सङ्कल्प यात्रा प्रतिवेदनबारे एमालेले गर्‍यो सचिवहरुसँग छलफल

राम्रो अनलाइन     ०२ फागुन २०८०, बुधबार
सङ्कल्प यात्रा प्रतिवेदनबारे एमालेले गर्‍यो सचिवहरुसँग छलफल


काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समृद्धिका लागि सङ्कल्प अभियानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा आज नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरुसँग छलफल गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चुवा भञ्ज्याङ’ अभियानका क्रममा तयार पारेको ज्ञापनपत्र गत माघ ९ गते प्रधानमन्त्री दाहाललाई बुझाएको थियो । सोही ज्ञापनपत्र कार्यान्वयनको अनुगमनका सिलसिलामा आज सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिवलगायतसँग छलफल भएको एमालेले जनाएको छ । सो अवसरमा एमाले उपाध्यक्ष विष्णु पौडेलसहित सो पार्टीका मुख्य सचेतक पदम गिरी पनि उपस्थित थिए। 

एमालेले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि मेचीको चुवा भञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरेको थियो ।
        
छलफलका क्रममा उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रमा पछिल्लो समय बसाइँसराइको गति तीव्र भएको, खेतीयोग्य जमिन बाँझो हुँदै गएको, घरहरु खण्डहरु बन्दै गइरहेको भन्दै बसाइँसराइ कम गर्न अध्ययन गरी काम अगाडि बढाउन आवश्यक रहेको बताए। 

उपाध्यक्ष पौडेलले मध्यपहाडी लोकमार्गलगायत विभिन्न राजमार्गको काम अगाडि बढाउन र पहाडी क्षेत्रमा गर्न सकिने विकासका काम सरकारले यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘पहाडी क्षेत्रमा बसाइँ सर्नेक्रम तीव्र छ, बसाइँसराइले पहाड रित्तिँदै छ, बसाइँसराइ रोक्न के गर्न सकिन्छ त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस्’, उनले भने। 

मुख्यसचिव डा वैकुण्ठ अर्यालले ज्ञापनपत्रमा प्राप्त सुझाव महत्वपूर्ण हुने भन्दै सुझावअनुसार कार्यान्वयन गरिने उल्लेख गरे । उनले भने, ‘ज्ञापनपत्र दराजमा थन्क्याइने छैन, कुन मन्त्रालयबाट के गर्न सकिन्छ त्यो विषयमा छलफल गरी कार्यान्वयन प्रक्रियामा जानेछौँ ।’

प्रतिक्रिया