काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनले भने, ‘ढुङगानाले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको र निजले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ ।’
यसैगरी निजसँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंकमा हालसम्म रु दुई अर्ब एक करोड १८ लाख ४४ हजार कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।
बिनान्समार्फत दुई वटा खाता प्रयोग गरेर विभिन्न दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म नेपाली रु एक अर्ब ३४ करोड कारोबार गरेको भेटिएको जानकारी दिइएको थियो ।
मानव तस्करीको आरोपमा तीन पक्राउ
अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ऋषिङग गाउँपालिका–२ का ४८ वर्षीय जङ्गबहादुर विक (बराल), सोही ठाउँका ४३ वर्षीय विष्णुबहादुर बराली तथा ओखलढुङगा खिजिदेम्बा गाउँपालिका–२ का ४८ वर्षीय जगतबहादुर तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार परेकाहरुले अमेरिका, क्यानडालगायतका मुलुकहरुमा रु चार लाखभन्दा बढीको आकर्षक तलब हुने प्रलोभनमा पारी अमेरिकाका जानका लागि प्रतिव्यक्ति रु ४० देखि ५० लाख र क्यानडा जानका लागि प्रतिव्यक्ति रु २२ देखि ३० लाखसम्म गरी १० जनाबाट रु पाँच करोड ५० लाख रकम ठगी गरेका थिए । उनीहरु नेपालमा टासी शेर्पा, ङिमवुटी शेर्पा र निमा शेर्पालाई एजेन्टका रुपमा प्रयोग गरी भारतको नयाँ दिल्लीमा बसेर सङ्गठित रुपमा मानव तस्करी एवम् ठगीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुर गड्डाचौँकी नजिक लुकीछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।