संवैधानिक संस्थाहरूको गरिमा बचाउन राष्ट्रपतिलाई विवेकशील साझा आग्रह 

राम्रो अनलाइन     २० असोज २०८०, शनिबार
संवैधानिक संस्थाहरूको गरिमा बचाउन राष्ट्रपतिलाई विवेकशील साझा आग्रह 


काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्बर्धन अभियान’ बारे जानकारी गराएको छ । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विशेष ध्यानाकर्षण गराएको हो।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको सम्वृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलियकरणवाट मुक्त गर्नु पर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराएको थियो।

प्रतिनिधि मण्डलले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिंदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोधसमेत गरेको छ । भेटका क्रममा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र सम्वर्धन गरेर मुलुकको सम्वृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । 

प्रतिक्रिया