विराटनगरका दुई क्यासिनोबाट २० जना नेपाली नागरिक पक्राउ

राम्रो अनलाइन     ०७ पुस २०८२, सोमबार
विराटनगरका दुई क्यासिनोबाट २० जना नेपाली नागरिक पक्राउ

विराटनगर– मोरङको विराटनगरस्थित दुई क्यासिनोबाट प्रहरीले २० नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापक समेत छन् ।

देशमा नेपालीलाई क्यासिनोमा प्रवेश निषेध छ । तर, लामो समयदेखि लुकीछिपी जुवा खेलाइएको विशेष सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटुवालका अनुसार, विराटनगरस्थित बिग होटेलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र रत्ना होटेलको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारिएको थियो ।

राति करिब ११ बजे गरिएको कारबाहीका क्रममा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोनका व्यवस्थापक रामकृष्ण गौतम पक्राउ परेका छन् । रत्ना होटेलको क्यासिनोबाट १४ र बिग होटेलको क्यासिनोबाट ६ गरी कुल २० नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एसपी कटुवालका अनुसार, छापा मार्दा क्यासिनोभित्र नेपाली निर्बाध रूपमा जुवाजन्य खेल खेलिरहेको अवस्थामा फेला परेका थिए । कानुनविपरीत नेपालीलाई प्रवेश गराई जुवा खेलाएको पाइएकाले व्यवस्थापकसहित उपस्थित सबैलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको उनले बताए ।

पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरूमाथि जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया