काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले वर्तमान सत्ता समीकरणलाई दिगो, परिणाममुखी र सफल बनाउने सङ्कल्प गरेको छ ।
बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि तयार गरिएको निष्कर्षमा मुलुकमा स्थिरता र राष्ट्रियताको संवद्र्धनका लागि सत्ता समीकरणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसका विरुद्ध हुने कुनै पनि चलखेल र षड्यन्त्र चिर्न आह्वान गरेको बैठकपछि सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनले गत फागुन २१ गते निर्मित यस गठबन्धनप्रति सन्तोष व्यक्त गर्दै गठबन्धनमा संलग्न पाँच दलले जारी गरेको साझा न्यूनतम् कार्यक्रमलाई अघि बढाउन जोड दिएको बताए।
बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल भएको थियो ।