रंगमञ्चबाट युट्युब हुँदै फिल्ममा परिचित बनेका अभिनेता हुन्, अमृत ढुंगाना । सात वर्षअगाडि सुरु भएको अभिनय यात्रामा उनले थुप्रै नाटक, सर्ट मुभीदेखि फिल्ममा काम गरिसकेका छन् । धरानमा जन्मिएका अमृत प्लस टूको पढाइ सकेपछि काठमाडौँ भित्रिएका थिए । बाल्यकालबाटै अभिनयमा रुचि भएकाले पढाइसँगै अभिनयलाई पनि अघि बढाउने उनको योजना थियो । ‘साइन्सबाट प्लस टू गरेकाले इन्जिनियरिङ पढ्ने सोच बनाएँ,’ उनले भने, ‘तर, अभिनयमा लागेपछि इन्जिनियरिङ छाडेर अंग्रेजी साहित्य पढिरहेको छु ।’ हाल मदन भण्डारी कलेजमा उनी एमए पढिरहेका छन् ।
धरानमै हुँदा पनि अभिनय सिक्ने प्रयास गरेको उनले सुनाए । ‘तर, त्यहाँ भनेजस्तो माहोल थिएन,’ अमृतले भने, ‘त्यही कारण परिवारलाई थाहै नदिई काठमाडौँ हानिएँ ।’ काठमाडौँ आउँदासम्म उनले घरमा इन्जिनियरिङ नै पढ्छु भनेर ढाँटेका थिए । तर, अभिनयको भोक पालिरहेका थिए । राजधानीमा आएपछि उनलाई यही कुराले दोधारमा पा¥यो । ‘दुवै कुरालाई सँगै लैजाँदा एउटामा न्याय नहोलाजस्तो लाग्यो,’ उनले भने, ‘त्यसैले अभिनयलाई बढी महत्व दिएर अगाडि बढ्न थालेँ ।’
अभिनयको औपचारिक यात्रा अमृतले मण्डला थिएटरबाट सुरु गरे । मण्डला थिएटरका राजन खतिवडा र सुप्रसिद्ध रंगकर्मी सुनील पोखरेलसँग उनले अभिनयको क्लास लिन थाले । ‘सुनील सरले धेरै पछि मण्डला थिएटरमा एक्टिङ सिकाउन सुरु गर्नुभएको थियो,’ उनले भने, ‘उहाँसँग अभिनय सिकेँ । पछि नाटक गर्ने मौका पनि पाएँ ।’ अभिनय सिक्दै गर्दा उनले पोखरेलकै निर्देशनमा बनेको नाटक ‘जार’ मा अभिनय गरे । ‘आफ्नो रुचिको विषय भएकाले नाटक गर्दा थप ऊर्जा मिलेको थियो,’ उनले भने, ‘सन् २०१७ मा पहिलो पटक नाटक गरेँ । त्यसलगत्तै शंकर रिजालले निर्देशन गरेको नाटक ‘कोही किन बर्बाद होस्’मा सुनील सरसँगै अभिनय गर्ने मौका पाएँ ।’ यसपछि अमृतले ‘प्यालेस अफ इलुजन’ र ‘को १ छ, छ १ छ’ म्युजिकल ड्रामामा काम गरे ।
अमृतले थुप्रै नाटकमा काम गरिसक्दा पनि परिवारले सुइँको पाएको थिएन । ‘त्यति बेलासम्म घरमा मैले इन्जिनियरिङ पढिरहेको छु भन्ने सोच्नुभएको थियो,’ उनले भने, ‘मण्डलामा अभिनय गरिरहेको थाहा पाउँदा छक्क पर्नुभयो ।’ आफ्नो परिवार खुला सोच र सहयोग गर्ने खालको रहेको उनले बताए । ‘परिवारले मलाई बाल्यकालबाटै स्वतन्त्र छाडिदिएको थियो,’ उनले भने, ‘त्यस्तो कुनै दबाब थिएन । अभिनय सिकेको बताउँदा पनि नराम्रो ठान्नुभएन । झन् मलाई अगाडि बढ्न साथ दिनुभयो ।’
दुई वर्षसम्म मण्डलामा आबद्ध रहेपछि उनी युट्युबमा देखापरे । ‘नितिन चन्दले चलाएको युट्यब च्यानल ‘योर स्टाइल’बाट मलाई अभिनयको अफर आयो,’ उनले सम्झिए, ‘त्यहाँ आबद्ध भएपछि थुप्रै सर्ट मुभीमा काम गरेँ ।’ ‘स्मार्ट गाई’, ‘मिस्टर ह्यान्डसम’, ‘सन इन ल’, ‘रङ नम्बर’लगायत सर्ट मुभीमा अमृतको अभिनयले खारिने मौका पायो । यिनै लघु फिल्ममा गरेको अभिनय फिचर फिल्मसम्म जाने बाटो बन्यो । ‘सर्ट मुभीमा मलाई देखेपछि फिल्मकर्मीबाट अफर आउन थाले,’ उनले भने, ‘सुनील रावलले नयाँ फिल्मका लागि प्रस्ताव गर्नुभयो ।’ ‘सायद २’ अमृतको डेब्यू फिल्म हो । जसमा उनले निर्देशक पुष्पराज न्यौपाने, सुशील श्रेष्ठ, कुशल पाण्डे लगायतसँग काम गरेका थिए । ‘युट्युबमा काम गर्दा पाएको प्रशंसाले फिल्ममा पनि सजिलै होला भन्ने लागेको थियो,’ उनले भने, ‘तर, फिल्ममा काम गर्न मैले सोचेजस्तो सजिलो नहुने रहेछ । फिल्म रिलिज भएपछि हेर्दा आफ्नो अभिनय आफैँलाई मन परेन ।’
त्यसपछि उनलाई थुप्रै फिल्मका अफर आए । विप्लव उप्रेतीले निर्देशन गरेको ‘जय श्री दाम’ र केही समयअघि रिलिज फिल्म ‘१०० कडा १०’ मा पनि उनले अभिनय गरेका छन् । ‘जस्तोसुकै स्क्रिप्टमा काम गर्न मन लाग्दैन,’ उनले भने, ‘राम्रो स्क्रिप्ट आएपछि मात्रै काम गर्छु भन्ने सोच छ ।’ आफूले गरेको कामले समाजमा केही न केही प्रभाव पारोस् भन्ने उनलाई लाग्छ । ‘मेरो अभिनयले अरूलाई केही सन्देश दिनुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘त्यसैले सन्देशमूलक फिल्म र भूमिकामा काम गर्न चाहन्छु ।’