विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे 

राम्रो अनलाइन     २० चैत २०८०, मङ्गलबार
विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे 


पोखरा–विश्वासको मत नलिने बरु राजीनामा दिएर नयाँ सरकार गठनको लागि बाटो खोल्ने योजनाका साथ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा उपलब्ध सांसदहरुसँग छलफल राखेका छन् ।

गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेश सभा नियमावलीअनुसार आज मंगलबार दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ । तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेका हुन् ।

सरकारको अबको बाटोबारे छलफल गर्ने उपलब्ध सांसदलाई डाकिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । संसदबाट विश्वासको मत प्राप्त गर्ने स्थिति नदेखिएकाले राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने रणनीतिका साथ नै पाण्डेले गठबन्धनमा रहेका राजीव गुरुङ (दीपक मनाङेले) भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । किनकी दुई सदस्य रहेको राप्रपाले पनि २७ गतेको आन्दोलनअघि निर्णय नलिने बताउँदा एमाले–माओवादीको पनि स्पष्ट बहुमत पुग्दैन र फेरि ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुने पाण्डेको योजना छ ।

गण्डकीमा निर्णायक देखिएको राप्रपाले २७ गतेको आन्दोलन अघि कुनै पनि सरकारलाई समर्थन नदिने अध्यक्ष राजेन्द्र राजेन्द्र लिङ्देनले नै बताइरहेका छन् । अहिलेको समीकरण अनुसार एमाले र माओवादी मिलेरमात्र सरकार बन्ने स्थिति नहुँदा गठबन्धनलाई दबाब उत्तिकै छ । एमालेका २२ र सभामुखसहित माओवादीका ८ सांसदले मात्र ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्ने स्थिति छैन । त्यसका लागि राप्रपा निर्णायक देखिएको हो ।

२७ सांसदसहित गण्डकीको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस त झनै सत्ता संकट सजिलै टार्नसक्ने स्थितिमा छैन । एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०लाई मन्त्री बनाए पनि मुख्यमन्त्री पाण्डेलाई सत्ता जोगाउन सकस छ ।

मुख्यमन्त्री पाण्डेको सत्ता जोगिन राप्रपा, दीपक मनाङे र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले पनि साथ दिनुपर्छ । यही बुझेरै मनाङेलाई एमाले–माओवादीका नेताहरुले एकीकृत समाजवादीमै फर्काउन छलफल गरिरहेका छन् ।

सत्ताको संकट टार्ने सन्दर्भमै निर्णय लिन भन्दै काठमाडौं पुगेका एमाले संसदीय दलका नेता खगराज अधिकारी र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आजै पोखरा फर्किँदैछन् । गण्डकी सरकारको नेतृत्व एमालेले प्राप्त गर्ने भनिए पनि निर्णय भइनसकेको भन्दै नेतृत्वको दाबी गर्न अधिकारी र चुमान काठमाडौं पुगेका थिए । नेताहरुका अनुसार केन्द्रको सत्ता गठबन्धनका नेताहरुबीच भागबण्डा गर्दा गण्डकी एमालेको भाग परेको छ ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पनि विपक्षीको सरकार बन्न नसक्ने हुँदा ठूलो दलको हैसियतमा फेरि आफू नै मुख्यमन्त्री  बन्ने रणनीति पाण्डेले बनाएका छन् ।

धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखबाट आह्वान भएसँगै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त हुने र एक महिना भए पनि लब्याउने योजनामा रहेको उनी निकट नेताहरुले बताएका छन् ।

प्रतिक्रिया