काठमाडौँ, डल्लुमा जन्मिएकी हुन्, गायिका सोना अमात्य। संगीतमा रुचि भएकाले उनले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी हुन्। ‘त्यो बेला धेरै गुरुहरूसँग संगीत सिकेँ,’ उनी भन्छिन्, ‘अहिले शशिविक्रम केसीसँग शास्त्रीय संगीत सिकिरहेकी छु।’ बाल्यकालमा पनि फुर्सद हुनेबित्तिकै उनी गीत गाउन थाल्थिन्। ‘फुर्सद हुनेबित्तिकै गीत गाइहाल्थेँ,’ सोना भन्छिन्, ‘गीत गाउन कसैको रोकटोक थिएन। परिवारमा सबैले सपोर्ट गर्नुहुन्थ्यो।’
सन् २०१४ बाट उनको सांगीतिक यात्रा सुरु भयो। उनले गाएको पहिलो गीत ‘पल पल’ हो। यसमा उनले कलाकार मदनकृष्ण श्रेष्ठसँग गाएकी छिन् र मोडलिङ पनि उनैसँग गरेकी छिन्। ‘पहिलो गीत नै मदन दाइसँग गाउन पाउनु मेरो लागि ठूलो कुरा थियो,’ उनी सम्झिन्छिन्, ‘एक्लै गीत गाएको देखेर मलाई हौसला दिन उहाँले मसँग गीत गाउनुभयो।’
‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत गीत उनले गाएकी छिन्। आफ्ना गीतमा प्रायः उनी आफैँ मोडलिङ गर्छिन्। ‘मोडलिङ गर्छु भनेर गरेको होइन,’ उनी भन्छिन्, ‘मोडलिङको कोसिस मात्र गरेकी थिएँ। दर्शकले रुचाउनुभयो। दर्शकको मायाले गायिका र मोडल दुवै बनायो।’
देख्दा सामान्य लागे पनि गीत गाउनु चानचुने काम नभएको उनी बताउँछिन्। ‘एक गीत बनाउँदा कम्पोज, एरेन्ज, रेकर्डिङ र भिडियो गर्दा धेरै मेहनत परेको हुन्छ,’ उनी सुनाउँछिन्, ‘बजारमा जानुअघि धेरै अभ्यास गर्नुपर्छ।’ गीत रिलिज भएपछि कतिपयले गीतै नसुनी नचाहिने कमेन्ट गरेको देख्दा उनलाई नरमाइलो महसुस हुन्छ। ‘कतिपयले राम्रोसँग गीत नै नसुनी नराम्रो कमेन्ट गर्छन्,’ उनी गुनासो पोख्छिन्, ‘त्यो देख्दा दुःख लाग्छ।’
जेजस्तो भए पनि यस्ता कमेन्टले आफूलाई अझै राम्रो काम गर्ने प्रेरणा दिने उनी बताउँछिन्। ‘मेरा गीत मन नपराउनेलाई पनि धन्यवाद दिन्छु,’ उनी भन्छिन्, ‘गीत गाउँदा मलाई आनन्द लाग्छ, त्यसैले गाएकी हुँ। म यहाँ प्रतिस्पर्धा गर्न आएकी होइन।’ सोनाले पप, आधुनिक र शास्त्रीय भनेर आफ्ना गीतलाई छुट्याएकी छैनन्। ‘म जस्तो पनि गीत गाउन रुचाउँछु,’ उनी भन्छिन्।
आफू तारादेवी, नारायणगोपाल, अरुणा लामा र बलिउड गायिका लता मंगेशकरबाट प्रभावित भएको उनी बताउँछिन्। ‘नारायणगोपाल र तारादेवीका गीत नसुनी त चित्तै बुझ्दैन,’ उनी भन्छिन्, ‘उहाँहरूको गीत सुनेरै मेरो दिन सुरु हुन्छ। उहाँहरूकै गीतले नै मलाई संगीतमा लाग्ने प्रेरणा दिएको हो।’
‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर गरेकी सोना उद्यमीसमेत हुन्। उनको आफ्नै विज्ञापन एजेन्सी छ। उनी मेहनतमा विश्वास गर्छिन्। ‘अफिस र संगीतको तालमेल मिलाउन कहिलेकाहीँ हम्मे–हम्मे पर्छ,’ उनी सुनाउँछिन्, ‘अफिसबाट बचेको समय गीतका लागि छुट्याउँछु। जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै इच्छा भएमा समय त जसरी पनि मिलाउन सकिँदो रहेछ।’
काममा व्यस्त रहन रुचाउने उनलाई युवा पुस्ता अल्छी भएर बसेको फिटिक्कै मन पर्दैन। ‘युवाले आफ्नो समय बर्बाद गर्नु हुँदैन,’ उनी भन्छिन्, ‘आफूलाई केही न केही काममा व्यस्त राख्नुपर्छ।’ अरूको कुरा काट्ने र गसिप बनाउने मान्छे उनलाई मन पर्दैन। ‘अरूको कुरा काट्नुभन्दा आफ्नो काममा व्यस्त हुन बेस हो,’ सोना भन्छिन्।
गायनमा राम्रो भविष्य छ भन्ने लाग्छ उनलाई। भन्छिन्, ‘मेहनतीलाई यो क्षेत्रमा टिक्न खासै गाह्रो छैन।’ सोनाले गायन क्षेत्रमा केही अवार्डसमेत हात पारेकी छिन्। ‘तिम्रो र मेरो सम्बन्ध’ बोलको गीतका लागि उनले सन् २०१७ मा इमेज अवार्ड जितेकी थिइन्।
घुमघाममा सोखिन सोना समय–समयमा घुम्न निस्किन्छिन्। ‘स्वदेश र विदेशका थुप्रै ठाउँ घुमिसकेँ,’ उनी सुनाउँछिन्, ‘म सोलो ट्राभलर हुँ। मलाई एक्लै घुम्न मन पर्छ। घुमफिर गर्दा एकखालको सकारात्मक ऊर्जा मिल्छ।’ विदेश जति घुमे पनि उनलाई नेपालै राम्रो लाग्छ, प्यारो लाग्छ। ‘जहाँ, जता गए पनि आफ्नै देश राम्रो लाग्दो रहेछ,’ उनी भन्छिन्।