संसारकै अग्ला श्रीमान्–श्रीमती

एजेन्सी     २६ जेठ २०७८, बुधबार
संसारकै अग्ला श्रीमान्–श्रीमती

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार हालसम्मकै सबैभन्दा अग्ला श्रीमान्–श्रीमती हेनिङ स्वान र मार्टिन भान बुरेन बेट्स हुन्। सन् १८७१ मा उनीहरूको बिहे भएको थियो। बिहे हुँदा अन्ना ७ फिट ११ इन्च अग्ली थिइन् भने बुरेनको उचाइ ७ फिट ९ इन्च थियो। सन् १८४६ मा क्यानडाको नोभा स्कटियामा जन्मेकी अन्ना ११ वर्षकै उमेर ६ फिट २ इन्च अग्ली थिइन्।

उचाइकै कारण उनले सर्कसमा काम पाइन्। करिब आठ फुट अग्ली, भीमकाय ज्यानकी अन्नालाई हेर्न सयौँ मान्छे आउँथे। विशाल र अग्लो शरीरका कारण उनले भोग्नुसम्म असुविधा पनि भोगिन्। एक पटक त आगलागीमा परेर झन्डै ज्यान गुमाएकी थिइन्। उनले काम गर्ने सर्कसको एउटा घरमा आगो लाग्दा अरूले झ्यालबाट बाहिर निक्लेर ज्यान जोगाए। उनी भने ठूलो ज्यानका कारण झ्यालबाट छिर्दै छिरिनन्। अग्निनियन्त्रकहरूले पनि उनलाई बोक्न सकेनन्। अन्त्यमा क्रेन मगाएर उनको उद्धार गरिएको थियो।  

उनी सर्कससँग घुम्दै विभिन्न देश पुग्थिन्। सन् १८६८ मा अमेरिका गएकी थिइन्। त्यहाँ कनेक्टिकटनिवासी गृहयुद्ध लडेका क्याप्टेन मार्टिनसँग उनको भेट भए। उनी ७ फिट ९ इन्च अग्ला थिए। अग्ली महिला र अग्लो पुरुष प्रेममा परे र त्यसपछि बिहे गरे। संसारकै अग्लो जोडीले बिहेमा विश्वभरिबाट शुभकामना र उपहार प्राप्त गर्‍यो। ब्रिटेनकी महारानी भिक्टोरियाले अन्ना र मार्टिनलाई हिराजडित दुइटा सुनको घडी पठाएकी थिइन्। 
बिहेपछि ओहायोमा उनीहरूले विशेष खालको घर बनाए। घरको सिलिङ, ढोका र फर्निचर सबैको उचाइ सामान्यभन्दा बढी थियो। अग्ला दम्पतीका दुई सन्तान जन्मिए पनि बाँचेनन्। 

उचाइका कारण अन्ना र मार्टिनले अन्तर्राष्ट्रिय ख्याति हासिल गरेका थिए। सन्  सन् १८८८ मा अन्ना बितिन्। मार्टिनले युरोपबाट १५ फिट अग्लो ग्रिक देवीको मूर्ति मगाएर अन्नाको समाधिस्थलमा राखे। विश्वको सबैभन्दा अग्लो श्रीमान्को मृत्यु सन् १९१९ मा भयो। 

प्रतिक्रिया