छ।
लक्षण
पाठेघरको मुखको क्यान्सरको सुरुवाती अवस्थामा कुनै लक्षण नभए पनि शारीरिक जाँच गर्दा केही चिन्ह भेटिन सक्छ। महिनावारी सुकिसकेकी प्रौढ महिलामा फेरि रगत तथा रगत मिसिएको योनिस्राव देखापर्न सक्छ। त्यसै गरी यौन सम्पर्कपश्चात् रगत देखापर्ने समस्या हुन सक्छ। गोप्यअंगबाट असामान्य प्रकारको गन्हाउने स्राव बग्न सक्छ।
महिनावारी सुकी नसकेकी महिलामा महिनावारीका बेला धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ। यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न। दुख्न लाग्दा क्यान्सर पैmलिसकेको हुन्छ। यो रोग निकै पैmलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ।
रोकथाम
कारक तत्वलाई विचार गरेर कलिलै उमेरमा विवाह नगर्ने, बालविवाहलाई निरुत्साहित गर्ने, धेरै बच्चा नपाउने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, गोप्य अंगको सरसफाइमा ध्यान दिने, धेरै जनासँग यौन सम्पर्क नराख्ने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौन रोग एवं गुप्तांगसम्बन्धी रोगको समयमै आवश्यक उपचार गराएमा यो रोगबाट बच्न सकिन्छ।
यो क्यान्सर रोक्न सकिने धेरै उपाय छन्। पहिलो, क्यान्सरपूर्वको अवस्था पत्ता लगाउने र क्यान्सरमा परिणत हुनुअगावै उपचार गर्न सकिन्छ। दोस्रो, क्यान्सरपूर्वको अवस्था नै रोक्ने प्याप स्मियर वा एचपीभी डीएनए टेस्टिङ गर्ने, कन्डमको प्रयोग गर्ने, एचपीभी भ्याक्सिन लगाउने, धूम्रपान गर्नु हुँदैन। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो भन्ने कुरा राम्ररी बुझ्नुपर्छ। यसका लागि समय–समयमा स्क्रिनिङ परीक्षण गराइराख्नुपर्छ।
पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सबै महिलाको स्क्रिनिङ २१ वर्षको उमेरमा सुरु गर्नुपर्छ। २१ देखि २९ वर्ष उमेरका महिलामा हरेक तीन वर्षमा प्याप स्मियरबाट स्क्रिनिङ गराउनुपर्छ। ३० देखि ६५ वर्षको उमेरसम्म हरेक पाँच वर्षको अन्तरालमा प्याप स्मियरसँगै एचपीभी डीएनए टेस्टिङ गराउनुपर्छ। सुविधा छैन भने ६५ वर्षको उमेरसम्म यी दुवै टेस्ट विकल्पमा प्याप स्मियर मात्र भए पनि गराउनुपर्छ।
एचआईभी संक्रमण लागेका, अंग प्रत्यारोपण गरेका, लामो समय स्टेराइड औषधि सेवन गरिरहेका कारण शरीरको रोगसँग लड्ने क्षमता कम भएको हुन्छ। यस्ता महिलामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने उच्च जोखिम हुन्छ। त्यसैले तिनीहरूमा यस्ता स्क्रिनिङ अलि छिटो अर्थात् धेरै गर्नुपर्छ।
६५ वर्ष माथिका, पछिल्लो १० वर्षमा कुनै गम्भीर खालको क्यान्सर पूर्वको अवस्था नभएकामा स्क्रिनिङ कार्य नगरे पनि हुन्छ। पाठेघरको मुखको क्यान्सर वा यसको क्यान्सर पूर्वको अवस्थाका लागि पाठेघर निकालेको अवस्थामा माथि उल्लेख गरेझैँ उमेर अनुसारको स्क्रिनिङ गर्नुपर्छ। स्क्रिनिङ टेस्टको माध्यमबाट पाठेघरको मुखको कोषको असामान्य परिवर्तन बेलैमा पत्ता लगाएर अधिकांश पाठेघरको मुखको क्यान्सरलाई समयमै रोक्न सकिन्छ। समयमै पत्ता लागेमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा उपचार योग्य क्यान्सर हो।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
एचपीभीले भल्भा (योनि वरिपरि), योनि, पुरुष लिंग, मलद्वार र घाँटीमा असर गर्न सक्छ। एचपीभी यी अंगका सतहको कोषमा हुने हुनाले छालाबाट छाला अर्थात् प्रत्यक्ष सम्पर्कबाट त्यसैले यौन सम्पर्क, गुदद्वार अनि मुख मैथुनबाट सर्ने सम्भावना हुन्छ। पाठेघरको मुखको क्यान्सर गराउने भाइरल संक्रमणको खासै उपचार छैन। तर, एचपीभीविरुद्ध भ्याक्सिन लगाउन भने सकिन्छ। सन् २००६ देखि यो खोप विश्वका धेरै मुलुकमा प्रचलनमा आएको छ। यसले एचपीभी ६, ११, १६ र १८ विरुद्ध लड्न सक्ने क्षमता दिन्छ।
केटा र केटी दुवैमा ९ देखि ११, १२ वर्षको उमेरमा एचपीभी भ्याक्सिन लगाउन सिफारिस गरिएको छ। यो भ्याक्सिन १३ देखि २६ वर्षको उमेरसम्म लगाउनु राम्रो हुन्छ। यदि कसैले पहिले लिएको छैन वा पूर्ण रूपमा लगाएको छैन भने २६ वर्षपछि पनि लगाउन मिल्छ। पुरुष–पुरुष बीचको समलिंगी तथा शरीरको रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिले पनि एचपीभी भ्याक्सिन लगाउनु ठीक हुन्छ।