कतिपय बलिउड सेलिब्रिटीले फिल्ममा शिक्षकको भूमिका निर्वाह गरेका छन्। कोही अनुशासनप्रिय कडा स्वभावका शिक्षकका रूपमा देखापरेका छन्, कसैले मेहनती शिक्षकको भूमिका गरेका छन् भने कोही ग्ल्यामरस शिक्षक बनेका छन्।
अमिताभ बच्चन
अभिनेता अमिताभ बच्चन धेरै पटक फिल्ममा शिक्षक बनेका छन्। फिल्म ‘मोहब्बतें’ मा उनी गुरुकुलका प्रधानाध्यापकका रूपमा देखापरेका थिए। हाँस्नै नजान्ने किसिमको शिक्षक, जो अनुशासनप्रिय कडा स्वभावको हुन्छ। फिल्म ‘मेजर साब’ मा पनि उनी मेजर जसवीर राणा बनेर सेनाका जवानलाई देशका लागि मरिमेट्ने प्रशिक्षण दिइरहेका थिए। फिल्म ‘कसमे वादे’ मा पनि उनले प्रोफेसरको भूमिका निर्वाह गरेका थिए। अमिताभ फिल्म ‘ब्ल्याक’ मा देवराज सहायका रूपमा देखिएका थिए। सुन्न नसक्ने र नेत्रहीन किशोरी मिसेललाई शिक्षित गर्ने भूमिका उनले निर्वाह गरेका थिए। मिसेलको भूमिकामा थिइन्, अभिनेत्री रानी मुखर्जी। देवराजसामु मिसेललाई पढाउनु ठूलो चुनौती थियो। त्यसका लागि उनी दिनरात एक गर्छन्। सिकाउँदा उनी रिसाउँछन्, दुःखी हुन्छन् तर हार मान्दैनन्।
आमिर खान
सन् २००७ मा रिलिज फिल्म ‘तारे जमिन पर’मा अभिनेता आमिर खान शिक्षक बनेका थिए। फिल्ममा शिक्षकका रूपमा उनले पढाउने मात्र नभई आफ्ना विद्यार्थीलाई बुझ्ने काम पनि गरेका थिए। पढ्नलेख्न नसक्ने मानसिक समस्याबाट पीडित एक जना आठ वर्षीय विद्यार्थीको समस्या बुझ्न र त्यसको निदान खोज्नतिर उनी लाग्छन्। शिक्षक र विद्यार्थीको सम्बन्धमा आधारित यस फिल्मलाई दर्शकले खूब रुचाएका थिए।
सुस्मिता सेन
कोरियोग्राफरका रूपमा प्रसिद्ध फराह खान निर्देशित फिल्म ‘मै हूँ ना’ सन् २००४ मा रिलिज भएको थियो। जसमा अभिनेत्री सुस्मिता सेन ग्ल्यामरस शिक्षकका रूपमा देखिएकी थिइन्। चाँदनी चोपडाका रूपमा क्लासमा हुँदा विद्यार्थीको ध्यान पढाइभन्दा सुस्मितामा हुन्थ्यो। चाँदनीकै लागि केटाहरू कक्षामा बस्ने गरेको फिल्ममा देखाइएको थियो।
बोमन इरानी
अभिनेता सञ्जय दत्त अभिनीत फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा बोमन इरानी मेडिकल कलेजका डिन बनेका थिए। जेसी अस्थानाका रूपमा उनको अभिनय सराहनीय थियो। मुन्नाभाई बनेका सञ्जयको क्रियाकलापबाट हैरान अस्थानाले जतिखेर पनि उसलाई कलेजबाट निकाल्ने उपाय खोजिरहन्छन्। फिल्म ‘थ्री इडियट्स’ मा पनि बोमन इन्जिनियरिङ कलेजका प्रिन्सिपल बनेका छन्। जो प्रतिभावान् हुन्छन् तर विद्यार्थीलाई पढाइका लागि दबाब दिइरहन्छन्। तर, फिल्ममा उनको सोचविपरीतका विद्यार्थी बनेका छन्, आमिर खान। जसले किताब घोक्नुभन्दा बुझ्नुमा जोड दिन्छन्। उनीहरूको द्वन्द्वले फिल्मलाई रोचक बनाएको छ।
रानी मुखर्जी
सन् २०१८ मा रिलिज भएको फिल्म ‘हिचकी’ मा अभिनेत्री रानी मुखर्जी शिक्षक बनेकी छ्नि। टुरेट सिन्ड्रोमबाट पीडित शिक्षक बनेकी छिन्, रानी। यस समस्याबाट ग्रस्त व्यक्तिलाई बाडुली लागिरहने र अनौठो आवाज निक्लिने हुन्छ। यस्तो समस्याबाट पीडित रानीले शिक्षक बन्न खोज्दा १८ पटक असफलता हात लाग्छ। उन्नाइसौँ पटक उनी सफल हुन्छिन्। कक्षामा पनि विद्यार्थी उनको मजाक उडाउँछन्। अन्ततः विद्यार्थीहरूको विश्वास जितेर उनी पढाउँछिन्।
ऋतिक रोशन
यसै वर्ष रिलिज भएको थियो, फिल्म ‘सुपर ३०’। भारत, पटनाका गणितज्ञ आनन्द कुमारका बायोपिकमा मुख्य भूमिकामा थिए, अभिनेता ऋतिक रोशन। गरिब तथा जेहेनदार ३० जना विद्यार्थीलाई उनले निःशुल्क कोचिङ दिई इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) सम्म पुर्याउँछन्। फिल्ममा विद्यार्थीका लागि शिक्षकले गर्ने मेहनत र दुःखलाई उम्दा तरिकाले प्रस्तुत गरिएको छ।
गायत्री जोशी
अभिनेत्री गायत्री जोशी पनि ठूलो पर्दामा शिक्षकको भूमिकामा देखिएकी छिन्। फिल्म ‘स्वदेश’ मा उनले आदर्श शिक्षकको भूमिका निर्वाह गरेकी छिन्। जसले गाउँमा रहेर विद्यार्थीलाई पढाउँछिन् र आफ्नो मातृभूमिलाई प्रेम गर्छिन्। फिल्ममा उनले अभिनेता शाहरुख खानसँग काम गरेकी छिन्।