जो टाढिएर फेरि नजिकिए

एजेन्सी     २० फागुन २०७७, बिहिबार
जो टाढिएर फेरि नजिकिए

बलिउडका केही सेलिब्रिटीबीच गहिरो मित्रता छ। वर्षौंदेखि मित्र रहेका उनीहरू एकअर्कोलाई प्रेम गर्ने, दुःखसुखमा साथ दिने गर्छन् भने झैझगडा पनि गर्ने गर्छन्। झगडा गरेर केही समय टाढिए पनि केही बेस्ट फ्रेन्ड भने अहिले सँगै छन्।

अजय–रोहित


करन–काजोल

बलिउडका निर्माता-निर्देशक करन जौहर र अभिनेत्री काजोल मिल्ने साथी हुन्। उनीहरूको मित्रता फिल्म ‘कभी खुशी कभी गम’ को सुटिङताका भएको थियो। मित्रता यति गहिरो भयो कि हरेक सानो–ठूलो कार्यक्रममा उनीहरू सँगै देखिन्थे। करनका कतिपय फिल्ममा काजोल मुख्य भूमिकामा छिन्। काजोल भइन् भने फिल्म हिट हुनेमा करन विश्वस्त हुन्थे। पछि उनीहरूको मित्रतामा फाटो आयो। कारण थियो, करनको फिल्म ‘ए दिल है मुश्किल’ र काजोलका श्रीमान् अजय देवगनको फिल्म ‘शिवाय’ सँगै रिलिज हुनु। दुवैले आफ्नो रिलिज डेट बदल्न मानेनन्। स्पर्धामा करनको फिल्मभन्दा अजयको फिल्मलाई धेरै घाटा भयो। श्रीमान्लाई सपोर्ट गर्दै काजोल करनबाट टाढिइन्। करन पनि रिसाए। हरेक फिल्ममा काजोल नभई नहुने करनले आफ्नो बायोग्राफीमा काजोललाई सम्झिँदै सम्झिएनन्। समय बित्दै गएपछि उनीहरूले फेरि एकअर्कालाई सम्झिए। किताबमा काजोलको चर्चा नगरेकोमा करनले नेसनल टेलिभिजनबाट माफी मागे। त्यसयता यी दुई मित्र फेरि सँगै देखिन थालेका छन्।

अजय–रोहित

अभिनेता अजय देवगन र निर्देशक रोहित सेट्टी बाल्यकालका साथी हुन्। रोहितका धेरैजसो फिल्ममा अजय मुख्य भूमिकामा देखिन्छन्। तर, फिल्म ‘दिलवाले’ (सन् २०१५) मा रोहितले अभिनेता शाहरुख खानलाई साइन गरे। यस कारण उनीहरूबीच वैमनस्य पलायो। फिल्म फ्लप भएपछि रोहितले अजयकै कारण आफू यहाँसम्म आइपुगेको बताएका थिए। ‘अजयले त्यतिबेला साथ दिए, जतिखेर मेरा फिल्म फ्लप भइरहेका थिए,’ एक अन्तर्वार्तामा रोहितले भनेका थिए, ‘उनले ममाथि विश्वास देखाए। मसँग काम गरे।’ रोहितले यति भनेपछि अजयको मन पग्लियो। दूरी मेटियो। उनीहरू फेरि सँगै भए। 

शाहरुख–फराह

बलिउडका बेस्ट फ्रेन्डको जोडीमध्ये एक हो, अभिनेता शाहरुख खान र निर्देशक फराह खानको जोडी। केही वर्षअघि दुवैको मित्रतामा फुट पर्‍यो। कारण– फराहका श्रीमान् शिरीष कुंदर आफ्नो फिल्ममा शाहरुखलाई लिन चाहन्थे। तर, शाहरुखले उनको प्रस्ताव अस्वीकार गरे। यस कारण फराह शाहरुखबाट टाढिइन्। पाँच वर्षसम्म दुवैबीच शीत युद्ध चलिरह्यो। बिस्तारै उनीहरूले मनमुटाव बिर्सिए। फेरि एकसाथ देखिन थाले।

सलमान–सञ्जय

अभिनेता सलमान खान र सञ्जय दत्त घनिष्ठ मित्र हुन्। भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने रियालिटी सो ‘बिग बोस’ को पाँचौँ सिजन पहिले सञ्जय दत्त होस्ट गरिरहेका थिए। तर, बीचमा कार्यक्रम निर्माण टिमले सञ्जयको ठाउँमा सलमानलाई ल्याएपछि उनीहरूको सम्बन्ध नराम्ररी बिग्रियो। पानी बाराबार भएको सम्बन्ध सञ्जयले जेल सजाय पाएपछि सुध्रियो। उनी जेलमा हुँदा सलमान धेरै पटक भेट्न गए। त्यहाँदेखि तिक्तता हट्यो र उनीहरू फेरि नजिकिए।

अनुष्का–कट्रिना

अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफको दोस्ती फिल्म ‘जब तक है जान’ बाट सुरु भएको थियो। कतिपय च्याट सोमा उनीहरू सँगै देखिन्थे। अन्तर्वार्तामा केही सोधिएमा उनीहरू एकअर्काको प्रशंसा गर्थे। एकताका उनीहरूको सम्बन्धमा पनि तिक्तता देखियो। कट्रिनाका मेकअप म्यानले उनलाई छोडेर अनुष्कासँग काम गर्न थालेपछि दुवै अभिनेत्रीबीच मनमुटाव भएको हो। तर, उनीहरूको सम्बन्ध सधैँ तीतो रहेन। फिल्म ‘जिरो’ मा सँगै काम गरेर उनीहरूले दूरी हटाए।

प्रतिक्रिया