चार्ली र मबीचको सबैभन्दा ठूलो फरक थियो, हामी पढ्ने स्कुल। उसको स्कुल थियो, इटन। यो भविष्यका प्रधानमन्त्रीहरूको स्कुल हो। मेरो सरकारी माध्यमिक विद्यालय पुरानो बाकसजस्तो देखिन्थ्यो। ऊ मेरो जीवनको नजिकको साथी थियो। मेरी आमाले गरेको संघर्ष उसले देखेको थियो।
केट ज्याक्सन
बेलायतमा भर्खरै टफी डेटिङ एप सुरु भएको छ। यो एप निजी स्कुलमा पढेकालाई मात्र लक्ष्य गरेर सञ्चालन गरिएको हो। यसका संस्थापकहरू भन्छन्, ‘हामीलाई थाहा छ, उस्तै पृष्ठभूमि भएका मानिस सधैँ साथ रहने सम्भावना बढी हुन्छ।’
कति अनावश्यक !
यसप्रति मेरो पहिलो टिप्पणी थियो यो।
यसले मलाई निजी स्कुलमा पढ्ने मेरो ब्वाइफ्रेन्ड चार्लीको सम्झना गरायो। जोसँग १७ वर्षको उमेरमा छोटो र निस्सासिँदो समय मैले बिताएकी थिएँ।
हाम्रो भेटको सम्भावना एकदम कम थियो। उसको र मेरो घर खासै टाढा थिएन। तर, यो जंगलरूपी मध्यमवर्गीय बेलायती समाजमा उसको र मेरो जम्काभेट हुने सम्भावना न्यून थियो। संयोगले मात्रै एक पटक एउटा पार्टीमा हाम्रो भेट भयो।
चार्ली र म बेग्लाबेग्लै ग्रहका प्राणी हौँ भन्ने त्यतिबेला स्पष्ट थिएन। हामी दुवैले उस्तै लुगा, हुडी र टी–सर्ट लगाएका थियौँ। हामीले एउटै भोड्का पियौँ। दुवैको आवाजमा दक्षिणी बेलायतको लवज थियो, तथापि उसको काँचजस्तो सुस्पष्ट थियो भने मेरो प्लास्टिकजस्तो लचिलो। तर, नजिकैबाट हेर्ने हो भने हामीबीचको त्यो फरक देख्न सकिन्थ्यो।
हामीबीचको सबैभन्दा ठूलो फरक थियो, हामी पढ्ने स्कुल। ती कोठा, जहाँ बसेर हामी अनेक थरी कुरा सोच्थ्यौँ, ती मानिस जोसँग हामी हरेक दिन कुराकानी गथ्र्यौं र ती शिक्षक जसले हाम्रो आत्मसम्मान बढाउँथे र भत्काउँथे। यी सबै फरक थिए।
उसको स्कुल थियो, इटन। आफ्ना विद्यार्थीलाई संसद्भवनमा सहज महसुस गराउन यो स्कुल भवनको डिजाइन गरिएको थियो। यो भविष्यका प्रधानमन्त्रीहरूको स्कुल हो। तपाईं विन्डसर जानुभयो भने ढुंगा छापिएको सडकमा विद्यार्थीहरू डोरी नाघ्ने खेल खेलिरहेको देख्नुहुनेछ।
इटनबाट पास भएर जानेहरू सजिलै अक्सफोर्ड पुग्छन् र त्यहाँबाट सोझै उफ्रेर संसद्मा प्रवेश गर्छन्। बेलायतको कुरूप अनुहारलाई उनीहरूले क्षणभरका लागि विश्वविद्यालयमा हुँदा देख्न पाउँछन् र त्यसमा पनि आनन्दित हुन्छन्।
मेरो सरकारी माध्यमिक विद्यालय झरीले उछिट्याएको हिलो छ्यापिएको पुरानो बाकसजस्तो देखिन्थ्यो। चार्लीका शिक्षकहरू प्रसिद्ध उपन्यासकार, संगीतकार र वैज्ञानिक थिए भने हाम्रा शिक्षकहरूलाई समाजसेवा र शिक्षण संयुक्त रूपमा गर्न भनिएको हुन्थ्यो। संगीत कक्षाको एउटा अविस्मरणीय घटना मेरो स्मृतिमा अझै छ। ‘फुर्ती गरेको’ भन्दै एक शिक्षकले मलाई फेल गरिदिएका थिए। अल्छीलाग्दो तरिकाले भाषा सिकाइन्थ्यो। मलाई लाग्छ, फ्रान्सेली भाषा आवश्यक पर्ने कुनै पनि काम गर्न हामी पुग्नेछैनौँ भन्नेमा शिक्षकहरू विश्वस्त थिए। त्यसैले उनीहरू अल्छी गर्थे।
आफू सहपाठीभन्दा फरक भएको चार्लीको दाबी थियो। उसले मसँग डेटिङ गर्नु नै यसको प्रमाण भएको मैले पनि विश्वास गरेँ। उसो त साथीहरूको भन्दा उसको कपाल अलग थियो। उसको कपाल अरूको झैँ मिलाएर कोरिएको हुन्थेन। बरु जिङ्ग्रिङ्ग परेको हुन्थ्यो। यो उसको स्कुलको नियमविपरीत थियो, तैपनि शिक्षकहरूलाई भनेर उसले यस्तो कपाल पालेको थियो।
हरेक विषयमा मेरोभन्दा चार्लीको बुझाइ राम्रो भएको म ठान्थेँ। प्रेम पनि मैलेभन्दा उसैले राम्रो बुझेको छजस्तो लाग्थ्यो। सेक्सपियरले के भन्न खोजेका थिए, उसलाई राम्ररी थाहा थियो। उनको कविता उसलाई कण्ठ थिए। मेरो जन्मदिनमा एक पटक उसले रेमन्ड कार्भरको ‘ह्वाट वी टक अबाउट ह्वेन वी टक अबाउट लभ’ पुस्तक उपहार दिएको थियो। उपहार त मलाई मन पर्यो, तर यसबारे मैले ऊसँग कहिल्यै छलफल गरिनँ, किनभने मैले पुस्तकको गलत व्याख्या गर्ने डर थियो।
महिनौँपछि जब पुस्तकबारे उसले मेरो धारणा सोध्यो, मैले ‘पढेकै छैन’ भनेर ढाँटेँ। अहिले पनि म कहिलेकाहीँ त्यो पुस्तक खोल्छु र नीलो मसीले ‘शुभ जन्मदिन क्याटी, सप्रेम चार्ली’ लेखेको पढ्छु अनि आफ्नै भावनाप्रति शंका गरेकोमा पछुतो मान्छु।
उसका साथी–सँगाती आत्मविश्वासमा चम्किरहँदा मेरा सँगातीहरू असुरक्षाले घेरिएका हुन्थे। कहिलेकाहीँ मेरो छिमेकका केटाहरू रिस देखाएर आत्मविश्वास आर्जन गर्न खोज्थे। तर, त्यो सुट लगाउँदा प्राप्त हुने आत्मविश्वासबराबर पनि थिएन।
तर, चार्लीको नजर यस्तो थिएन। आफू रकस्टार बन्न चाहेको, तर इटनमा पढेको व्यक्तिलाई रकस्टारका रुपमा कसैले नस्विकार्ने डरले बन्न नसकेको ऊ बताउँथ्यो। म उसलाई ‘बिचरा’ भनिरहन्थेँ।
पहिलो चोटि मेरो घर आउँदा मैले चार्लीलाई राम्ररी नियालेँ। वर्षौंपछि मात्र मलाई थाहा भयो, त्यसबेला उसको अनुहारमा देखिएको भाव त मजदुर बस्ती वा कारखानामा प्रवेश गर्दा नेताको अनुहारमा देखिने भावजस्तै पो रहेछ। सोचविचारपूर्वक उत्पन्न गरिएको जिज्ञासुपन, जुन मानौँ ऐनाअगाडि पटक–पटक अभ्यास गरेपछि प्रकट गरिएको हो।
