काठमाडौँ– आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दिवसका अवसरमा ओम चावहिल डेण्टलले एक महिनासम्म निशुल्क दन्त परीक्षण गर्ने भएको छ । दाँत, गिजा र सम्पूर्ण मुख–अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा मुखसम्बन्धी अन्य रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ ।
‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुखस्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका लागी आवश्यक छ, सर्वोत्कृष्ट पोषणका लागी यसले खानालाई मिहिन बनाउनमात्र सघाउँदै अपितु स्वस्थ मुस्कान र आत्मसम्मान जोगाउन मद्दत गर्छ । यो नाराले प्रवाह गर्ने सन्देश यही हो भन्छन् दन्तचिकित्सकहरू । मुख स्वस्थ भयो भने सम्पूर्ण शरीर नै नीरोगी रहन्छ । मुख अस्वस्थ नहुँदा नै हामी बोल्न, चपाउन र मुस्कुराउन सक्छौँ ।
ओम चावहिल डेण्टलका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले देशका विभिन्न भूभागमा पुगेर दन्त परीक्षण शिविर सञ्चालन गर्ने गरिएको बताउँदै मुख स्वास्थ्यमा ओम चावहिलले अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । घिमिरेका अनुसार अधिकांशमा दाँत कीराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या भएका बिरामी पाइन्छन् । स्वास्थ्यसम्बन्धी वेबसाइट मायो क्लिनिक डटकमका अनुसार शरीरका अन्य भागजस्तै मुख पनि कीटाणुले भरिएको हुन्छ, तथापि ती कीटाणु प्रायः हानिकारक हुन्छन् । तर मुख भनेको पाचन नलीमा प्रवेश गर्ने माध्यम भएकाले यदि त्यो स्वस्थ्य भएन भने हानिकारक कीटाणुले शरीरभर रोग निम्त्याउन सक्छ ।

