काठमाडौं – बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला रहेका छन् ।
आर्थिक वर्ष २०६८/६९ देखि चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको हो ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत आप्रवासी सूचना केन्द्र बाँकेका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले नेपालमा सामी कार्यक्रम सञ्चालन भए यता आर्थिक वर्ष २०६८/६९ देखि चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका नागरिकको विदेशी भूमिमा मृत्यु भएको बताए । यसवर्ष मात्र २३ जनाको मृत्यु भएको छ ।
अधिकृत वलीका अनुसार वैदेशिक रोजगार वोर्डको तथ्याङ्कमा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाको १८ जना, खजुरा गाउँपालिकाका २५, वैजनाथ गाउँपालिकाका १५, कोहलपुर नगरपालिकाका १८, राप्तीसोनारी गाउँपालिकाका ५, नरैनापुर गाउँपालिकाका ५, डुडुवा गाउँपालिकाका ६ र जानकी गाउँपालिकाका ६ गरी ९८ जनाको ठेगाना उल्लेख छ ।
बाँकी ७९ जना बाँकेकै भए पनि कुन पालिकाका हुन भन्ने उल्लेख नभएको जानकारी दिए । वैदेशिक रोजगार वोर्डमा आर्थिक सहायताका लागि बाँकेबाट उक्त संख्याका मृतकका परिवारले निवेदन दिएका छन् ।
सबैभन्दा बढी मलेसियामा ६१ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसपछि साउदी अरवमा ५४ जना, कतारमा ३० जना, युएईमा १४ जना, युनाइटेड अरव इमिरेट्समा ६ जना, कुवेतमा ४ जना, बहराइनमा ३ जना, नेपालमा २ जना, क्रोसियामा २ जना, र अफ्गानिस्तानमा १ जनाको मृत्यु भएको उनले बताए । नेपालमा मृत्यु भएका दुई जना भने श्रम स्वीकृतिभित्र नेपाल आएर मृत्यु भएका नागरिक हुन् ।
क्यान्सर, कोभिडलगायतका विभिन्न रोगबाट ४९ जना, प्राकृतिक मृत्यु भएका ४१ जना, हृदयघातबाट ३० जना, सडक दुर्घटनाबाट २३ जना, आत्महत्या गरेका १३ जना, अन्य कारणबाट ११ जना, कार्यस्थलमा दुर्घटनाबाट ८ जना र मृत्युको कारण थाहा नभएका २ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय आत्महत्या गर्ने संख्यामा वृद्धि हुँदैगएको पाइएको उनले बताए । फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालमा नेपालबाट विदेश काम गर्न गएका नेपाली दाजुभाइ र घरमा रहेका उनीहरुका परिवारका बारेमा नकारात्मक सन्देश फैलाउने भएकाले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ ।
पर्याप्त सूचना अभावका कारण विदेशमा मृत्यु भएका, घाइते भएका तथा घरमा रहेका उनीहरुका घरपरिवारले प्राप्त गर्ने सेवा सुविधाबाट अधिकांश नागरिक बञ्चित छन् । सूचना पहुँच पुगेपछि सेवा सुविधा लिने नागरिकहरु बढ्दै गएको उनले बताए ।
वैधानिकरुपमा श्रम स्वीकृति लिएर विदेश गएका नेपाली नागरिकको मृत्यु भएमा सात लाख रुपियाँ वैदेशिक रोजगार वोर्ड र १४ लाख रुपियाँ बिमा कम्पनीबाट उनका परिवारले क्षतिपूर्तिवापत पाउने व्यवस्था रेहेको वलीले जानकारी दिए । श्रम स्वीकृति लिएर गएका तर म्याद समाप्त भएकाको हकमा भने केवल २५ हजार रुपियाँ मात्र पाउने व्यवस्था रहेको उनले बताए ।
उनका अनुसार काम गर्ने क्रममा कामदारलाई कुनै रोग लागेर विरामी भएमा वा अन्य कारणबाट घाइते भएमा सात लाख रुपियाँसम्म औषधि उपचार खर्च पाउने सुविधा छ । त्यसैगरी विदेश गएका नागरिकको नेपालमा रहेका घरका सदस्य विरामी भएमासमेत औषधी उपचार खर्च पाउने व्यवस्था छ ।
विदेश गएका नागरिकका नेपालमा रहेका घरपरिवारका सदस्यलाई क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर र पार्किन्सन गरी पाँचवटा रोग लागेमा ५० हजार रुपियाँसम्म उपचार खर्च उपलब्ध हुने व्यवस्था रहेको वलीले जानकारी दिए ।
सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराउने गरेको छ ।