तर, त्यो ठाउँ जुनसुकै बेला छोड्न सकिन्छ भन्ने उनीहरूलाई थाहा हुन्छ। जसरी चार्लीलाई पनि थाहा थियो। चार्ली जानीबुझी हामीलाई तिरस्कार गरिरहेको थिएन। ऊ खराब व्यक्ति थिएन। ऊ मेरो जीवनको नजिकको साथी थियो। आफ्नो खर्च धान्न मेरी आमाले गरेको संघर्ष उसले देखेको थियो। यसबारे हामीले कुराकानी पनि गरेका थियौँ। भन्थ्यो, ऊ मलाई ‘बचाउन’ चाहन्छ।
हाम्रो भान्छा भद्रगोल थियो। जुठा भाँडाको थुप्रो लागेको हुन्थ्यो। भुइँ हिलाम्मे हुन्थ्यो। वर्षाैंसम्म हाम्रो सिलिङमा प्वाल थियो। मेरो दाजुले माथिल्लो तलामा धारा खुल्लै छोडेपछि त्यो प्वाल परेको थियो। आफ्ना दिदीभाइसँग म सुत्ने कोठाको भित्तामा मैले पाँच अलग–अलग रङ पोतेकी थिएँ। भित्तामा पोतिएको रङ ठाउँ–ठाउँमा उप्किएको थियो। चार्ली तिनलाई छोएर आँखीभौँ उचाल्थ्यो। ऊ पर्यटकजस्तो व्यवहार गथ्र्यो, हाम्रो अव्यवस्थाबाट मोहित हुन्थ्यो।
उसको घर (जहाँ ऊ निकै कम समय रहन्थ्यो, किनभने १३ वर्षदेखि नै ऊ बोर्डिङ स्कुलमा थियो) लन्डनबाट ३० मिनेटको दूरीमा थियो। पाँच वटा बेडरुम भएको यो घर सानोतिनो हबेली नै थियो। जहाँ पहिलो पटक प्रवेश गर्दा मेरा आँखा तिरमिराएका थिए। सबथोक चम्किलो थियो। चार्ली र उसका आमाबुबाले लगाउने कपडाबाट न्यानो र सफा बासना आउँथ्यो। बाथरुमको तौलिया पनि सुक्खा हुन्थ्यो।
कहिलेकाहीँ उसका आमाबुबा बाहिर गएको र चार्ली निदाएको बेला म त्यो घरको हरेक कोठा चहार्थें। कोठैपिच्छे राखिएका भेनिल्ला, सूर्ती, आरुजस्ता बासना आउने मैनबत्ती सुँघ्दै हिँड्थे। रेफ्रिजरेटर खोलेर मिलाएर राखिएका खानेकुरा हेर्थें। त्यहाँ चिज राख्ने ठाउँमै चिज राखिएको हुन्थ्यो। तरकारी राख्ने ठाउँमा तरकारी नै राखिएको थियो। सबथोक व्यवस्थित र सुन्दर देखिन्थ्यो।
चार्लीसँग डेटिङ गर्दा कुनै ढोका खोलेजस्तो महसुस मैले गरेँ। वर्गले मानिसलाई कुनै पनि कुरा प्राप्त गर्न सक्छु भन्ने विश्वास दिने रहेछ। त्यो मैले देखेँ। हाम्रो सम्बन्धमा मलाई विश्वास थिएन। मैले केही कुरा देखेकी थिएँ, जुन मैले देख्न नहुने थियो। मलाई थाहा भइसकेको थियो, चार्लीका थुप्रै साथी मेरो घरजस्तो ठाउँमा कहिल्यै आउने थिएनन्। यदि तिनीहरू आइहाले पनि फर्केर जाने निश्चित थियो। तिनले अव्यवस्थालाई आफ्नो ठानेर हेर्ने थिएनन्।
उसको संसारमा कोही केही भन्दैन। तर, उनीहरू हरेक थोक अवलोकन गर्छन्।
