जसका फिल्म  मरणोपरान्त रिलिज भए 

एजेन्सी     ०५ फागुन २०७७, बुधबार
जसका फिल्म  मरणोपरान्त रिलिज भए 

मधुबाला
जमानाकी सुपरहिट अभिनेत्री मधुबालाको मृत्यु सन् १९६९ मा भएको थियो । ‘ज्वाला’ उनले अभिनय गरेको अन्तिम फिल्म थियो, जो सन् १९७१ मा रिलिज भएको थियो । फिल्ममा उनले अभिनेता सुनील दत्तसँग काम गरेकी थिइन् । यो मधुबालाको अभिनय करिअरको एक मात्र रंगिन फिल्म थियो । यसअघि उनले श्याम–श्वेत फिल्ममा मात्रै काम गरेकी थिइन् । उनको ब्लकबस्टर फिल्म ‘मुगल–ए–आजम’ पनि ब्ल्याक एन्ड ह्वाइट थियो । यसलाई पछि रंगिन बनाई पर्दामा देखाइएको थियो ।

मीना कुमारी


अभिनेत्री मीना कुमारीलाई भारतीय सिनेमाकी ‘ट्र्याजिडी क्विन’ भनिन्छ । उनले सन् १९३९ देखि १९७२ सम्म काम गरिन् । उनको अन्तिम फिल्म थियो, ‘गोमती के किनारे’ । यो फिल्म उनको मृत्युपछि सन् १९७२ को नोभेम्बरमा रिलिज भएको थियो । मीना कुमारीको फिल्म ‘पाकिजा’ ब्लकबस्टर भएको थियो । ‘पाकिजा’ रिलिज भएको दुई महिनापछि उनको मृत्यु भयो । तर, ‘गोमती के किनारे’ले ‘पाकिजा’ को इतिहास दोहो¥याउन सकेन । फिल्ममा उनीबाहेक अभिनेत्री मुमताज र अभिनेता भारत भूषणले काम गरेका थिए ।
 
सञ्जीव कुमार


अभिनेता सञ्जीव कुमारको मृत्यु सन् १९८५ मा भएको थियो । मृत्युपछि उनका ‘कत्ल’, ‘बात बन जाए’, ‘लभ एन्ड गड’, ‘दो वक्त की रोटी’, ‘नामुमकिन’ लगायत १० वटा फिल्म रिलिज भएका थिए । तर, ‘प्रोफेसर की पडोसन’ उनको अन्तिम फिल्म बन्न पुग्यो, जो उनको मृत्युको आठ वर्षपछि रिलिज भएको थियो । सो फिल्म सन् १९९३ मा रिलिज भयो । सञ्जीवको मृत्यु हुँदा फिल्मको २५ प्रतिशत सुटिङ बाँकी थियो । त्यसपछि उनलाई रिप्लेस गर्नुको साटो कथामा बदलाव ल्याइयो । उनलाई फिल्मबाट गायब गरियो । उनको आवाज त सुनिन्थ्यो, तर उनी देखिन्थेनन् । उनको आवाजको डबिङ गायक सुदेश भोसलेले गरेका थिए । फिल्ममा उनीसँग पद्मिनी कोल्हापुरी र आशा पारेखले काम गरेका थिए । अमिताभ बच्चन फिल्ममा सूत्रधार थिए । 

दिव्या भारती

अभिनेत्री दिव्या भारतीयको मृत्यु सन् १९९३ मा भएको थियो । दिव्याको मृत्युपछि तीन वटा फिल्म रिलिज भएका थिए । तीमध्ये एक तेलगु फिल्म ‘थोली मुद्धु’ थियो भने दुई हिन्दी फिल्म ‘रंग’ र ‘शतरंज’ थिए । दिव्याको मृत्यु सन् १९९३ अप्रिल ५ मा भएको थियो र फिल्म ‘शतरंज’ त्यही वर्षको डिसेम्बरमा रिलिज भएको थियो । त्यसलाई नै उनको जीवनको अन्तिम फिल्म मानिन्छ । फिल्म उनको मृत्युको आठ महिनापछि रिलिज भएको थियो । दिव्याले फिल्मको सुटिङ सकाइसकेकी थिइन् । तर, आवाजका लागि डबिङ आर्टिस्टको सहयोग लिइयो । ‘शतरंज’ मा उनीसँग अभिनेता जैकी स्रोफ, मिथुन चक्रवर्ती र अभिनेत्री जुही चावलाले काम गरेका थिए ।

राजेश खन्ना


सन् २०१२ मा अभिनेता राजेश खन्नाको मृत्यु हुँदा उनका दुइटा फिल्मको काम भइरहेको थियो । ‘जानलेवा ब्ल्याक ब्लड’ फिल्म रिलिजै भएन । फिल्म ‘रियासत’ उनको अभिनय करिअरको अन्तिम फिल्म बन्न पुग्यो । अभिनेताको मृत्युको दुई वर्षपछि रिलिज भएको सो फिल्म बी–ग्रेड किसिमको थियो । फिल्मका कतिपय दृश्यमा राजेशको बडी डबल प्रयोग गरिएको थियो । 

फारुख शेख


‘यंगिस्तान’ र ‘चिल्ड्रेन अफ वार’ जमानाका हिरो फारुख शेखको करिअरका अन्तिम फिल्म बने । उनको मृत्यु सन् २०१३ को डिसेम्बरमा भएको थियो । ठूलो पर्दामा रिलिज भएकाले ‘यंगिस्तान’लाई उनको अन्तिम फिल्म मानिन्छ । सन् २०१४ मा रिलिज भएको ‘चिल्ड्रेन अफ वार’ उनको मृत्युको पाँच महिनापछि रिलिज भएको थियो ।

शम्मी कपुर


अभिनेता शम्मी कपुरको अन्तिम फिल्म ‘रकस्टार’ थियो । यसमा उनले नाति रणवीर कपुरसँग काम गरेका थिए । फिल्म नोभेम्बर २०११ मा रिलिज भएको थियो भने शम्मीको मृत्यु सोही वर्ष अगस्टमा भएको थियो । मृत्युको तीन महिनापछि रिलिज भएको फिल्ममा उनी शहनाईवादक उस्ताद जमिल खानको भूमिकामा देखिएका थिए । 

प्रतिक्रिया