सोलुखुम्बु र भोजपुर जिल्लाको सिमानामा सहिद गेट निर्माणमा अनियमितता

राम्रो अनलाइन     ०६ साउन २०८२, मङ्गलबार
सोलुखुम्बु र भोजपुर जिल्लाको सिमानामा सहिद गेट निर्माणमा अनियमितता

सोलुखुम्बु–सोलुखुम्बु जिल्ला र भोजपुर जिल्लाको सिमानामा  निर्माण भइरहेको  शहिद गेटमा आर्थिक अनियमितता भएको पाइएको छ ।

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँ पालिका वडा नं.४ र भोजपुर जिल्ला साल्पा सिलिचोङ गाउँ पालिका वडा नं.५ को सिमाना कुलुपुङ् डाँडामा ३५ लाखको लागतमा निर्माण भइरहेको सहिद गेट निर्माणमा अनियमितता भएको पाइएको हो ।

शहिद गेट निर्माण गर्ने योजनाको शिर्षकमा तत्कालीन महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँती र वडा नं.४ को तत्कालीन वडा अध्यक्ष जयकुवेर राईको कार्यकालमा शहिद गेट निर्माण गर्न गाउँ पालिका परिषदबाट दुई पटक र कोशी प्रदेश सरकारबाट एक पटक गरी जम्मा रू. ३५,००,०००  (पैँतिस लाख रुपैयाँ) सरकारी बजेट विनियोजन गरिएको तर केही व्यक्तिहरूको समुहले सरकारी बजेटमाथि दुरुपयोग गर्दै उक्त गेट निर्माण कार्य सम्पन्न नगराइ अलपत्र अवस्थामा छाडेकोले आर्थिक अनियमितता गरेको तथ्य प्रकाशमा आएको हो ।

प्रकाशनमा आएको तथ्यअनुसार महाकुलुङ गाउँपालिकाको तत्कालीन अध्यक्ष सागर किराँतीको पालोमा दुईपटक आव २०७४/०७५ मा रू. १५,००,००० र आव २०७८/०७९ मा रू. १०,००,००० गरी जम्मा रू. २५,००,००० (पच्चीस लाख रुपैयाँ) विनियोजित भएको तर निर्माण काम अलपत्र छोडेको हो ।

यस्तै कोशी प्रदेश सरकारले आव २०७८/०७९मा रू. १०,००,००० (दश लाख) रुपैयाँ विनियोजित गरेको तर निर्माण कार्यमा उन्नति नभएको, सोलुखुम्बु जिल्ला र भोजपुर जिल्लाको वास्तविक सिमाना क्षेत्रभन्दा करिब २०० मिटर भित्र पारेर गेट निर्माण गरेकोले सोलुखुम्बु जिल्लाको वास्तविक सिमानामा विवादास्पद बनाएको, यस्तै उक्त गेट सोलुखुम्बु र भोजपुर जोड्ने मुल गोरेटो बाटो ‘मुन्धुम ट्रेल ’ भन्दा करिब ५० मिटर माथि पर्ने भएकोले उपयोग विहीन साथै अलपत्र अवस्थामा छोडिएको छ । 

निर्माण सामग्रीहरू गुणस्तरहिन र कमसल प्रयोग गर्नुको साथै निर्माण कार्य समय अवधिभित्र सम्पन्न नगराइ अलपत्र अवस्थामा छोडेको, त्यसका साथै जानीजानी भ्रष्टाचार गर्ने नियतले जनताको बसोबास रहेको ठाउँमा नभइ एकान्त ठाउँमा अनावश्यक मात्रामा देखावटी गेट निर्माण कार्यको नाममा सरकारी बजेटलाई अनावश्यक फजुल खर्च गरेको तथा तत्कालीन गाउँपालिकाको उपाध्यक्ष एवम् योजना अनुगमन समितिको संयोजक बिपना कुलुङले आयोजनाको अनुगमनमा फितलोपन देखाएको हुनाले स्थानीय सञ्चार माध्यमलाई पटकपटक जानकारी गराउँदा समेत स्थानीय सञ्चारकर्मीहरू आर्थिक तथा राजनीतिक प्रभाव र प्रलोभनमा परेर सत्य तथ्यको छानबिनमा ध्यान नदिनुको साथै खोजी नगरिएको तथ्यहरु प्रकाशनमा आएका छन्।

प्रतिक्रिया