विश्वनेताका प्रणय कथा

एजेन्सी     ०२ फागुन २०७७, आइतबार
विश्वनेताका प्रणय कथा

धेरैलाई खुलदुली लाग्छ, विश्वको राजनीति हाँकिरहेका नेताहरूको व्यक्तिगत जीवन चाहिँ कस्तो होला ? उनीहरूको प्रेम जीवन कसरी अघि बढिरहेको होला ? विश्वको नेताका अनेकौँ प्रेम किस्सा छन्। कतिले विवाहेतर सम्बन्ध पनि राखेका छन्। कतिले एकभन्दा बढी पटक विवाह गरेका छन्। विश्वका सात नेताका प्रेम प्रसंगबारे यहाँ उल्लेख गरिन्छ।


भ्लादिमिर पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कहिले बाघसँग तस्बिर खिचाउँछन्, त कहिले साइबेरियामा अर्धनग्न अवस्थामा घोडचढी गरिरहेका देखिन्छन्। तर, उनको व्यक्तिगत जीवन एकदमै गोप्य छ। कतिसम्म भने उनका दुई वयस्क छोरीको प्रमाणित तस्बिरसमेत अहिलेसम्म सार्वजनिक भएको छैन। महिलाहरूसँग उनका सम्बन्धबारे अनेकौँ चर्चा भइरहन्छन्।

सन् १९८३ मा पुटिन र ल्युदमिला स्क्रेबनेभाको विवाह भयो। उनीहरूका दुई छोरी जन्मिए। सन् २०१३ मा अचानक उनीहरूले दाम्पत्य सम्बन्ध समाप्त भएको घोषणा गरे। त्यसयता ल्युदमिलाले आफूभन्दा २० वर्ष कान्छा व्यापारीसँग विवाह गरिसकेकी छन्।

यस बीचमा पुटिनको गुप्त प्रेम सम्बन्धलाई लिएर अनेकौँ हल्ला र अनुमान चले। ओलम्पिकमा जिम्न्यास्टिकतर्फ पदक जितेकी खेलाडी एलिना कावाएभासँग उनको सम्बन्ध रहेको व्यापक चर्चा चल्यो। सन् २००८ मा मस्कोको एउटा रेस्टुरेन्टमा चुम्बन गरिरहेको अवस्थामा उनीहरू भेटिएपछि यस्तो चर्चा सुरु भएको थियो। उनीहरूबाट स्विट्जरल्यान्डमा एक बच्चासमेत जन्मेको अनुमान गरिन्छ।

सन् २०१६ मा कावाएभा दुई साना बच्चासहित आइस स्केटिङ खेलिरहेको तस्बिर सार्वजनिक भएको थियो। धेरैले ती सन्तान पुटिनको भएको अनुमान गरेका छन्। जे होस्, ६५ वर्षे पुटिन रुसी राजनीति र महिला प्रशंसक दुवैबीच लोकप्रिय छन्। 


सी जिनपिङ
चिनियाँ राष्ट्रपति विश्वकै सबैभन्दा शक्तिशाली नेता मानिन्छन्। विशाल पार्टी, विशाल सेना र विशाल देशको नेतृत्व गरिरहेका यी नेता शान्त र सौम्य देखिन्छन्। उनको व्यक्तिगत जीवनबारे सार्वजनिक रूपमा खासै चर्चा–परिचर्चा हुँदैन। 

सी र पेङ ल्युआनबीच सेप्टेम्बर १९८७ मा विवाह भएको थियो। समारोहमा केही साथी मात्र भेला भएका थिए। सी पार्टीका नेता थिए भने पेङ गायिका। चिनियाँ सरकारी सञ्चारमाध्यमले उनीहरूको प्रेम उदाहरणीय रहेको बताउँदै आएको छ। जसअनुसार पेङ गीत गाउन देशभर घुमिरहन्थिन्। उनी फर्किने बेला सी घरमा मःमः पकाएर प्रतीक्षा गरिरहन्थे। उनीहरूकी एक छोरी छिन्। 


एन्जेला मर्केल
चार कार्यकाल जर्मनीको चान्सलरी चलाएकी एन्जेला मर्केलले आउँदो चुनावमा नउठ्ने घोषणा गरेकी छन्। एउटा पूरै पुस्ता जर्मनीको नेतृत्व गरेकी मर्केलको पहिलो प्रेम तथा विवाह सम्बन्ध भने असफलतामा टुंगिएको थियो। २३ वर्षको उमेरमा सन् १९७७ मा एन्जेला कास्नरले भौतिकशास्त्रका विद्यार्थी उल्रिच मर्केलसँग विवाह गरेकी थिइन्। पाँच वर्षपछि उनीहरूको सम्बन्ध विच्छेद भयो। तर, मर्केलले पतिको थर छोडिनन्।

त्यसपछि उनी जोचिम साउरसँग बस्न थालिन्। रसायनशास्त्रका प्राध्यापक साउर सञ्चारमाध्यमबाट टाढा छन्। उनीबारे खासै चर्चा हुँदैन्। मर्केल र उनको पहिलो भेट सन् १९८१ मा भएको थियो। थुप्रै वर्ष साथ बसेपछि सन् १९९८ मा उनीहरूले बिहे गरे। मर्केलका सन्तान छैनन्। अघिल्लो पत्नीबाट साउरका भने दुई छोरा छन्। 

बितेको दशकमा जर्मनी मात्र होइन, सम्पूर्ण युरोपलाई संगठित राख्न मर्केलको भूमिका महŒवपूर्ण रह्यो। मर्केल युगको अन्त्यसँगै युरोपको भावी नेतृत्व कसले गर्ला भन्ने चिन्ता पनि व्यक्त गर्न थालिएको छ।


