उदितलाई धम्कीको ओइरो

भारतीय फिल्म उद्योगमा गायक उदितनारायण झाका चार दशक पूरा भएका छन् । सन् १९८० मा उनले पहिलो पटक फिल्म ‘उन्नीस बीस’ का लागि गीत गाएका थिए । राजेश रोशनको संगीत रहेको गीत अमित खन्नाले लेखेका थिए । त्यो गीत उदितले गायक मोहम्मद रफीसँग गाएका थिए ।
बलिउडमा ४० वर्ष पूरा गरेको अवसरमा उदित आफ्नो युट्युब च्यानल लन्च गर्दै छन् । यस अवधिमा उनले पद्मश्रीर पद्मभूषण हासिल गरेका छन् । पाँच पटक फिल्म फेयर अवार्ड जितेका छन् । ४० भाषामा गीत गाएका छन् । तर, यो उपलब्धि उनले सजिलै हात पारेका होइनन् । भारतीय मिडियासँग कुराकानी गर्दै उनले भने, ‘सन् १९८० ताका काम पाउन निकै संघर्ष गरियो । मुम्बईमा छसात जना मान्छेसँग कोठा सेयर गरेर बस्थेँ । धेरैले त्यतिबेला ‘यसले केही गर्न सक्दैन’ पनि भन्थे । धेरै संगीतकारका ढोका चहारेँ । प्रतिभा हुँदाहुँदै पनि कामका लागि बिन्तीभाउ गरेँ । बल्ल काम पाइयो । सन् १९८८ मा फिल्म ‘कयामत से कयामत तक’मा गीत गाएपछि अगाडि बढेँ ।’
सन् १९९८ मा फिल्म ‘कुछ कुछ होता है’ रिलिज भयो । त्यसमा उदितले गीत गाएका थिए । फिल्मका गीत हिट भए । त्यसपछि आफूलाई पैसाका लागि धम्काउँदै थुप्रै फोन आउने गरेको उनले भारतीय मिडियालाई बताए । ‘मलाई काम छोड्नसमेत भनियो,’ उनले भने, ‘मेरो कामबाट आफूलाई असुरक्षित महसुस गर्नेले मलाई मार्ने सुपारीसमेत दिएका थिए ।’ धम्की दिने क्रम सन् १९९८देखि २०१९ सम्म चलेको उनले बताए । ‘हरेक दुईचार महिनामा त्यस्ता फोन आइहाल्थे,’ उनले भने, ‘मलाई मार्ने धम्कीसमेत दिइयो । अश्लील गाली त सामान्य कुरा भए ।’२०–२२ वर्ष आफू डरैडरले बाँचेको उनले बताए । ‘म धेरै कमाउँदिनथेँ,’ उनले भने, ‘एउटा गीतको १५ देखि २० हजार भारु पाउँथेँ । त्यो मेरो मेहनतको कमाइ थियो । धम्काउनेलाई यी कुरा सम्झाउँदा सम्झाउँदा हैरान भएँ ।’
धम्काउनेको उद्देश्य आफूलाई तनाव दिनु रहेको उनले बताए । ‘उनीहरू मलाई तनाव दिन चाहन्थे,’ उनले भने, ‘जसले गर्दा मेरो प्रस्तुतिमा असर पुगोस् । मलाई राम्रो गाउन नसक्ने बनाउन चाहन्थे । सुरु–सुरुमा डर लाग्थ्यो । राति निद्रा लाग्थेन । डिप्रेसन भयो । आत्महत्या गर्थे सोचसमेत आयो । तर, आफूलाई सम्हालेँ ।’
रणदीपका गुरु नसिरुद्दिन

गुरुपूर्णिमाको अवसरमा अभिनेता रणदीप हुड्डाले इन्स्टाग्राम अकाउन्टमा आफ्ना गुरु प्रसिद्ध अभिनेता नसिरुद्दिन शाहको प्रशंसा गर्दै पोस्ट गरेका छन् । उनले आफ्नो र नसिरुद्दिनको एउटा पुरानो फोटो इन्स्टामा राखेका छन् । साथै, लेखेका छन्– ‘जब हामी मेरो पहिलो फिल्म ‘मनसुन वेडिङ’ को प्रिमियरका लागि भेनिस फिल्म फेस्टिभलमा जाँदै थियौँ । त्यतिबेला मलाई थाहा थिएन, एउटा अभिनेताका रूपमा नसिरुद्दिनले मलाई यति प्रभावित गर्नेछन्, जसरी उनले अनगिन्ती मानिसलाई आफ्नो उम्दा अभिनयको प्रशंसक बनाएका छन् ।’
‘मैले उनका थुप्रै कार्यशालामा भाग लिएको छु,’ रणदीपले थप लेखेका छन्, ‘तिनमा उनले वर्षौंसम्म निःशुल्क काम गरेका थिए । अहिले पनि उनको त्यो कार्य जारी नै छ । गुरुपूर्णिमामा उनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’
गुरुपूर्णिमामा आमाबुबाको सम्झना

अभिनेता सञ्जय दत्तले गुरुपूर्णिमामा आफ्ना आमाबुबालाई सम्झिएका छन् । आमाबुबासँगका एउटा फोटो पोस्ट गरका छन् । ‘आज आमाबुबा मसँग हुनुहुन्न,’ सञ्जयले लेखेका छन्, ‘तर, उहाँहरूको आशीर्वाद सधैँ ममाथि रहनेछ । उहाँहरू नै मेरो पहिलो शिक्षक हुनुहुन्थ्यो । जीवनका हरेक पाइलामा उहाँहरूले मेरो मार्गदर्शन गर्नुभयो ।’
गुरुपूर्णिमाको अवसरमा सञ्जयले गरेको यस ट्वीटमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन् । धेरैले सञ्जयका आमाबुबा सुनील दत्त र नरगिसको प्रशंसा गरेका छन् ।
बिजुलीको बिलले हैरान

केही समययता बत्तीको चर्को महसुलबाट बलिउड सेलिब्रिटी हैरान भएका छन् । केही दिनअघि अभिनेत्री तापसी पन्नूले आफ्नो घरको बत्तीको बिल धेरै आएको भन्दै सामाजिक सञ्जालमा बिलको तस्बिर राखेकी थिइन् । अब अभिनेता अरसद वारसी यसबारे बोलेका छन् । ट्वीटर अकाउन्टमा उनले बत्तीको महसुल चर्को भएको र यस महिना आफ्नो बैंक खाताबाट महसुलका लागि एक लाख रुपैयाँभन्दा बढी रकम काटिएको बताएका छन् । ‘यस खर्चलाई मिलाउन पेन्टिङ बेच्ने योजना बनाइरहेको छु,’ रमाइलो ट्वीट गर्दै उनले लेखेका छन्, ‘अर्को महिनाको बत्तीको बिलका लागि मिर्गौला बेच्ने सोच छ । कृपया, मेरो पेन्टिङ किन्नुहोस् ! मलाई यस महिनाको बत्तीको बिल तिर्नु छ ।’