हाम्रो बेलुन पनि विश्वविद्यालय जाने बेलासम्ममा आ–आफ्ना दिशातिर उड्न थाल्यो। हामीबीचको सानो फरक अत्यन्त ठूलो भएर प्रकट भयो। र, जे भयो राम्रै भयो। उसले सजिलै परीक्षा पास गर्यो र रातो इँटाले बनेको प्रतिष्ठित कलेजमा भर्ना भयो। मेरो अंक निराशाजनक थियो। र, मैले तत्कालका लागि स्कुल नजाने निर्णय लिएँ। बरु, म जतिखेर पनि चार्लीसँग समय बिताउन थालेँ। यो क्रम एक वर्षसम्म चल्यो।
हाम्रो ब्रेकअपपछि मैले फेसबुकमा देखेँ, चार्ली प्रिन्सेस हेलेना कलेजमा पढेकी एक केटीसँग डेटिङ गर्न थालेको थियो। आठ वर्ष बितिसक्दा पनि उनीहरू सँगै छन्। टफी डेटिङ एपका संस्थापकहरू सही छन्। हो, उस्तै पृष्ठभूमिका मानिसहरू साथमा टिक्छन्।
चार्ली, उसको स्कुल, उसको घर, उसका साथीभाइ र उसको संसार, जुन मेरो संसारसँग क्षणभरका लागि ठोक्किएको थियो, त्यसबारे म नसोची बस्नै सक्दिनँ। मलाई लाग्छ, हामी दुईको बीचमा हाम्रो पृष्ठभूमि आइपुग्यो। र, जति नै प्रयास गरेको भए पनि एकअर्काको साथमा हामीले जीवनमा सहज कहिल्यै महसुस गर्ने थिएनौँ। यो फरकलाई डेटिङ एपको सहाराले अझ किन खराब बनाउने?
मलाई के लाग्छ भने दुवै पक्षबीच अझ बढी समझदारी आवश्यक छ।
आधा बोतल वाइन पिइसकेपछि एक दिन मैले उसलाई मेसेज गर्ने निर्णय गरेँ। हाम्रो सम्बन्धको यो हिस्साबारे उसले कहिल्यै सोच्यो कि सोचेन, म जान्न चाहन्थेँ।
‘धेरै समय भयो, कुरा नभएको, तिमीलाई कस्तो छ ?’ मैले टाइप गरेँ र डिलिट गरेँ। धेरै बेरपछि बल्ल सेन्ड बटन थिचेँ।
‘सुनाउनलायक एउटा मात्र खबर भनेको मेरो कपाल झर्न थाल्यो,’ उसले उत्तर दियो। मैले उसको प्रोफाइल पिक्चर नियालेँ, आफ्ना घुँगुरिएको कपालबिना ऊ आफ्ना साथीहरूजस्तै लाग्थ्यो।
म के गरिरहेको छु, मैले अलिकति उसलाई भनेँ। उसले मैले सोचेजस्तै तवरले उत्तर दियो, ‘तिमीले बोलाएकोमा म खुशी छु।’ उसको कुरा सुनेर मलाई नेताहरूको सम्झना आयो। हाम्रो सम्बन्धको वर्गीय पाटोबारे उसले कहिल्यै सोच्यो कि सोचेन, म उसलाई सोध्न चाहन्थेँ। के उसले मेरो जीवनबाट केही सिक्यो ? किनभने, मैले उसको जीवन हेरेर धेरै कुरा सिकेकी थिएँ।
‘हाम्रो सम्बन्धले मलाई धेरै थोक सिकायो,’ मैले टाइप गरेँ, ‘हामीजस्ता मान्छे एकअर्कासँग प्रेममा पर्न बेलायतको वर्गीय व्यवस्था उपयुक्त छैन। तिमीले यसबारे कहिल्यै सोच्यौ ? के हामीजस्ता जोडी थुप्रै भएका भए ब्रेक्जिट हुन्थ्यो होला त ? तिमीलाई के लाग्छ ?’
त्यसपछि मैले यो मेसेज डिलिट गरेँ।
(‘द न्युयोर्क टाइम्स’बाट। ज्याक्सन अस्ट्रियाको युनिभर्सिटी अफ भियनाको जर्मन लिंग्विस्टिक डिपार्टमेन्टमा काम गर्छिन्। अनुवादः कवि आचार्य)