इम्यानुएल म्याक्रों
इम्यानुएल म्याक्रों ३९ वर्षको उमेरमा चुनाव जितेर फ्रान्सको सबैभन्दा कान्छो राष्ट्रपति बने। तर, सञ्चारमाध्यमको सम्पूर्ण ध्यान भने उनको प्रेम सम्बन्धमा केन्द्रित थियो। हुन पनि वर्तमान विश्वनेतामध्ये सबैभन्दा मोहक प्रेमकथा उनकै थियो। 

त्यसबेला म्याक्रों स्कुल पढ्थे। उनी मात्र १५ वर्षका थिए। उनलाई नाटक पढाउँथिन्, ३९ वर्षीया शिक्षिका ब्रिजिट त्रोन्यू। उनका तीन सन्तान थिए। उनको जेठो छोरो नै म्याक्रोंभन्दा दुई वर्ष जेठा थिए। उनीहरू दुवै स्कुलको थिएटर क्लबमा सँगै काम गर्थे। तर, यो उमेरको फरकले उनीहरूलाई नजिक हुनबाट रोक्न सकेन। म्याक्रोंले ब्रिजिटका नाममा कविता लेख्न थाले। 

म्याक्रों १६ वर्ष लागेपछि यो प्रेम लुक्न सकेन। दुवैले स्विकारे। छोराको यस्तो पौरख देखेपछि म्याक्रोंका अभिभावक क्रुद्ध भए। उनीहरू दुवै जना डाक्टर थिए। सम्बन्ध छुटाउन उनीहरूले म्याक्रोंलाई पेरिसको स्कुल पठाए। तर, जानुअघि उनले ब्रिजिटलाई विवाहको वचन दिए। नभन्दै म्याक्रों १८ वर्ष पुग्नेबित्तिकै ब्रिजिटले पतिसँग सम्बन्ध विच्छेद गरिन् र पेरिस पुगिन्। त्यसपछि उनीहरूको विवाह भयो। 

अहिले म्याक्रों ४१ वर्षका छन् भने ब्रिजिट ६६ वर्षकी। उनीहरूको प्रेम र एकअर्काप्रतिको समर्पणलाई आदर्श मान्नेहरूको संख्या धेरै छ।


कोलिन्दा ग्रेबर कितारोविच
विश्वकपताका क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्रेबर कितारोविच खूबै चर्चामा रहिन्। आफ्नो टोलीले हार्दा रोइरहेका खेलाडीलाई सान्त्वना दिइरहेको उनको तस्बिर भाइरल बन्यो। अझ बढी उनको बिकिनी लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो। एकाएक उनको सुन्दरता र दयालु छवि अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न पुग्यो।

उनी क्रोएसियाको चौथो राष्ट्रपति हुन्। त्यो पदमा पुग्ने पहिलो महिला पनि हुन्। यसअघि उनले थुप्रै कूटनीतिक तथा सरकारी ओहोदामा रहेर काम गरिसकेकी थिइन्। 

उनी सन् १९९६ मा याकोब कितारोविचसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। याकोब पेसाले इन्जिनियर हुन्। उनीहरूका दुई सन्तान छन्। अनेकौँ भाषामा पोख्त रहेकी उनको पतिसँग सुमधुर सम्बन्ध रहेको बताइन्छ।


इमरान खान
लामो समयदेखि भू–राजनीति, आतंकवाद र आर्थिक समस्याबाट गुज्रिरहेको पाकिस्तानमा यसै वर्ष इमरान खान प्रधानमन्त्री बनेका छन्। कुनै समय क्रिकेट विश्वकप जिताएका खानको काँधमा अब राजनीतिको डुंगा पार लगाउने जिम्मेवारी छ। विश्वका नेतामध्ये उनको उनको प्रेम जीवन झनै रोचक देखिन्छ।

४२ वर्षको उमेरसम्म खान अविवाहित रहे। त्यसपछिका २३ वर्षमा उनले तीन  बिहे गरिसकेका छन्। क्रिकेट खेलाडी छँदासम्म उनको छवि प्लेब्वाईको थियो। उनले बलिउड, हलिउडसहित विश्वभरका सुन्दरीसँग डेट गरे।

सन् १९९५ मा उनले आफूभन्दा आधा उमेरकी २१ वर्षीया जमिमा गोल्डस्मिथसँग विवाह गरे। उनीहरूका दुई सन्तान जन्मे पनि सम्बन्ध लामो समय कायम रहेन। २००४ मा उनीहरूको सम्बन्ध विच्छेद भयो। 

त्यसपछिको एक दशक खान एक्लै रहे। उनी राजनीतिमा भविष्य बनाउन लागिपरेका थिए। सन् २०१५ मा खान र पाकिस्तानी पत्रकार रेहाम खानबीच एक वर्षअघिदेखि नै विवाह भइसकेको घोषणा उनीहरूले गरे। तर, यस पटक पनि उनीहरूको सम्बन्ध लामो समय टिकेन। त्यही वर्ष सम्बन्ध विच्छेदको घोषणा गरियो। एक अन्तरवार्तामा उनले आफ्नो दोस्रो विवाहलाई जीवनकै ठूलो भूलसमेत भने। 

लगत्तै उनले फेरि विवाह गरेको चर्चा चल्यो, आफ्नै आध्यात्मिक गुरुसमेत रहेकी बुसरा मनिकासँग। तर, मनिकाको परिवारले यसलाई हल्ला मात्र भएको बतायो। तर, सन् २०१८ मा यो खबर सत्य साबित भयो। 

प्रतिक्रिया