यसम माध्यमिक विद्यालयमा झोला वितरण कार्यक्रम सम्पन्न

राम्रो अनलाइन     ०८ असार २०८३, सोमबार
यसम माध्यमिक विद्यालयमा झोला वितरण कार्यक्रम सम्पन्न

ओखलढुङ्गा–ओखलढुङ्गा विपद् व्यवस्थापन समाजद्वारा लिखु गाउँपालिका–४ स्थित यसम माध्यमिक विद्यालयमा झोला वितरण तथा प्रेरणादायी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई झोला वितरण गर्नुका साथै शिक्षा, अनुशासन, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माणका विषयमा प्रेरणादायी सन्देश दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका अध्यक्ष गुरु केदार बरालको खुलेर प्रशंसा गर्दै भने, “गुरु केदार बरालले कति राम्रो काम गर्नुभयो भन्ने सबैलाई थाहा नहुन सक्छ, तर उहाँले अहिलेसम्म नराम्रो काम गर्नुभएको छैन। समाज र शिक्षाको क्षेत्रमा उहाँले निस्वार्थ भावले गरिरहनुभएको योगदान साँच्चिकै प्रशंसनीय छ।” उनले यस्ता सामाजिक तथा शैक्षिक अभियानले गाउँपालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा मन्तव्य राख्दै समाजका अध्यक्ष गुरु केदार बरालले विद्यालयको नाम  ‘यसम’ को अर्थ स्पष्ट पार्दै भने, “यसम शब्दको अर्थ कृति, ख्याति र प्रख्याति हो। यो विद्यालयको नाम जस्तै यहाँ अध्ययन गर्ने विद्यार्थीहरू पनि आफ्नो कर्म, क्षमता र व्यवहारले समाजमा चिनिने, सम्मानित र प्रख्यात बन्न सक्नुपर्छ।” उनले यसम माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरका साथै अनुशासन र संस्कारमा समेत उदाहरणीय बन्नुपर्ने धारणा व्यक्त गरे । 

विद्यार्थीहरूलाई प्रेरित गर्दै अध्यक्ष बरालले लिखु गाउँपालिकाका विद्यार्थीहरूलाई उखुसँग तुलना गरे । उनले भने, “उखुबाट खुदो बनाउन सकिन्छ, चिनी बनाउन सकिन्छ र त्यसलाई सिधै चपाएर पनि खान सकिन्छ। एउटै उखुका धेरै उपयोगिता हुन्छन्। त्यसैगरी लिखु गाउँपालिकाका विद्यार्थीहरू पनि जीवनका हरेक क्षेत्रमा सक्षम, उपयोगी र सफल बन्नुपर्छ। आफ्नो ज्ञान र क्षमताले समाजलाई मिठास दिन सक्ने व्यक्ति बन्नुपर्छ।” उनले पृथ्वीमा पानीको महत्वसँग शिक्षा र जीवनलाई जोड्दै थपे, “पृथ्वीको अधिकांश भाग पानीले ढाकेको छ र जीवनको आधार पनि पानी नै हो। त्यसैगरी विद्यार्थी जीवनको आधार शिक्षा हो। शिक्षा बिना उज्ज्वल भविष्य सम्भव छैन। त्यसैले विद्यार्थीहरूले मेहनत, अनुशासन र सकारात्मक सोचलाई कहिल्यै छोड्नु हुँदैन।”

अध्यक्ष बरालले प्रमुख अतिथि अशोक कार्कीको प्रशंसा गर्दै उहाँ विकासप्रेमी र जनताको भावना बुझ्ने जनप्रतिनिधि भएको उल्लेख गरे। उनले भने, “अशोक कार्कीज्यूले गाउँपालिकाको विकासका लागि निरन्तर काम गरिरहनुभएको छ। उहाँ असल र जनताको भावना बुझ्ने जनप्रतिनिधि हुनुहुन्छ। उहाँको नेतृत्वमा लिखु गाउँपालिकाले अझ धेरै विकास गर्ने विश्वास लिएको छु।” यसै क्रममा उनले लिखु गाउँपालिकाभरिका सडकहरू क्रमशः कालोपत्रे गर्नुपर्ने आवश्यकता औँल्याउँदै गाउँपालिका अध्यक्ष कार्कीसँग आग्रह गरे । “लिखु गाउँपालिकाभरिका सडकहरू कालोपत्रे हुँदै जानुपर्छ। सडक विकाससँगै शिक्षा, स्वास्थ्य र समग्र जनजीवनमा ठूलो परिवर्तन आउँछ। गाउँपालिकाले यस विषयलाई प्राथमिकतामा राखेर काम गरोस् भन्ने हाम्रो अपेक्षा छ।”

कार्यक्रममा बोल्दै अधिवक्ता सुरेन्द्र बोगटीले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विपद्का बेला मात्र नभई शिक्षा र सामाजिक क्षेत्रमा समेत निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, “समाजले विद्यालय क्षेत्र र विद्यार्थीहरूको भविष्य निर्माणका लागि गरेको योगदान अत्यन्तै प्रशंसनीय छ। यस्ता अभियानले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने काम गर्दछ।”

त्यसैगरी दीपक कटुवालले गुरु केदार बरालको प्रशंसा गर्दै भने, “गुरु केदार बराल केवल संस्थाको अध्यक्ष मात्र होइन, उहाँ समाजप्रति उत्तरदायी र शिक्षाप्रति समर्पित व्यक्तित्व हुनुहुन्छ। उहाँजस्ता व्यक्तिहरूको सक्रियताले नै समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ। आज उहाँले गरिरहनुभएको कामले धेरै विद्यार्थीहरूको भविष्य उज्यालो बनाइरहेको छ।”

विद्यालयका प्रधानाध्यापक चन्द्र श्रेष्ठले विद्यालय परिवारको तर्फबाट ओखलढुङ्गा विपद् व्यवस्थापन समाजप्रति विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष गुरु केदार बरालको खुलेर प्रशंसा गरे । उनले भने, “गुरु केदार बरालको नेतृत्वमा समाजले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन गरेको योगदान अत्यन्तै प्रशंसनीय छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह थपिएको छ।”

विद्यालयका लागि झोला सहयोग जुटाउन तथा सम्बन्धित निकायसँग समन्वय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी शिक्षिका कमला बस्नेतलाई कार्यक्रममा विशेष रूपमा प्रशंसा गरिएको थियो। अध्यक्ष बरालले उनको सक्रियता र समर्पणको प्रशंसा गर्दै भने, “कमला बस्नेतजस्ता समर्पित शिक्षक–शिक्षिकाको पहल र मेहनतले नै विद्यार्थीहरूको भविष्य उज्यालो बन्छ। विद्यालय र विद्यार्थीको हितका लागि उहाँले गर्नुभएको प्रयास साँच्चिकै अनुकरणीय छ।”

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश खत्रीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सह–प्रधानाध्यापक महेन्द्र खड्काले गरेका थिए । स्वागत मन्तव्य शिक्षिका सरिता खड्काले व्यक्त गरेकी थिइन् । 

कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरु बरालले यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याएको कृषि विकास बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उनले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले यसअघि पनि लिखु गाउँपालिकाका विभिन्न विद्यालयका धेरै विद्यार्थीहरूलाई झोला वितरण गरिसकेको जानकारी दिँदै आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

झोला वितरणको यो कार्यक्रमले विद्यार्थीहरूको हातमा शैक्षिक सामग्री मात्र होइन, मनमा नयाँ उत्साह, प्रेरणा र उज्ज्वल भविष्यको सपना समेत सुम्पिएको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया